News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूली पुरानो बजारकी ७३ वर्षीया चरी नेपालीले बाढीबाट ६९ वर्षीय श्रीमान् भक्तबहादुर नेपाली, दुई बालक र आफूलाई जोगाएर अस्पताल पुर्याइन्।
- बाढीले भक्तबहादुरको शरीरमा चोट पुर्याएको छ र उनको उपचार वीर अस्पतालको ६०९ नम्बर बेडमा भइरहेको छ।
- बाढीले घर, पसल, पैसा, गहना र घडेरी बगाएपछि चरी दम्पतीले बस्ने आधार गुमाएको भन्दै सरकारसँग बस्ने ठाउँ मागेका छन्।
१८ भदौ, काठमाडौं । वीर अस्पतालको ६०१ नम्बर बेडमा उपचाररत छन्, त्रिशूली पुरानो बजारका ६९ वर्षीय भक्तबहादुर नेपाली ।
सुगर, प्रेसर र मिर्गौला जस्ता दीर्घरोगले पहिले नै कमजोर भक्तबहादुरको शरीरमा बाढीले थप चोट दियो । भाग्दाभाग्दै बाढीको छालले शरीरभरि घाउ लाग्यो । बायाँ हात नचल्ने भयो ।
बेडको छेउमा ७३ वर्षीया श्रीमती चरी नेपाली छिन् । कहिले श्रीमान्को अनुहार हेर्छिन्, कहिले दुखेको हात सुम्सुम्याउँछिन् । अनि, आँसु पुछ्दै श्रीमान्लाई सम्झाउँछिन्, ‘नरुनुस्, बाँच्नु नै ठूलो कुरा भयो ।’
चरीको मन पनि कहाँ थामिएको छ र ! श्रीमान्को उपचारको चिन्ता एकातिर छ, अर्कोतिर बारम्बार घरको झल्को आउँछ, जुन घर उनीहरूले वर्षौं दु:ख गरेर जोडेका थिए ।
भक्तबहादुर दम्पतीको जीवन जोडिएको त्यो घर अब छैन । कपडा सिलाएर घर चलाउने पसल छैन । खाईनखाई जोगाएर राखेको पैसा छैन । गहनाका नाममा रहेको एउटा तिलहरीसमेत रहेन ।
‘मेरो न खाने गाँस छ, न बस्ने ठाउँ,’ चरी भक्कानिन्छिन्, ‘भगवानले त बचाउनुभयो । अब हामी कहाँ जाने ?’
०००
१० भदौ बिहान चरी सधैंझैँ बिहानै उठिन् । श्रीमान्लाई चिया खुवाइन्, आफूले खाइन् । र, सिलाइ पसल खोल्न निस्किइन् । त्यतिबेलासम्म बाढी आउने कुनै संकेत थिएन ।
पसल खोलेको केहीबेर मात्रै भएको थियो, बजारका मान्छेहरू अचानक माथितिर फर्केर हेर्न थाले । बाढीको हल्ला चल्यो । उनलाई लाग्यो, ‘पानी धेरै भएर नहर फुटेछ कि क्या हो ।’
त्यसपछि अचानक ठूलो आवाज आयो । २०७२ सालको भूकम्पमा सुनिएको आवाज जस्तै । चरीले माथितिर हेरिन् । धुवाँ उडे जस्तो गरी बाढी मडारिँदै आइरहेको थियो ।
हेर्दाहेदै भुमरी परेर भेल घर नजिकै आएको देखिन् । चिच्याउँदै श्रीमान्लाई भनिन्, ‘बाढी आयो । भागौँ । अब बाँचिन्न ।’
दीर्घरोगी भक्तबहादुर कसरी भागुन् । खुट्टामा बल थिएन । नियमित औषधि खाइरहेका उनलाई हिँड्नसमेत गाह्रो थियो ।

चरीसँग सोच्ने समय थिएन । एकातिर श्रीमान् बचाउनु थियो, अर्कोतर्पm छिमेकका दुई बच्चा पनि उनैलाई समाउन आइपुगे ।
पछाडिबाट घरतिर पस्दै गरेको भेल देखेपछि उनले श्रीमान्को हात समाएर घिसारिन् । आफू भाग्दै, बिरामी श्रीमान्लाई तान्दै र दुई बच्चालाई बोलाउँदै चरी उकालो लागिन् ।
त्यो बेला उनको मनमा एउटै ध्यान थियो, ‘आफू बाँच्नु छ, श्रीमान् र बच्चालाई बचाउनु छ ।’ उनले भगवानसँग पनि यही पुकारा गरिन् ।
चरीलाई अहिले पनि विश्वास लाग्दैन, त्यो सबै केही मिनेटमै भयो । पसलबाट घर फर्किएर भित्र पस्न पाएकी थिइनन् । न कपडा निकाल्न पाइन् न पैसा । न वृद्धभत्ताको कागजपत्र न पसलका सामान ।
बाढीसँगको त्यो साहसिक लडाइँ
घरको करेसाबाट माथितिर जाने एउटा गोरेटो बाटो थियो । चरिले त्यही बाटो पहिल्याइन् । हिँड्न नसक्ने अवस्थाका श्रीमान्लाई अघि बढिन् ।
बाढीले पछाडिबाट पछ्याइरहेको थियो । उकालो लाग्दै गर्दा एकपटक ठूलो छाल आयो । पानीसँगै घरका सामानहरू बगेर आए । ठूला भाँडाहरू, मुडा र अन्य सामानहरू पानीमा घुमिरहेका थिए ।
छालले ती सामानलाई उनीहरू उभिएको ढोकामै ल्याएर अड्याइदियो । केही क्षणका लागि बाटो छेकियो । ‘त्यसपछि छालले हामीलाई बगाउन पाएन । त्यो क्षण सम्झँदा लाग्छ, हामीलाई भगवानले बचाए ।’
खतरा अझै टेरेको थिएन । अर्को छाल झन् ठूलो थियो । चरी श्रीमान्लाई तान्दै उकालो लागिन् । त्यो अकल्पनीय विपत्तिमा श्रीमान्लाई छाडिनन् ।

बाढीको त्यो भयावह क्षण सम्झँदा चरीको गला अवरुद्ध हुन्छ । उनले आफूलाई बचाउनेबारे सोचिनन् । ‘श्रीमान्लाई बचाउनुपर्छ’ भन्ने एउटै ध्याउन्न थियो । उनी भन्छिन्, ‘मर्छु भन्ने डर चाहिँ लागेन ।’
उनले भक्तबहादुरलाई तान्दै माथितिर लगिरहिन् । माथि पुगेपछि छिमेकीको घर देखियो । त्यहाँ पुगेर उनले सहयोग मागिन् ।
त्यहाँका मानिसहरूले उनीहरूलाई अझ सुरक्षित ठाउँतिर लगे ।
त्यतिबेला चरीले पहिलोपटक लामो सास फेरिन् ।
७३ वर्षीया वृद्धा चरीको हिम्मत र साहसलाई शब्दमा बयान गर्न सकिँदैन । त्यो भयावह बाढीबाट आफू बाँचिन्, श्रीमान्लाई बचाइन्, र कलिला बच्चालाई पनि नयाँ जीवन दिइन् ।
‘मेरो हात गयो’
बाढीबाट जोगिनु नै त्यतिबेला उनीहरूका लागि ठूलो कुरा थियो ।
शरीरमा के भयो, कहाँ चोट लाग्यो, कति दुख्यो, सोच्ने फुर्सद थिएन । चरी श्रीमान्लाई घिसार्दै उकालो लागिरहेकी थिइन् । हात दुखिरहेको थियो, शरीर गलिसकेको थियो । ज्यान बचाउने हतारमा शरीरका चोटहरूलाई उनीहरूले केहीबेर बिर्सिए ।
बाढीको भेलबाट बचेपछि शरीरको पीडा देखिन थाल्यो । अंग–अंग दुख्न थाले । हातमा असह्य पीडा बढ्दै गयो । केहीबेर अघिसम्म ज्यान जोगाउने हतारमा दबिएको दुखाइ चर्को भएर महसुस हुन थाल्यो ।
पीडा सहन नसकेर भक्तबहादुरले चरीलाई चिच्याउँदै भने, ‘मेरो हात गयो, अब म के गर्ने ?’

चरीले श्रीमान्को हात हेरिन् । हातमा गम्भीर चोट लागेको थियो । हड्डी छुटे जस्तो देखिन्थ्यो । सुन्निँदै गएको थियो ।
त्यतिबेला मात्रै चरीलाई महसुस भयो, बाढीले घर मात्रै बगाएको छैन, श्रीमान्को शरीरमा पनि गहिरो चोट छाडेर गएको छ ।
तर, उनलाई रोएर बस्ने छुट थिएन । श्रीमान्लाई अस्पताल पुर्याउनै थियो । थाकिसकेकी चरीले फेरि श्रीमान्को हात समातिन् । र, अघि बढिन् ।
केहीबेरपछि बाघटारको अस्पताल पुगेर प्राथमिक उपचार गराइन् । रक्तचापको औषधि चलाइयो । तर तीन दिनसम्म बस्दा पनि श्रीमान्को अवस्था सुध्रिएन । हातको समस्या झन् बढ्दै गयो, शरीरमा अरू समस्या पनि थिए ।
चरीले निर्णय गरिन्, ‘अब काठमाडौं जान्छु ।’
हेलिकप्टरमा काठमाडौं
चरिले काठमाडौं जाने निर्णय त गरिन् । तर बिरामीलाई लिएर कसरी जाने ? कहाँ जाने ? हातमा एक रुपैयाँ छैन, कसले सहयोग गर्ला ? सम्पर्क गर्न उनलाई छोराको नम्बरसमेत थाहा थिएन ।
उनका एक छोरा परिवारसहित काठमाडौैंमा थिए । सिलाइको काम गर्थे । चरी यो संकटको बेला मनलाई दह्रो बनाएर सोध्दै खोज्दै गइन् । नाम लेखाइन्, उद्धारको व्यवस्था मिल्यो । सुरक्षाकर्मीले सहयोग गरे ।
बिरामी श्रीमान् लिएर काठमाडौं जाने तयारी गर्दै थिइन्, फेरि अर्को हल्ला फैलियो– बाँध फुट्दै छ रे । बाढी आउँदै छ रे । त्यहाँ रहेका सबै आत्तिए ।
अस्पतालका डाक्टरदेखि बिरामीसम्म बाहिर निस्कन थाले । चरी पनि बाहिर आइन् । त्यो दृश्यले उनको पुरानो डर फेरि ब्युँतायो ।
‘म त बाढीबाट बाँचेर आएको मान्छे । मुटु नै हल्लियो,’ उनी सम्झिन्छिन् । त्यो रात पनि उनी श्रीमान्लाई लिएर सुरक्षित ठाउँ खोज्दै हिँडिन् ।

एक रात चरी दम्पती अर्काको घरमा बसे । त्यहीँ उनले उद्धार गरेर काठमाडौं लैजाने खबर पाइन् । र, भोलिपल्ट बिहान काठमाडौं जाने तयारी गरिन् ।
अन्तत: उद्धारको व्यवस्था भयो । उनीहरू हेलिकप्टरमा काठमाडौं आए ।
काठमाडौं आइपुगेपछि सुरक्षाकर्मीले अस्पतालसम्म पुर्याउन सहयोग गरे ।
अहिले भक्तबहादुरको उपचार वीर अस्पतालको ६०९ बेडमा भइरहेको छ ।
चरी श्रीमान्को छेउमा बसेर अस्पतालको भुइँ, बेड र भित्ताहरूबीच आफ्नो अर्को जीवन खोजिरहेकी छन् । अस्पताल आएको केही दिनसम्म उनी पनि एकोहोरिन् । अहिले थालको आवाज बज्दा पनि तर्सिने, झस्किने गरेको चरी सुनाउँछिन् ।
‘मलाई त्यो दिन आफूमा आएको हिम्मत सम्झिँदा अहिले अत्यास लाग्छ । मनमा अनेक तर्कना आइरहन्छ । कुनै ठूलो आवाज आउँदा बाढी फेरि बाढी आयो जस्तो लाग्छ । मुटु ढुकढुक हुन्छ, सास फुलेर आउँछ, ‘भक्कानिँदै चरीले सुनाइन् ।
घर फर्कने बाटो छैन, सम्झिँदा कहाली लाग्छ
बाढीले चरीको घर मात्रै बगाएन, वर्षौं दु:ख गरेर जोडेको जीवनको आधार नै खोसिदियो । अब उनी त्यो क्षण सम्झिँन चाहन्नन् ।
‘तरकारी किन्न पुग्ने, बसिबियाँलो गर्ने सिलाइ पसल रहेन । लगाउने लत्ताकपडा रहेनन् । ओढ्ने, ओछ्याउने केही रहेन । दु:ख गरेर बनाएको पक्की बगायो । उठिबास लाग्यो । अब घर फर्किने स्थिति छैन, ‘उनी भन्छिन् ।
वर्षौं विदेशमा दु:ख गरेर कमाएको पैसाले किनेको तीन आना घडेरी पनि बाढीले लगेको छ । उनको पुरानो जीवनको कुनै चिनो बाँकी छैन ।
‘सबै सखाप भयो, वरपर छिमेकी धेरै बिते, बाँच्नेको पनि केही रहेन’ उनी भन्छिन् ।
कहिलेकाहीँ उनलाई आफ्नै शरीरमा लगाएको कपडा हेर्दा पनि विगत सम्झना आउँछ । ‘यो पनि अर्काले दिएको हो । सहारा खोज्दै जाँदा मायाले पाएको लुंगी लगाएको छु,’ आफ्ना कपडा देखाउँदै उनी भन्छिन् ।
चरीको आवाज विस्तारै दबिन्छ । ‘मसँग केही छैन ।’ छोरालाई एउटा कोठामा बालबच्चा राखेर बस्नै धौधौ छ । सिलाइको काम पनि नचलेर रोकिएको छ ।
अब त्यही परिवारमा चरी र बिरामी झक्तबहादुर पनि थपिएका छन् ।
बच्चाहरू पढिरहेका छन् । खर्च बढेको छ । कमाउने हात एउटै छ ।
चरीलाइै अर्को चिन्ता थपिएको छ । ‘अब अस्पतालको बसाइपछि कहाँ जाने । घर भएर पनि बुढेसकालमा विस्थापित भइयो भन्दै श्रीमान् रुनु हुन्छ । आफ्नो आँसु कहाँ बगाउँ,’ उनी दु:खेसो पोख्छिन् ।
अब सरकारसँग चरीको एउटै याचना छ– बस्नका लागि ठाउँ दिए हुन्थ्यो । ‘भगवानले बचाउनुभयो, अब बस्ने र बाँच्ने आधार दिनुस्,’ सरकारसँग उनको माग छ ।
प्रतिक्रिया 4