+

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

२०८३ भदौ  २२ गते १४:४० २०८३ भदौ २२ गते १४:४०

भीषण बाढीका कारण घर छाडेर सुरक्षित स्थान तथा होल्डिङ सेन्टरमा बस्न बाध्य भएका व्यक्तिहरू डर, चिन्ता, तनाव, शोक, अन्योल र असुरक्षाको भावनाबाट गुज्रिरहेका छन् । 

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याउँदै घर, परिवार र सम्पत्ति नष्ट गरेको छ।
  • बाढी, पहिरो र डुबानपछि होल्डिङ सेन्टरमा बसेका प्रभावितमा डर, चिन्ता, तनाव, शोक र असुरक्षाको भावना देखिएकाले प्राथमिक मनोवैज्ञानिक सहयोग आवश्यक भएको छ।
  • प्राथमिक मनोवैज्ञानिक सहयोगमा ‘हेर्नु, सुन्नु र जोड्नु’ सिद्धान्त अपनाई प्रभावितलाई सुरक्षा, सूचना, परिवार, स्वास्थ्य सेवा र आवश्यक मनोसामाजिक सेवासँग जोड्नुपर्छ।

गत भदौ १० गतेको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति पुर्‍याएको छ । हजारौंको ज्यान गएको छ भने हजारौं व्यक्ति बेपत्ता भएका छन् । कतिको घर, परिवार र सम्पत्ति क्षणभरमै सखाप भएको छ ।

बाढी, पहिरो तथा डुबानले मानिसको घर, सम्पत्ति र जीविकोपार्जनमा मात्र क्षति पुर्‍याएन; यसले व्यक्तिको मानसिक, भावनात्मक र सामाजिक जीवनमा समेत गहिरो असर पारेको छ। अचानक आएको भीषण बाढीका कारण घर छाडेर

सुरक्षित स्थान तथा होल्डिङ सेन्टरमा बस्न बाध्य भएका व्यक्तिहरू डर, चिन्ता, तनाव, शोक, अन्योल र असुरक्षाको भावनाबाट गुज्रिरहेका छन् ।

यस्तो अवस्थामा राहत सामग्रीसँगै प्रभावित व्यक्तिको मानसिक तथा भावनात्मक अवस्थालाई सम्बोधन गर्नु अत्यन्त आवश्यक हुन्छ । यही कारणले ’प्राथमिक मनोवैज्ञानिक सहयोग’ को भूमिका महत्त्वपूर्ण हुन्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोग भनेको विपद्, दुर्घटना वा सङ्कटपूर्ण परिस्थितिबाट प्रभावित व्यक्तिलाई तत्काल प्रदान गरिने मानवीय, सम्मानजनक र व्यावहारिक सहयोग हो ।

यसको उद्देश्य व्यक्तिलाई मानसिक रोगीका रूपमा उपचार गर्नु होइन  । यसले तत्काल आवश्यकता बुझ्ने, सुरक्षित महसुस गराउने, भावनात्मक सहयोग प्रदान गर्ने र आवश्यक सेवा तथा स्रोतसँग जोड्ने काम गर्छ ।

असामान्य र भयावह परिस्थितिमा मानिसले देखाउने डर, दुःख, तनाव वा अन्योलका प्रतिक्रिया धेरै अवस्थामा सामान्य मानवीय प्रतिक्रिया हुन सक्छन्।

त्यसैले, प्रभावित व्यक्तिको भावनालाई बुझ्नु र सम्मान गर्नु प्राथमिक मनोवैज्ञानिक सहयोगको पहिलो आधार हो ।

प्राथमिक मनोवैज्ञानिक सहयोग किन ?

१. प्रभावित व्यक्ति/समुदायलाई तत्काल शारीरिक तथा भावनात्मक सुरक्षा प्रदान गर्न ।

२. मानिसहरूबीच आदरपूर्वक र भेदभावविहीन सम्बन्ध स्थापना गर्न ।

३. प्रभावित व्यक्तिहरूलाई शान्त र भावनात्मक रूपमा स्थिर बनाउन ।

४. प्रभावित व्यक्तिहरूलाई गम्भीर वा जटिल प्रकारका मनोवैज्ञानिक वा मानसिक समस्या हुनबाट जोगाउन ।

५. प्रभावित व्यक्तिहरूका तत्कालीन आवश्यकता पत्ता लगाउने र सोहीअनुसारको व्यावहारिक सहयोग प्रदान गर्न ।

. जतिसक्दो चाँडो प्रभावित व्यक्तिहरूलाई उनीहरूको परिवार, साथीभाइ र छरछिमेकलगायतका अन्य सामाजिक सहयोग सञ्जालसँग जोड्न ।

७. घटनापश्चात् परेको मनोसामाजिक समस्या वा कठिनाइसँग सामना गर्नका लागि व्यक्तिलाई सहयोगी सूचनाहरू प्रदान गर्न ।

८. समस्यामा परेका व्यक्तिलाई पूर्ण रूपमा सामान्य जीवनमा फर्किनका लागि आवश्यक पर्ने सहयोगको पहिचान गरी सोहीअनुसारको सहयोग प्राप्त गर्न मद्दत गर्न ।

प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी तालिम प्राप्त वा आवश्यक ज्ञान तथा अनुभव भएका व्यक्तिहरूले पनि सेवा दिन सक्छन् ।  यसका लागि प्राथमिक मनोवैज्ञानिक सहयोगको उद्देश्य, के–के गर्ने र कसरी गर्ने भन्ने कुराको ज्ञान भएको हुनुपर्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोग मनोविद् तथा मनोचिकित्सक, मनोसामाजिक परामर्शकर्ता, मनोसामाजिक कार्यकर्ता, सामाजिक कार्यकर्ता तथा स्वयंसेवक, शिक्षक, प्रहरी, समुदायका अगुवा, स्वास्थ्यकर्मी वा रेडक्रसका कर्मचारी, सञ्चारकर्मी र परम्परागत उपचारकर्मीले पनि गर्न सक्छन् ।

यस्तो बेलामा होल्डिङ सेन्टरमा आश्रय लिइरहेकाहरूलाई भावनात्मक समस्याहरू बढी हुने गर्छ।

प्राथमिक मनोवैज्ञानिक सहयोगका तीन सिद्धान्त

प्राथमिक मनोवैज्ञानिक सहयोगका तीन सिद्धान्त रहेका छन्। त्यही सिद्धान्तका आधारमा सेवा प्रदान गरिन्छ। प्राथमिक मनोवैज्ञानिक सहयोगलाई सरल रूपमा ’हेर्नु, सुन्नु र जोड्नु’ भन्ने तीन आधारभूत प्रक्रियाबाट बुझ्न सकिन्छ।

सबैभन्दा पहिले होल्डिङ सेन्टरमा रहेका सेवाग्राहीको वर्तमान अवस्था कस्तो छ ? त्यो धैर्यका साथ याद गर्नुपर्छ। त्यहाँ बसेका सेवाग्राहीलाई कुनै जोखिम छ कि, त्यो हेर्नुपर्छ ।

भावनात्मक प्रतिक्रियाहरू जस्तै, डर, त्रास, दुःख, चिन्ताका भावनाहरू कस्ता छन् ? त्यो याद गर्नुपर्छ । साथै, ती सेवाग्राहीलाई अहिले के कुराको खाँचो छ वा आवश्यकताहरूलाई हेर्नुपर्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्ने व्यक्तिले चिलको हेराइ जसरी हेरेर अवलोकन गर्नुपर्छ। प्रभावित व्यक्तिको सुरक्षा र आधारभूत आवश्यकताको अवस्था बुझ्नुपर्छ । खाना, पानी, सुरक्षित बसोबास, स्वास्थ्य सेवा, औषधि तथा

परिवारका सदस्यसँग सम्पर्कजस्ता आवश्यकताहरू पूरा नभएको अवस्थामा मानिसको चिन्ता स्वाभाविक रूपमा बढ्न सक्छ ।

त्यसैले, मनोसामाजिक परामर्शकर्ताले भावनात्मक कुरा मात्र नगरी व्यक्तिको वास्तविक आवश्यकता पहिचान गरी सम्बन्धित सेवा र निकायसँग समन्वय गर्नुपर्छ ।

पहिलो चरण : परिस्थितिलाई ध्यानपूर्वक हेर्नुपर्छ। को व्यक्ति अत्यधिक आत्तिएको छ, को परिवारबाट छुट्टिएको छ, कोही वृद्ध, बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति वा विशेष संरक्षण आवश्यक पर्ने अवस्थामा छन् कि छैनन् भन्ने पहिचान गर्नुपर्छ।

दोस्रो चरण : धैर्यपूर्वक सुन्नु । प्रभावित व्यक्तिलाई आफ्नो अनुभव जबर्जस्ती सुनाउन लगाउनुहुँदैन। तर उसलाई बोल्न मन लागेमा सुरक्षित र सम्मानजनक वातावरणमा ध्यानपूर्वक सुन्नुपर्छ।

’तपाईंलाई अहिले सबैभन्दा बढी के कुराको चिन्ता छ ?’, ’तपाईंलाई कस्तो सहयोग आवश्यक छ ?’ जस्ता सरल प्रश्नले व्यक्तिको आवश्यकता बुझ्न सहयोग गर्न सक्छ। ’नरोऊ’, ’केही भएको छैन’ वा ’बिर्सिदिनुस्‌’ जस्ता वाक्य प्रयोग  गर्नुहुँदैन ।

बरु, ’तपाईंले कठिन परिस्थिति सामना गर्नुभएको छ’ र ’यस्तो अवस्थामा डर वा चिन्ता हुनु स्वाभाविक हुन सक्छ’ जस्ता शब्द प्रयोग गर्नुपर्छ। असामान्य परिस्थितिमा शरीर/मनमा आउने यस्ता प्रतिक्रियाहरू सामान्य प्रतिक्रिया हुन् भनेर  सेवाग्राहीलाई भन्नुपर्छ।

तेस्रो चरण : प्रभावित व्यक्तिलाई सही सूचना, परिवार, सामाजिक सञ्जाल, स्वास्थ्य सेवा, राहत तथा आवश्यक मनोसामाजिक सेवासँग जोड्नु प्राथमिक मनोवैज्ञानिक सहयोगको महत्त्वपूर्ण पक्ष हो। सही र विश्वसनीय जानकारीले मानिसको अन्योल र डर कम गर्न ठूलो भूमिका खेल्छ ।

बालबालिका, वृद्ध तथा विशेष जोखिममा रहेका व्यक्तिलाई थप संवेदनशीलताका साथ सहयोग गर्नुपर्छ । बालबालिकालाई सुरक्षित वातावरण, अभिभावकको साथ, खेलकुद तथा सामान्य दिनचर्यामा सहभागी गराउनु उपयोगी हुन्छ।  उनीहरूलाई घटनाको विवरण जबर्जस्ती सुनाउन लगाउनुहुँदैन।

यदि कुनै व्यक्तिले आफूलाई वा अरूलाई हानि गर्ने विचार व्यक्त गर्छ, अत्यधिक असामान्य व्यवहार देखाउँछ । गम्भीर मानसिक समस्या देखिन्छ वा दैनिक जीवन सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्छ भने तत्काल सम्बन्धित स्वास्थ्य संस्था, अस्पताल तथा मानसिक स्वास्थ्य सेवामा ‘रेफर’ गर्नुपर्छ।

विपद्को समयमा प्राथमिक मनोवैज्ञानिक सहयोग भनेको केवल परामर्शको प्रविधि मात्र होइन, मानवीयता, समानुभूति गरी सेवाग्राहीको शरीरमा परेको समस्यालाई नियाल्न दिनु हो।  अझै भनौं, उहाँहरूलाई सुरक्षित वातावरणमा विपद्का कारणले परेका समस्याहरू सुन्नु नै हो ।

होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित व्यक्तिलाई राहत सामग्रीसँगै ’तपाईं एक्लै हुनुहुन्न, हामी तपाईंको साथमा छौं’ भन्ने अनुभूति दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

सही समयमा गरिएको सानो तर संवेदनशील सहयोगले प्रभावित व्यक्तिलाई सङ्कटबाट पुनः सामान्य जीवनतर्फ फर्कने शक्ति र आशा प्रदान गर्न सक्छ।

यस्ता लक्षण देखिए विशेष मनोवैज्ञानिक सहयोगका लागि सिफारिस गर्नुपर्छः

१. गएका हप्तादेखि निदाउन समस्या भइरहेको र अव्यवस्थित, अल्मलिएको महसुस भइरहेको भए ।

२. निकै तनावग्रस्त भएका कारणले आफू/आफ्ना बालबच्चाहरूको हेरचाह गर्न असमर्थ रहेको भए (जस्तैः सरसफाइमा ध्यान नपुगेको, समयमा खाना नखाएको)।

३. आफ्नो व्यवहारमा नियन्त्रण गुमाएको, अप्रत्याशित वा हिंसात्मक व्यवहार देखाएको भए ।

४. सामान्यभन्दा बढी वा अत्यधिक लागुऔषध वा जाँडरक्सी सेवन गरिरहेको भए ।

५. कठिनाइको अवस्थापूर्व नै मनोवैज्ञानिक/मानसिक समस्या भएको वा औषधि खाइरहेको भए ।

६. जीर्ण वा दीर्घरोगजस्तो स्वास्थ्य अवस्था र आवश्यक स्वास्थ्य सहयोगको खाँचो भएको भए ।

७. गम्भीर मानसिक रोगका लक्षण देखिएमा ।

८. कुनै पनि किसिमको यौन दुर्व्यवहार वा हिंसा भइरहेको खण्डमा ।

यी माथिका लक्षण देखिए विशेष मनोवैज्ञानिक सहयोगका लागि माथिल्लो निकायमा रेफर गर्नुपर्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोग गर्दा पीडितलाई झन् पीडा दिने कुराहरू गर्नुहुँदैन। जस्तै, पुनः पीडित हुने गरी प्रश्न गर्नुहुँदैन, कसैलाई पनि उनीहरूको कुरा भन्नका लागि दबाब दिनुहुँदैन र झुटा वाचाहरू वा गलत आश्वासनहरू दिनुहुँदैन।

यसले उनीहरूलाई झन् अप्ठ्यारो बनाउँछ।

उनीहरूलाई पूर्वाग्रही भएर प्रश्न गर्नुहुँदैन, उनीहरूले के गरे वा के गरेनन् भन्ने कुराको पूर्वानुमान गर्नुहुँदैन । साथै, उनीहरूलाई आत्मग्लानि हुने जस्ता प्रश्नहरू गर्नुपनि हुँदैन ।

सहयोग प्रदान गर्ने व्यक्तिले गर्नुपर्ने कुराहरू निम्न रहेका छन् :

—   हामीले आवश्यकताअनुसार गोपनीयता प्रदान गर्नुपर्छ ।

—  कुराकानी गर्दा आधारभूत सञ्चारका सीपहरूको प्रयोग गर्ने (सक्रिय श्रवणको कुरा), ध्यान दिएर कुरा सुन्ने र तपाईंले ध्यान दिइरहनुभएको छ भन्ने कुरा आफ्नो आवाजबाट पुष्टि गर्ने ।

—  सेवाग्राहीको भावनाको सम्मान गर्ने र उहाँहरूको अवस्थालाई बुझ्दै मनका कुराहरू राख्ने वातावरण बनाउनुपर्छ।

—  सेवा प्रदान गर्ने व्यक्तिले एकपटकमा एउटा मात्र प्रश्न सोध्ने, बीचमा नबोल्ने, कुरा गर्दा आवाजमा न्यानोपन र समानुभूतिको महसुस सेवाग्राहीलाई गराउनुपर्छ ।

—  सकेसम्म नम्र भएर स्थानीय भाषाको प्रयोग गर्ने, बिस्तारै, प्रस्टसँग र शान्त भएर बोल्नुपर्छ। प्राथमिक मनोवैज्ञानिक सेवा प्रदान गर्ने व्यक्तिलाई ग्राउन्डिङ अभ्यासलाई बढी प्राथमिकता दिनुपर्छ।

—  होल्डिङ सेन्टरमा बस्ने नागरिकहरूलाई प्रदान गर्ने प्राथमिक मनोवैज्ञानिक सहयोग प्रभावकारी ढङ्गबाट प्रदान गर्न सकिएन भने उहाँहरूलाई पीडामाथि झन् पीडा थप्ने काम गर्छ।

त्यसैले, विशेष सावधानीपूर्वक उक्त सेवा प्रदान गर्नुपर्छ।

(लेखक अहिले धादिङको होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितहरूलाई मनोसामाजिक परामर्श दिइरहेका छन् ।)

बाढीपीडितलाई राहत मनोवैज्ञानिक परामर्श
लेखक
रामकुमार थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन