२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ को आन्दोलनलाई विध्वंस भनेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू घरबाट महाराजगंज र नक्सालको भाटभटेनी हुँदै सदनमा आउने गरेको सुनाए ।
‘भदौ २४ को विध्वंसले खरानी बनेका ब्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो उर्जा देखेर मलाई गर्व लाग्छ छ,’ उनले भने,’तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु । यो पालाको बजेट नै नयाँ संसद् भवनमा हुने भनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुरा राखिराखेको छु ।’
राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा खेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? उनको प्रश्न थियो ।
गत वर्ष २४ भदौमा भएको तोडफोड र आगजनीमा नक्सालको भाटभटेनी समेत परेको थियो । हाल उक्त भाटभटेनी पुर्ननिर्माण भइसकेको छ । यसलाई रास्वपा महामन्त्री आचार्यले निजी क्षेत्रले गरेको सकारात्मक कामको विषयका रुपमा चित्रित गरेका हुन् ।
तर सरकारी र सार्वजनिक सम्पतिमा भएको क्षतिको पुर्ननिर्माण हुन किन बाँकी रहेको भन्दै उनले प्रश्न गरे ।
प्रतिक्रिया 4