२१ भदौ, सुर्खेत । लगातार भइरहेको वर्षाका कारण कालिकोटमा कर्णाली राजमार्ग पुन: अवरुद्ध भएको छ । खाडाचक्र नगरपालिका–७ र ८ को सीमाना पर्ने रातो पहाडमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, आइतबार साँझ ५:२० बजेतिर रातो पहाडमा करिब ५ देखि ७ मिटर सडक भासिएपछि कर्णाली राजमार्गको यातायात पूर्ण रूपमा रोकिएको छ ।
सडक भासिएसँगै राजमार्गमा आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । सडक मर्मत तथा यातायात सञ्चालनमा ल्याउने सम्बन्धमा सम्बन्धित निकायले आवश्यक पहल गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय कालिकोटसहित कर्णालीका विभिन्न जिल्लामा नियमित वर्षा भइरहेको छ । वर्षाका कारण राजमार्ग तथा ग्रामीण सडकमा पहिरो जाने, सडक भासिने र यातायात अवरुद्ध हुने जोखिम बढेको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले वर्षा भइरहेको अवस्थामा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।
प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै अनावश्यक यात्रा नगर्न तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया 4