+
+
Shares

जंगलमा खोजिँदै रसुवागढी हाइड्रोका सम्पर्कविहीन, रक क्लाइम्बर टोली परिचालन

रक क्लाइम्बर टोलीले मानिसहरू बाढीबाट जोगिन भाग्न सक्ने सम्भावित बाटो, ओत लाग्न सक्ने स्थान तथा अप्ठ्यारो भौगोलिक क्षेत्रमा खोजी गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी जंगल र पहाडी क्षेत्रमा समेत विस्तार गरिएको छ।
  • कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका दक्ष जनशक्ति र हिमालय समिट क्लबको ८ सदस्यीय टोली परिचालन गरेको छ।
  • नेपाली सेनाको उद्धार टोलीले विद्युत्गृहभित्र खोजी गर्दा कोही फेला पारेन, र बाढीपछि ७ जनाको उद्धार भइसकेको छ।

२१ भदौ, काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ ।

आयोजनाको विद्युत्गृहभन्दा बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो ।

कम्पनीले आफ्नै प्रयासमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला क्याम्प तथा त्यस आसपासका जंगल क्षेत्रमा ग्राउन्ड सर्च गरिरहेको जनाएको छ । त्यसका लागि हिमालय समिट क्लब प्रालिको ८ सदस्यीय टोली परिचालन गरिएको छ ।

कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार उक्त टोलीले टिमुरे क्षेत्रमा प्रारम्भिक खोजी गरेपछि हेलिकप्टर मार्फत घट्टेखोला क्षेत्रमा पुगेर खोजी गरेको थियो । शनिबार बिहान ७:३० बजेदेखि टोलीले सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो ।

‘बाढी आउँदा कोही भागेर माथि जंगलतिर गएर बसेको हुन सक्ने अनुमान गरेर खोजी गरिरहेका छौं,’ न्यौपानेले भने, ‘भागेर जंगलतिर गएकाहरू धेरैजसो सम्पर्कमा आइसकेका छन्, तर भाग्ने क्रममा चोटपटक लागेर हिँड्न नसक्ने अवस्थामा कोही कतै अड्किएका छन् कि भनेर खोजी गरिरहेका हौं ।’

बाढीका बेला आयोजनास्थलबाट भागेर जंगल तथा माथिल्लो क्षेत्रमा पुगेका केही व्यक्ति भने यसअघि नै सम्पर्कमा आइसकेका छन् । तर, बाढीबाट जोगिने क्रममा चोटपटक लागेर जंगलमै फसेका वा हिँड्न नसक्ने अवस्थामा रहेका व्यक्ति हुन सक्ने आशंकामा खोजीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

शनिबार नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गरेपछि बिहान ९:२० बजेदेखि विद्युत्गृहमा समेत खोजी तथा उद्धार प्रयास गरेको थियो ।

विद्युत्गृहभित्र गरिएको खोजीबाट सम्पर्कविहीनको अवस्था पत्ता नलागेपछि कम्पनीले सम्भावित बाहिरी क्षेत्र, विशेषगरी जंगल तथा पहाडी भूभागमा खोजीलाई प्राथमिकता दिएको हो ।

रक क्लाइम्बर टोलीले मानिसहरू बाढीबाट जोगिन भाग्न सक्ने सम्भावित बाटो, ओत लाग्न सक्ने स्थान तथा अप्ठ्यारो भौगोलिक क्षेत्रमा खोजी गरिरहेको छ ।

कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद् एवं टनेल विज्ञ विष्णु शिवाकोटी सहित नेपाली सेनाको उद्धार टोली चार वटा हेलिकप्टर मार्फत आयोजनास्थल पुगेको थियो ।

उद्धार टोलीले भग्नावशेष हटाउँदै विद्युत्गृहभित्र प्रवेश गरेर कन्ट्रोल रुम आसपास तथा विभिन्न कुनामा खोजी गरेको थियो । तर, विद्युत्गृहको कन्ट्रोल रुम पूर्णरूपमा हिलो तथा लेदोले पुरिएको अवस्थामा रहेको र बाढीले ल्याएको माटो, लेदो तथा काठका टुक्रा ईओटी क्रेन लेभलभन्दा माथिसम्म पुगेको पाइएको छ ।

विद्युत्गृहभित्र ४ देखि १४ जनासम्म फसेको हुन सक्ने अनुमान गरिए पनि शनिबारको खोजीका क्रममा कोही पनि फेला नपरेको कम्पनीले जनाएको छ । उद्धार टोली अहिले विद्युत्गृहबाट बाहिर निस्किसकेको छ ।

बाढीका कारण आयोजनामा कार्यरत ९३ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् । आयोजनामा कार्यरत ७ जनाको भने यसअघि नै उद्धार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?