१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप मानिसहरुको खोजी र उद्धारका लागि नेपाली सेनासँग नेपाल विद्युत प्राधिकरणका कर्मचारी पनि सुरुङमा प्रवेश गरेका छन् ।
जमिनमुनि रहेको विद्युत् गृहमा खोजी तथा उद्धारका लागि सम्भावित ठाउँहरू पत्ता लगाउन विद्युत् प्राधिकरणका प्राविधिकहरु सेनासँगै सुरुङमा प्रवेश गरेका हुन् ।
९ दिनसम्मको निरन्तरको प्रयासपछि यो जलविद्युत् आयोजनाबाट आज बिहान दुई जनालाई जीवितै उद्धार गरिएको थियो । हिलो भरिएको सुरुङबाट १० दिनपछि मानिसहरुलाई जीवितै उद्धार गर्न सफलता पाउनुलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ । उद्धारकर्ताले एउटा शव पनि सुरुङ भित्रबाट निकालेका छन् ।
तर, सो आयोजनामा ४२ जना मानिसहरू फसेको हुनसक्ने अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । भूमिगत विद्युत् गृृहमा अझै ठूलो संख्यामा मानिसहरु रहेको अनुमान गरिएकाले उनीहरुलाई कहाँ बसेका हुनसक्छन् भन्ने सम्भावित ठाउँ पत्ता लगाउन विद्युत् प्राधिकरणका कर्मचारी पनि विद्युत् गृहमा प्रवेश गरेको प्राधिकरण स्रोतले जानकारी दियो ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार जीवितै उद्धार भइरहेकाहरूको नेपाली सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ भने एउटा शवको अहिले पहिचान हुन बाँकी छ ।
आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबिर महर्जन हुन् ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।
माथिल्लो त्रिशूली थ्री–ए परियोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत् गृहमा नै रहेको अनुमान छ ।
प्रतिक्रिया 4