+
+
Shares
सिनेमा :

टक्सिक : कमजोर कथामाथि चम्किलो आवरण 

प्रेमको कुरा ल्याइएको छ । तर, त्यसमा गहिराइ छैन । रोमाञ्चकता छैन । प्रेम भन्नु यौन हो जसरी देखाइएको छ । त्यसमाथि एडिटिङमा उति ध्यान नदिइएको महसुस हुन्छ ।

सापेक्ष सापेक्ष
२०८३ भदौ १९ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलमा चलिरहेको ‘टक्सिक: अ फेयरी टेल फर ग्रोउन अप्स’ भड्किलो दृश्य र कमजोर कथानकका कारण अधुरो प्रयास बनेको छ।
  • कन्नड सुपरस्टार यश र निर्देशक गीतू मोहनदासको सहकार्यमा बनेको फिल्ममा कलात्मक दृष्टि र व्यावसायिक दबाबबीच सन्तुलन मिलेको छैन।

कुनै कुनै फिल्ममा बलियो कथा नहुँदा त्यो लुकाउन निर्देशकले अत्याधिक भड्किलो दृश्यहरूको प्रयोग गर्ने गर्छन् । र यसबाटै फिल्मलाई बलियो देखाउन लागि पर्छन् । अहिले हलमा चलिरहेको टक्सिक: अ फेयरी टेल फर ग्रोउन अप्स त्यस्तै भड्किलो दृश्य र बलियो कथाको अभाव हुँदा तयार भएको विरोधाभासपूर्ण दस्तावेज बनेको छ ।

कन्नड सुपरस्टार यश र मलयालम सिनेमाकी प्रयोगात्मक निर्देशक गीतू मोहनदासको सहकार्यबाट बनेको यो फिल्म कलात्मक इमानदारिता र व्यावसायिक बाध्यताको फसादमा परेको छ । सिधा भन्दा, फिल्ममा निर्देशकीय दृष्टिकोण र सुपरस्टारको स्टारडमबीचको द्वन्द्व सतहमा पोखिएको छ ।

फिल्मले १९४० देखि १९७० सम्म चलेको पोर्चुगिज शासनकालको गोवा देखाएको छ । बाहिरबाट हेर्दा सुन्दर देखिने यो तटीय क्षेत्रभित्र अफिमको कालो व्यापार, ड्रग्सको तस्करी र गुन्डागर्दीको अवैध साम्राज्य फैलिएको हुन्छ ।

कथाको मुख्य पात्र राया (यश) हुन् । उनी त्यस साम्राज्यका मुख्य डन साल्भाडोरको निकै भरपर्दो मान्छे हुन् । तर उनको उद्देश्य त्यो साम्राज्य आफ्नो बनाउने हुन्छ । त्यो बीचमा के उनले त्यो उद्देश्य पूरा गर्न सक्छन् ? उनको जीवनमा अरू के-कस्ता पात्रहरू ठोक्किन आइपुग्छन् ? तिनीहरूको प्रभाव उनमा कस्तो रहन्छ ? यो नै फिल्मको मुख्य बाँकी कथा हो । एउटा ग्याङ्स्टरको कथा हो । 

तर, निर्देशक गीतूले यो फिल्मलाई डनहरूको कथा मात्र बनाउन चाहेकी छैनन् । उनले यो फिल्मबाट मान्छेले आफ्ना प्यारा मान्छेहरू गुमाउँदा मनभित्र कस्तो पीडा लुकाएर बाँच्छन् भन्ने कुरा देखाउन खोजेकी छिन् । सानोमा एक्लै छोडिनुको दुः ख, अभिभावक र सन्तानबीचको सम्बन्ध, अवैध धन्दा, प्रेम, मानसिक आघात, विषाक्त पुरुषत्व जस्ता कुराहरू पनि उनले फिल्ममार्फत उठाउन खोजेकी छिन् ।

तर, यी गम्भीर कुराहरू दर्शकलाई बुझाउन उनी सफल हुन सकेकी छैनन् । 

त्यसको प्रमुख कारण उनको निर्देशकीय दृष्टिकोण र यशको स्टारडमबीचको सन्तुलनको अभाव हो । किनकि यशको आफ्नै स्टारडम छ ।  निर्देशक गीतूको आफ्नै कलात्मक सोच । फिल्ममा यी दुईको फरक-फरक विचार आपसमा बाझिएको जस्तो देखिन्छ । फिल्ममा भन्न खोजिएका मुख्य कुराहरू धेरै ढिलो गरी मात्र आउँछन् । 

कतिपय दृश्यहरू यति धेरै टुक्राटुक्रा पारिएका छन् कि यो कुनै फिल्म नभई रिल्सहरू जोडेर बनाएको लामो भिडियो जस्तो लाग्छ । कतिपय ठाउँमा पात्रहरू एक ठाउँमा चुपचाप उभिएर आफ्नो पालो पर्खँदै बोलेको जस्तो देखिन्छ । यी  कुरामा चुक्दा निर्देशक गीतूले सोचेको कुरा पर्दामा राम्रोसँग उतार्न सकेकी छैनन् ।

यद्यपि यो फिल्मको सबैभन्दा राम्रो पक्ष आफ्नो विधालाई केही हदसम्म न्याय गर्नु हो । 

यो फिल्म ग्याङ्स्टर एक्सन ड्रामा हो । यदि तपाईंलाई कथा छाडेर राम्रो सेट, हिरोको स्टाइल र मारकाट हेर्न मन पर्छ भने यो फिल्मले तपाईंलाई दु:खी बनाउँदैन । सर्कस कार्निभल फाइट, बार फाइट केही उदाहरण हुन् । भनौं न मारकाटको अभाव यो फिल्ममा बिल्कुलै छैन । बरु सुभेच्छा रहन्छ – अब आउने सिनमा फाइट चाहिँ नहोस् ।

अर्को राम्रो भनेको यसको सिनेम्याट्रोग्राफी हो । गोवा, मकाउ जस्ता ठाउँहरूलाई निकै सुन्दर दङ्गले देखिएको छ । लामो एरियल जुम सट, पानोरामिक, फरक एङ्गलबाट लिइइने केही क्लोजअप सट यसका उदारहणहरू हुन् । फिल्ममा केही उत्कृष्ट मोन्टाज सटहरू छन् । जसले कथा/विधाको एउटा टेम्पोलाई महसुस गराउने कोसिस गरेको छ । जुन प्रशंसनिय छ । 

तर, एउटा ग्याङ्स्टर फिल्म चल्नका लागि जति बलियो कथा र मन छुने भावना चाहिन्छ, त्यो यसमा छैन । प्रेमको कुरा ल्याइएको छ । तर, त्यसमा गहिराइ छैन । रोमाञ्चकता छैन । प्रेम भन्नु यौन हो जसरी देखाइएको छ । त्यसमाथि एडिटिङमा उति ध्यान नदिइएको महसुस हुन्छ । यसले गर्दा दर्शकलाई दृश्यहरूमा बसिरहन दिँदैन । संगीत पनि उस्तै चर्को सुनिएको छ । 

यो फिल्मको सबैभन्दा कमजोर पक्ष कथानक र पटकथा हो । 

मुल कथाको सार राम्रो भए पनि निर्देशकले त्यसलाई राम्ररी पक्डिन सकेको देखिँदैन । बरु सामान्य कथालाई पनि ३ घण्टा १४ मिनेटसम्म जबर्जस्ती तन्काइएको महसुस हुन्छ । यसले गर्दा कथामा नहुँदा खासै फरक नपर्ने पात्रहरू ज्यादै आउन पुगेका छन् ।

फिल्मको पहिलो आधा भागमा धेरैजसो मारकाट, झगडा र हिरोको स्टाइल मात्र देखाइएको छ, जसले गर्दा खास कथा के हो भन्ने बुझ्न गाह्रो हुन्छ । दोस्रो भागमा एउटा ठूलो ट्विस्ट त आउँछ, तर पात्रहरूको बारेमा धेरै कुरा नखुलाइएको हुनाले दर्शकले त्यसमा खासै दुःखसुख महसुस गर्न पाउँदैनन् । उदाहरणका लागि, रायासँगै सुरुदेखि देखिएका पात्र हुन्, कार्माडी । तर, किन उनी रायासँगै सधैं छन् ? त्यो नखुलाउँदा कार्माडीसँग कुनै कनेक्सन महसुस हुँदैन । अझ फिल्मको क्लाइमेक्स पूरै कलात्मक शैलीमा टुङ्ग्याइएको छ, जसले धेरै दर्शकलाई अलमलमा पार्छ ।

यी बाहेक फिल्मको मुख्य आकर्षण नै यश बन्न पुगेका छन् । 

उनको अभिनय तारिफयोग्य छ । कारण, फिल्ममा उनले राया र टिकेटको दोहोरो भूमिका निभाएका छन् । टिकेट उनको आफ्नै छोरो हुन्छ । रायाको भूमिकामा यश केजीएफको भन्दा शान्त र अझ खतरनाक देखिन्छन् । अर्कोतर्फ टिकेटको रूपमा उनको शरीरको अस्वभाविक चाल र छिटोछिटो दगुर्ने शैली हेर्नलायकको छ । अन्य कलाकारहरू कियारा आडवाणी (नादिया), नयनतारा (गङ्गा/मीरा), बबी देओलले आदिको अभिनय हेर्नलायक छ ।

समग्रमा भन्दा टक्सिक सजावट र स्टाइलले भरिएको फिल्म हो । तर, कथानक र पटककथा कमजोर बन्दा,  निर्देशिकाको सोच र हिरोको स्टारडम मिल्न नसक्दा यो एउटा अधुरो प्रयास मात्र बन्न पुगेको छ । 

फोटो: ट्रेलर/टिजर टक्सिक

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?