२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनलाई मात्र नभई हिमाल र हिमनदीलाई समेत जोडेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालको पूर्वसूचना प्रणाली, उद्धार क्षमता र पूर्वाधार निर्माणको मोडलमाथि नै गम्भीर प्रश्न खडा गरेको बताएका हुन्।
‘आज नेपालको पूर्वाधार, विपद् पूर्वाधार, पूर्वसूचना, उद्धार क्षमता र पुनर्निर्माण प्रणालीमाथि पनि ठूलो प्रश्न उठेको छ,’ बैठकमा बोल्दै उनले भने, ‘अब हामीले वर्षा मात्र होइन, हिमाल र हिमनदीलाई समेत जोडेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ।’
सांसद थापाले विपद्का कारण हजारौं नागरिक बेपत्ता भएको, धेरैले परिवारका सदस्य गुमाएको र कतिपयको जीवन अत्यन्त कष्टकर अवस्थामा पुगेको भन्दै उनीहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
बाढीले घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र खानेपानी संरचनामा गरेको विनाशले मुलुकको अर्थतन्त्रमै गम्भीर असर परेको औंल्याउँदै उनले यसका लागि अन्तर्राष्ट्रिय सहयोगको समेत अपिल गरेका छन्।
राज्य विपत्तिबाट विस्थापित नागरिक र परिवारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनको भनाइ छ। ‘तत्कालीन प्राथमिकतामा राहत, उद्धार, सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ,’ थापाले सरकारको ध्यानाकर्षण गराउँदै भने।
बाढीपीडितको उद्धारसँगै उनीहरूको सुरक्षित आवास र स्वास्थ्य राज्यको पहिलो प्राथमिकतामा पर्नुपर्ने उनले स्पष्ट पारेका छन्।
प्रतिक्रिया 4