News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० गते रसुवाको टिमुरे भन्सार क्षेत्रमा आएको बाढीपछि सिन्धुपाल्चोक बलेफी–८ का निकेश श्रेष्ठ सम्पर्कविहीन भएका छन्।
- निकेश श्रेष्ठको तस्वीर काठमाडौं, भरतपुर, नुवाकोटलगायतका अस्पताल र ट्रमा सेन्टरमा टाँसिएको छ।
- परिवार, आफन्त र साथीभाइले निकेशको खोजी जारी राखेका छन्, र उनका बुबासँग भदौ ९ गते अन्तिम पटक फोन भएको उल्लेख छ।
भदौ १० गते भोटेकोसी नदीमा चीनतर्फबाट आएको बाढीले नेपालमा अकल्पनीय विपद् निम्त्यायो। एक हजारभन्दा बढीको ज्यान गइसक्यो। अझै कति बेपत्ता छन्, कतिको शव धमाधम भेटिँदै छ। कति घाइते छन् त कतिको उद्धार प्रयास जारी छ।
हजारौं घर बाढीले बगायो। हजारौं परिवार बाढीमा विलीन भए। हजारौंको सपना टुट्यो, हजारौंको साथ छुट्यो। कैयौं आमाका काख रित्तिए। हिजो हराभरा देखिएका बारीका पाटा आज बगर बने। हिजो उभिएका ती सपनाका हजारौं घरहरू आज ढले, ती घरका आँगनीमा आज लास खोजिँदै छ। पीडा त कति हो कति, भनिसाध्य छैन। यही भिडमा प्रिय निकेश, तिम्रो खोजी जारी छ।
नाम : निकेश श्रेष्ठ घर : सिन्धुपाल्चोक, बलेफी–८ उमेर : अन्दाजी ३९ वर्ष हुलिया : हल्का घुम्रिएको (कर्ली) कपाल। जतिबेलै हँसिलो अनुहार। होचो, कसिलो कद।
यो प्रिय साथी निकेशको बनावट हो। तर ऊ भदौ १० गतेको बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्रबाट कहीँकतै, कसैसँग सम्पर्कमा छैन। अर्थात् खोजी जारी छ।
उसका तस्वीर काठमाडौं, भरतपुर, नुवाकोटलगायतका अस्पतालमा टाँसिएको छ। मैले त्यही तिम्रो तस्वीर ट्रमा सेन्टरको भित्तामा देखेँ। निकेश याद छ ? तिमी र म हिँड्थ्यौं नि ट्रमा सेन्टर र वीर अस्पतालको त्यो बीचको गल्ली ! फुत्त आएर त्यो फोटो निकालिदेऊ न ! फेरि एकपटक त्यही बाटो हिँडेर।
तिमीसँग मेरो चिनजान २०६८ सालतिरको हो। न्युरोडको पिपलबोटनजिक आरबी कम्प्लेक्स जाने बाटोटोलको देब्रेतर्फ छैटौं/सातौं घरको चार तलामाथि तिमी र निरोज श्रेष्ठ मिलेर ‘क्यारिङ’ को काम गरेका थियौ। त्यही क्यारिङमा कामको सिलसिलामा तिम्रो र मेरो भेट भयो। भन्सार क्लियरिङको काम गरेर काठमाडौंका होलसेल बजारमा तिमीले ल्याएका सामानहरू आउँथे।
तिमीले भन्सार गरेर ल्याएका कैयौं कन्टेनरको ताला मैले खोलेर रुजु गरेको छु। तिमीले ‘महेशजी भोलि कन्टेनर आउँदै छ, बिहानै ठूलोभर्याङ जानुपर्छ है’ भनेको अझै ताजा छ।
प्रिय निकेश, बीचमा तिमी र निरोजको काम अलग–अलग भयो। मैले तिम्रो कार्यालयको जिम्मेवारी लिएँ र सहकर्मी भएँ। पिपलबोटवारि रहेको तिम्रो कार्यालय पारि रञ्जना गल्लीतर्फ सर्यो। भव्य पूजा गरेर कार्यालयको विधिवत् सुरुआत भयो। म पनि त्यतै सरेँ।
तिमी बस्ने कुर्सीमा तिमीले ‘महेशजी, यसमा तपाईं बस्ने’ भनेको मलाई अझै सम्झना छ। तिमी कार्यालय कम बस्थ्यौ, बढी तातोपानी। मैले काठमाडौंमा कार्यालय सम्हालेर बसेको थिएँ। भन्सार भएका कन्टेनर छुटेर आइपुग्दा अघि नै तिमी आइपुग्थ्यौ, अनि सँगै ताला खोलेर रुजु गर्दै ‘बिल्टी’ मिलाउँथ्यौं…।
निकेश, याद छ सङ्कटा मन्दिरको त्यो फराकिलो आँगनमा चिया खाएको ? याद छ निकेश, मलाई स्कुटर चलाउन नआउँदा तिमीले खै कुन साथीको स्कुटर महाराजगञ्ज टिचिङ अस्पताल (त्रिवि शिक्षण अस्पताल) नजिक पुगेर ‘तपाईं लिएर जानू, म भोलि आउँछु’ भनेर जिम्मा लगाएर पठाएको ? याद छ तिमीलाई ?

याद छ, तिमी बलेफीबाट आउँदाका कथा मलाई सङ्कटाको काखमा बसेर सुनाएको ? याद छ तिमीलाई आरबी कम्प्लेक्सपछाडि मैले पटक–पटक छाडेको ?
२०७२ सालमा भूकम्प आयो। देश विपद्मा फस्यो। तातोपानी नाका बन्द भयो। देशको आर्थिक कारोबार उत्तरी नाकासँग लगभग ठप्प भयो। तिमी केरुङ लाग्यौ। त्यही बेलादेखि तिम्रो केरुङसँगको कथा जोडियो। भूकम्पपछि तातोपानी नाकासँग टुटेको तिम्रो सम्बन्ध अहिले फेरि रसुवाको टिमुरेले तोडेको सुन्दै छु। तर तिम्रो मुखबाट होइन, तिम्रो तस्वीरबाट।
तिमी बेपत्ता छौ रे ! तर मलाई सबै एक–एक याद छ निकेश ! आऊ न तिमी। फेरि यी सबै कथा एकपटक सङ्कटामा बसेर सम्झौं।
अँ निकेश, तिमीले अझै क्यारिङको काम छाडेका रहेनछौ। तिम्रो र मेरो भेट नभएको नेपालमा कोरोना भित्रिएपछि हो। तिमी पनि कोरोनापछि कताकता अलमलियौ, म पनि ! लगभग २०७३ तिर मैले क्यारिङमा तिमीसँग काम गर्न छाडेँ। कोरोना भित्रिएपछि त चिया–भेट पनि हुन सकेन। पछि तिमीले विवाह गरेछौ। फेसबुकमा नै देखेँ। तिमीलाई सन्तानलाभ भएको पनि त्यहीँबाट थाहा पाएँ। खुसी लाग्यो।
तिमी फेरि क्यारिङतिरै सक्रिय रहेछौ। बीचमा यो पनि फेसबुकबाट नै थाहा पाएको थिएँ। एक–दुईपटक त्यसपछि फोनमा कुराकानी पनि भए। घर–परिवारबारे सामान्य कुराकानी हुन्थ्यो। बस् !
तर निकेश, भदौ १० गतेको बाढीमा तिमी पनि टिमुरेबाट सम्पर्कमा नरहेको सुन्दा मन मडारियो। तिमीले कैयौं कन्टेनर त्यही केरुङ हुँदै काठमाडौं ल्यायौ। तिमी त्यही कर्ममा लागिनै रह्यौ। म तिमी तातोपानी जाँदादेखि नै पत्रकारितामा पनि सँगै लागेँ। मैले दुईतिर खुट्टा राखेँ, तिमी केरुङतिरै लाग्यौ। कहिलेकाहीँ बाढीपहिरोले सडक बन्द हुँदा मलाई समाचार लेख्न भन्यौ, लेखेँ। बाटो बन्दै छ भन्ने सुनायौ, त्यो पनि सोधखोज गर्दै लेखेँ।
आज तिम्रो बारे लेख्दै छु। निकेश, परिवार, आफन्त, साथीभाइ तिम्रो पर्खाइमा छन्। तिमी साँच्चै बेपत्ता छौ ?

बुबासँग तिमीले चिनजान गराएका थियौ । तिम्रो फोटोदेखेपछि बुबासँग फोन संवाद गरें। तिमिबारे विगतका स्मरण भए । तिमी भदौ ९ गते टिमुरे गएको रे ! त्यही राति बुबासँग फोन गरेछौ । जनैपूर्णिमामा त आउँदिन औंसीमा आउँछु भनेको हो तिमीले बुबालाई? बुबालाई ढाँटेको कि औंसीमा (बुबाको मुख हेर्ने दिन भदौ २६ गते) आउने वचन गरेको दिन पर्खँदै छौं निकेश ? बुबालाई दिएको वचन प्लिज पूरा गर ल?
निकेश ! तिमीले मलाई नभनेको एउटा कुरा तिमीलाई याद छ ? तिमीले पत्रकारसँगै विवाह गरेछौ। अहिले यो घटनापछि बल्ल थाहा पाएँ। तिम्रो जीवनसाथीसँग मेरो पटक–पटक भेट भएको छ। तर तिम्रो श्रीमती भनेर चिनेको थिइनँ। अनि नि निकेश ! अहिले पनि तिम्रो जीवनसाथीलाई तिमी र म साथी थियौं भन्ने थाहा छैन होला। सायद तिमीले नभनेको भए !
अँ साच्ची, मैले सुरुमै अस्पतालमा तिम्रो फोटो टाँसेको कुरा गरेर यो स्मरण सुरु गरेको थिएँ। ट्रमा सेन्टरको फार्मेसीसँगै तिम्रो तस्वीर टाँसिएको छ। रसुवामा बाढी आएदेखि तिमी कसैसँग सम्पर्कमा छैनौ रे ! तर मलाई लाग्दै छ, तिमी आफैं आएर त्यो फोटो निकाल्ने हिम्मत गर्नेछौ।
तिमी आफैं आएर फेरि हाँस्दै ‘महेशजी !’ भन्नेछौ ! पहिलेझैं हँसिलो अनुहार गरेर उसैगरी। अनि तिमीले मलाई तिम्रो जीवनसङ्गिनीसँग चिनाउनेछौ— ‘महेशजी, मेरो क्यारिङसँग जोडिएको साथी’ भनेर ! यो बेलासम्म तिम्रो बुवा, आमा, तिम्रो छोरा, तिम्रो परिवार सबैको खुसी फर्किनेछ निकेश।
प्लिज छिट्टै आऊ ल ! ‘आमा म आएँ… म फर्केर आएँ’ भन्दै यो गीत गुनगुनाउँदै आऊ ल !
प्रिय निकेश… धेरै सम्झना !
प्रतिक्रिया 4