+
+
Shares

पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी

पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा गए रातिको अविरल वर्षाले पाक्न लागेको धानबाली ढलेर क्षति पुगेपछि किसान वर्षभरको मेहनत खेर जाने चिन्तामा छन् ।
  • चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङका किसान सौगात गिरीले खोला र खोल्साको पानी खेतमा पसेर धान नष्ट भएको बताए ।
  • किसानले डुबान समस्या समाधानका लागि खोला, खोल्साको व्यवस्थापन, फोहर हटाउने र व्यवस्थित कोरिडोर निर्माण गर्न स्थानीय तहसँग माग गरेका छन् ।

ख्वप (भक्तपुर), २२ भदौ । गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् । पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ ।

रोपाइँदेखि गोडमेल, मलजल र सिँचाइ गर्दै हुर्काएको धान पाक्ने बेलामा पानी र हावाहुरीका कारण ढलेपछि उत्पादन घट्ने चिन्ता किसानमा थपिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङगका किसान सौगात गिरीका अनुसार राति परेको वर्षाले धानबालीको खेततर्फको खोला पसेपछि खेतको धानबालीमा क्षति पुगेको हो ।

खोलामा लामो समयदेखि जम्मा भएका फोहोरका थुप्रोसमेत खेतमा पस्दा धानबालीमा थप क्षति पुगेको उनले बताए । वर्षाका कारण खेतमा पानी जम्नुका साथै कतिपय स्थानमा खोला तथा खोल्साको पानी खेतमा पस्दा धानबाली ढलेर नष्ट भएको उनले जानकारी दिए।

“वर्षे धान रोपेदेखि धान घरमा नभित्राएसम्म पानी परेपछि धान डुबानमा पर्ला कि भनेर चिन्तामा बस्नुपर्ने अवस्था छ”, उनले भने । गिरीले यसपटक पनि पाक्न ठिक्क परेको धानबाली वर्षाको पानीले ढलेर नष्ट भएपछि यहाँका सम्पूर्ण किसानहरु दुःखी भएको बताए।

यहाँका किसानहरूले वर्षायाममा खेत डुबानको समस्या समाधान गर्न खोला तथा खोल्साको उचित व्यवस्थापन, फोहर हटाउने तथा व्यवस्थित कोरिडोर निर्माण गर्न स्थानीय तहसँग माग गर्दै आएका छन् ।

समयमै समस्या समाधान नगरे हरेक वर्ष धानबालीमा क्षति पुग्ने र किसानको उत्पादन तथा आम्दानीमा असर पर्ने उनको भनाइ छ । भक्तपुरका किसान रामप्यारी सुवालका अनुसार पाक्नै लागेको धान ढलेपछि धान नष्ट हुन्छ । उनका अनुसार ढलेको धान फेरि जनशक्ति लगाएर उठाउनुपर्छ अर्थात् मुठामुठा बाध्नुपर्छ । यति गर्दा पनि त्यो धान खाली बोक्रामा मात्रै सिमित हुन्छ । त्यसकारण धान फल्ने बेला त्यो खोक्रो भुस धानमा परिणत हुने उनले जानकारी दिए।

भक्तपुर किसानको जिल्ला भनेर चिनिन्छ । जिल्लाका चार नगरपालिका–भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायणमध्ये विशेषगरी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा अझै पनि ठूलो क्षेत्रफलमा रोपाइँ गरिन्छ । भक्तपुरका ग्रामीण तथा शहरी क्षेत्रमा तीव्र रूपमा भइरहेको भौतिक विस्तारका कारण खेत तथा प्राकृतिक पानी बग्ने मार्गमा दबाब बढ्दै गएको छ ।

यसले ठूलो वर्षाका बेला पानीको निकास प्रभावित हुने र खेतमा डुबानको जोखिम बढाउने गरेको किसानहरूको अनुभव छ । स्थानीय तहले तत्काल क्षतिको स्थलगत अनुगमन गरी वास्तविक क्षतिको विवरण सङ्कलन तथा प्रभावित किसानलाई आवश्यक सहयोग गर्नुपर्ने मागसमेत उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?