+
+
Shares

शुक्रबार अमेरिकाबाट हास्य सिरियल ल्याउँदै धुर्मुस-सुन्तली

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धुर्मुस–सुन्तलीले अमेरिकामा निर्माण गरेको कमेडी शृंखला ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि धुर्मुस–सुन्तली युट्युब च्यानलबाट प्रसारण हुने भएको छ।
  • भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि दुई साताअघि तय प्रसारण मिति स्थगित गरिएको थियो।
  • उत्तर क्यारोलाइनाको राले केन्द्रित शृंखलामा सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा डेब्यु गरेकी छन्, र जीवन लुइँटेल अतिथि कलाकारका रूपमा देखिनेछन्।

अमेरिका । हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा निर्माण गरेको नयाँ कमेडी शृंखला ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि दर्शकमाझ आउने भएको छ ।

दुई साताअघि नै प्रसारण मिति तय गरिएको भए पनि भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि धुर्मुसले शृंखलाको प्रसारण स्थगित गरेका थिए ।

धुर्मुस-सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८:१५ बजे धुर्मुस-सुन्तली युट्युब च्यानलबाट प्रसारण हुने सीतारामले बताए । अमेरिकामा भने यो शृंखला शुक्रबार बिहान १०:३० बजे प्रसारण हुनेछ ।

‘म त मर्छु कि क्या हो’ शीर्षक धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो ।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर शृंखला निर्माण गरिएको छ । निर्देशकसमेत रहेका सीतारामका अनुसार राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो र चार्लोटलगायत स्थानमा यसको छायांकन गरिएको हो ।

सीताराम र कुञ्जनाको निर्देशनमा निर्माण भएको सिरियलमा पाका कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा देखिनेछन् । दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मनिका चौलागाइँ, चुडा धिमाल, धर्म भारती र शुभद्रा आचार्यलगायत कलाकारको पनि अभिनय छ ।

यही शृंखलामार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई बाल कलाकारका रूपमा डेब्यु गराएका छन् । अभिनेता जीवन लुइँटेल पनि अतिथि कलाकारका रूपमा देखिनेछन् ।

राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बजगाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन छ ।

निर्माण पक्षका अनुसार सिरियल मनोरञ्जनमा मात्र सीमित रहने छैन । यसले अमेरिकामा बसोबास गर्ने नेपालीका संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै त्यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि र प्रवासी जीवनका विविध कथालाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्नेछ ।

अमेरिकी सरकारका वैज्ञानिक तथा साहित्यकार डा. चन्द्र गिरीले शृंखलाले विदेशमा रहेका नेपालीको दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको बताए ।

शृंखलाका सल्लाहकारसमेत रहेका डा. गिरीले प्रवासमा बसेर नियमित रूपमा कलाकर्म गर्दै विश्वभरका नेपालीभाषी दर्शकमाझ पुग्नु सामान्य कुरा नभएको बताए ।

‘प्रवासमा रहेर यहीँबाट नियमित रूपमा कलाकर्म सुरु गर्नु आफैंमा प्रशंसनीय काम हो,’ उनले भने, ‘यसमा प्रवासमा रहेका सबै नेपालीको साथ र सहयोग हुन जरुरी छ ।’

अमेरिका आएदेखि नै सीताराम र कुञ्जना कलाकर्ममा सक्रिय रहँदै आएका छन् । यस अवधिमा उनीहरूले करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापनसमेत निर्माण गरिसकेका छन् ।

‘मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ,’ सीतारामले भने, ‘हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?