+
+
Shares

रसुवा बाढीले खोस्यो नौखोर गाउँको खुसी

जुनामाया पण्डितका छोरा–बुहारी बाढीमा बेपत्ता भए । यो खबरले उनी घरिघरि मुर्छा पर्छिन् । डाँको छोडेर रुन्छिन् । उनको चित्कारलाई न आफन्तका सहानुभूतिले थमथम्याउन सकेको छ, न छिमेकीका सान्त्वनाले ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ भदौ १५ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोसाइँकुण्ड तीर्थयात्रामा गएका पालुङटार–५ नौखोरका ३२ जना रसुवाको भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन बनेपछि गाउँ शोकमा डुबेको छ।
  • बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि स्थानीय चितवन र पोखरा धाइरहेका छन्, तर हालसम्म न लास भेटिएको छ न सास।
  • गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालुङटार पुगेर पीडित परिवारसँग भेट गरेका छन् र खोजी तथा उद्धारमा थप समन्वय गर्ने बताएका छन्।

१५ भदौ, गोरखा । गाउँभरि सन्नाटा छ । एक अर्कालाई सहानुभूति दिने प्रयास गर्छन्, शब्द पाउँदैनन् । अनायसै आँखा रसाउँछन्, अनि भक्कानिन्छन् ।

गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका एकै गाउँका ३२ जना रसुवा बाढीमा परी सम्पर्कविहीन बनेपछि पोरखा पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोर गाउँ शोकमा डुबेको छ । गत बुधबारको भोटेकोशी बाढीले गाउँको खुसी लुट्यो । कसैले अभिभावक गुमाए, कसैले बुढेसकालको सहारा ।

जुनामाया पण्डितका छोरा–बुहारी त्यही बाढीमा बेपत्ता भए । यो खबर सुनेपछि जुनामाया घरिघरि मुर्छा पर्छिन् । डाँको छोडेर रुन्छिन् । उनको चित्कारलाई न आफन्तका सहानुभूतिले थमथम्याउन सकेको छ, न छिमेकीका सान्त्वनाले ।

छोरा केदार र बुहारी सरिता जुनामायाका बुढेसकालका सहारामात्र थिएनन्, तीन वर्षीया नातिनी र ११ वर्षीय नातिको भविष्यसमेत थिए ।

रसुवा बाढीले पण्डित दम्पतीको वर्तमान त खोस्यो नै, अवोध बालबालिकाको भविष्यसमेत अन्योलमा पारिदियो । कलिला ती छोराछोरीको हेरचाह र लालनपोषण अब कस्ले गर्ला ? बुढी भइसकेकी जुनामायाको स्याहारसुसार के होला ? यस्तै प्रश्नहरू तेर्सिन्छन्, तर जवाफ भेटिँदैन ।

गाउँका अधिकांश घरमा यस्तै पीडा छ । कसैका बुवाआमा बेपत्ता छन्, कसैका श्रीमती । आफन्त र छिमेकी गुमाउँदाको पीडाले गाउँ शोकाकुल बनेको छ ।

बाढी गएको छेटौं दिनसम्म पनि स्थानीयले बेपत्ता आफन्तको न लास भेटेका छन् न सास । भेटिएका शव पहिचानका निम्ति बेपत्ताका आफन्त चितवन र पोखरा धाइरहेका छन् ।

स्थानीय रामशरण देवकोटाको दैनिकी चितवन र पोखरा धाउँदैमा बितिरहेको छ । बाढीमा बेपत्ता आफ्नी आमा र दुई सानिमाको सास वा लास केही भेटिन्छ कि भन्ने आशमा उनी दौडधुप गरिरहेका छन् ।

‘शव भेटिएर यहाँ राखिएको छ भन्छन्, आमा वा सानिमा कसैको हो कि भनेर गयो,’ भावुक हुँदै उनले भने, ‘अनुहार मिल्छ कि भनेर फोटो हेर्‍यो तर अनुहार नै चिन्न सक्ने अवस्थामा छैन ।’

अब अनुहार हेरेर मान्छे पहिचान गर्न मुस्किल हुने उनले बताए । भने, ‘लास हेरेर मान्छे पहिचान गर्न सकिँदैन । बरु गाडी खोजेर त्यहाँभित्र केही लत्ताकपडा मात्र फेला पार्न पाए पनि चित्त बुझाउनु हुन्थ्यो ।’

खुलेन दिलबहादुर दम्पतीको घरको ताला

स्थानीय दिलबहादुर खत्रीको घर यतिबेला सुनसान छ । विगत ६ दिनदेखि घरको ताला खुलेको छैन ।

रसुवा बाढीमा परेर दिलबहादुर दम्पती सम्पर्कविहीन भएपछि न आँगनमा सुकाइराखेको मकै उठाइदिने मान्छे छन् न बार्दलीमा बलेको बत्ति निभाइदिने कोही छ ।

‘दुई छोरी विदेशमा छन्,’ स्थानीय दाताराम देवकोटाले भने, ‘घरमा बुढाबुढी मात्र थिए, दुवै बाढीमा परेपछि अहिले ढोका खोलिदिने मान्छे पनि छैन ।’ उक्त घटनाले दिलबहादुरको घरमात्र होइन, सिँगो गाउँ नै सुनसान बनेको छ ।

पालुङटारमा मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् । शोकमा डुबेको गाउँमा सहानुभूति प्रकट गर्न उनी पालुङटार पुगेका थिए ।

बाढीमा परी सम्पर्कविहीनका आफन्तलाई भेटेर पाण्डेले उनीहरूको समस्याबारे जानकारी लिए । उद्धार र खोजी कार्यलाई तिव्रता दिन उनीसँग स्थानीयले आग्रह गरे । मुख्यमन्त्री पाण्डेले उद्धारको काम भइरहेको र खोजीका लागि प्रदेश सरकारले थप आवश्यक समन्वय र पहल गर्ने बताए ।

पालुङटारबाट तीर्थयात्री बोकेर गोसाइँकुण्ड जाँदै गरेको ग२ख ११५२ नम्बरको बस बुधबार भोटेकोशी बाढीमा परी बेपत्ता भएको थियो ।

उक्त बसमा सवार एकै गाउँका ३८ जनामध्ये ६ जनाले हाम फालेर ज्यान जोगाए भने बाँकी अझै बेपत्ता छन् । जसमध्ये दुई जनाको शव फेला परेको छ । बाँकीको अत्तोपत्तो छैन ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?