२५ भदौ, सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशलाई सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै संयोजक प्रचण्डले भदौ १० गतेको बाढीका कारण देश गहिरो संकटमा रहेकाले सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन् ।
‘अहिले हामी राष्ट्रिय रूपमा एउटा गहिरो पीडा र संकटबाट गुज्रिरहेका छौं,’ प्रचण्डले भने, ‘नेपालको इतिहासमा मात्र होइन, विश्वमै यति भयानक प्राकृतिक विपत्ति विरलै देखिएको छ ।’
यो विपत्तिमा परी हजारौँ नागरिक बेपत्ता रहेको उल्लेख गर्दै उनले अहिले मुलुक राष्ट्रिय शोकको घडीमा रहेको बताए ।
यस्तो विपद्को बेला मधेशले पहाडलाई र पहाडले मधेशलाई सहयोग गर्ने नेपाली परम्परा निकै सकारात्मक रहेको पनि उनले स्मरण गरे ।
यसअघि आफूले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका हिमाल तथा हिमाली क्षेत्र जोखिममा रहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको पनि प्रचण्डले बताए ।
‘संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणका क्रममा हिमाल पग्लिने र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे जानकारी गराएको थिएँ,’ उनले भने, ‘त्यो बेला सगरमाथा आधार शिविर र लुम्बिनीबाट विश्व समुदायलाई नेपालको पर्यावरण तथा नागरिक सुरक्षाका विषयमा गम्भीर हुन अपिल गरिएको थियो ।’
निर्वाचनपछि आफूले देश, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समृद्धि र विकासप्रति थप ठूलो जिम्मेवारी महसुस गरेको प्रचण्डले बताए ।
प्रतिक्रिया 4