News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा सांसद प्रेमबहादुर वयकले बजारमा खाना पकाउने ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति मन्त्रीको लापर्बाहीको प्रश्न उठाएका छन्।
- उनले ग्यास नपाएर सुत्केरी श्रीमतीलाई खाना खुवाउन नसकेपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटना सुनाउँदै यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
- वयकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कैलालीका ३४ जना नागरिक बेपत्ता भएको भन्दै उनीहरूको तत्काल खोजी र उद्धार गर्न माग गरेका छन्।
२५ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रेमबहादुर वयकले बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव र त्यसले नागरिकमा निम्त्याएको निराशाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वयकले ग्यास नपाएर सुत्केरी श्रीमतीलाई खाना खुवाउन नसकेपछि एक युवाले आत्महत्याको प्रयास गरेको विक्षिप्त घटना सुनाउँदै यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्।
‘आज काठमाडौंलगायतका स्थानमा कोठाभाडामा बसेका विद्यार्थी र सर्वसाधारणले ग्यास नपाएर पहल गरिदिन भन्दै सांसदहरूलाई गुहार्नुपर्ने अवस्था आएको छ,’ आपूर्ति व्यवस्थापनमा देखिएको लापर्बाहीप्रति प्रश्न उठाउँदै उनले संसद्मा भने, ‘आपूर्ति मन्त्रीको यो लापर्बाही र कमजोरी केले छोप्ने ? पानीमा भिज्दै सिलिन्डर बोकेर विद्यार्थी र सर्वसाधारण कहिलेसम्म भोकभोकै लाइनमा बसिराख्नुपर्ने हो सरकार ?’
‘हिजो बोल्न देऊ भन्नेहरू आज धम्कीको भाषा बोल्दैछन्’
सांसद वयकले जेन–जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नागरिकमा निराशा बढ्दै गएको टिप्पणी गरे। हिजो सडकमा हुँदा ‘बोल्न देऊ सरकार’ भन्नेहरू नै आज सत्तामा पुगेपछि प्रश्न उठाउनेहरूलाई संसद्बाटै धम्क्याउन थालेको भन्दै उनले कडा आपत्ति जनाए।
‘जनताका अगाडि कसैको झुट अभिव्यक्ति र धम्की टिक्ने छैन। खबरदार ! संविधानले व्यवस्था गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै विशिष्ट व्यक्तिको अनुहार हेरेर राखिएको होइन,’ सरकारको ध्यानाकर्षण गराउँदै उनले थपे, ‘यो अधिकार हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ।’
कैलालीका ३४ जनाको तत्काल खोजी गर्न माग
यसैगरी, सांसद वयकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कैलालीका ३४ जना नागरिक बेपत्ता भएको भन्दै तत्काल उनीहरूको खोजी गर्न सरकारसँग माग गरेका छन्।
मैलुङ खोला हाइड्रोपावरको २१६ नम्बर ड्याममा काम गर्ने कैलालीका ती नागरिकहरू बाढीपछि सम्पर्कविहीन भएकाले उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन उनले संसद्मार्फत विशेष जोड दिएका हुन्।
प्रतिक्रिया 4