+

फ्याट्टी लिभर छ ? घटाउन के गर्ने ?

२०८३ भदौ  २६ गते १२:०३ २०८३ भदौ २६ गते १२:०३
फ्याट्टी लिभर छ ? घटाउन के गर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेद चिकित्सक साउदले फ्याट्टी लिभरमा खानपान, शारीरिक गतिविधि र निद्रा सुधार गरे जोखिम घटाउन सकिने बताइन् ।
  • उनले फ्याट्टी लिभरका सुरुवाती लक्षण नदेखिन सक्ने र समयमै बेवास्ता गर्दा फाइब्रोसिस, सिरोसिस र कलेजो क्यान्सरसमेत हुन सक्ने उल्लेख गरिन् ।
  • उनले बजारमा पाइने कुनै पनि ‘लिभर डिटक्स’ वा मनलाग्दी औषधि आफैंले सुरु नगर्न र चिकित्सकको सल्लाहअनुसार मात्र उपचार गर्न सुझाइन् ।

हाम्रो कलेजोमा आवश्यक मात्रामा बोसो हुनु असामान्य होइन । तर कलेजोका कोषिकामा आवश्यकताभन्दा बढी बोसो जम्मा हुन थाल्यो भने यसलाई ‘फ्याट्टी लिभर’ भएको मानिन्छ ।

यसलाई अझ सजिलो तरिकाले बुझौँ ।

तपाईंको घरमा चाहिनेभन्दा धेरै सामान थुपारिँदै गयो भने के हुन्छ ?

घर अस्तव्यस्त हुन्छ । चाहिएको सामान भेट्न पनि गाह्रो हुन्छ । घरको सामान्य व्यवस्थापनमै असर पर्न थाल्छ । त्यस्तै, हाम्रो कलेजोमा चाहिनेभन्दा बढी बोसो थुप्रियो भने कलेजोको सामान्य काममा असर पर्छ ।

कलेजो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरमा आउने पोषक तत्त्वको प्रशोधनदेखि विभिन्न मेटाबोलिजमसम्बन्धी काम गरिरहेको हुन्छ । तर कलेजोका कोषिकामा आवश्यकताभन्दा बढी बोसो जम्मा हुँदै जाँदा यसको सामान्य कार्यमा असर पर्दै जान्छ र यो रोकिएन भने कलेजो सुन्निनेदेखि थप क्षति हुने अवस्थासम्म पुग्न सक्छ ।

आयुर्वेदअनुसार स्वास्थ्यलाई हामी कुनै एउटा अंगको समस्याका रूपमा मात्र हेर्दैनौँ । शरीरको अग्नि, आम, मेद र कफलगायतका पक्ष अनि खानपान र जीवनशैलीमा आएको असन्तुलनलाई पनि समग्र रूपमा विचार गर्छौं ।

अहिलेको जीवनशैलीलाई हेर्ने हो भने चाहिनेभन्दा बढी क्यालोरीयुक्त खाना, अत्यधिक चिल्लो, प्रशोधित खानेकुरा, गुलियो पदार्थको बढी सेवन, शारीरिक गतिविधिको कमी, अनियमित खानपान र पर्याप्त निद्राको कमीजस्ता कुराले शरीरको मेटाबोलिज्ममा असर पारिरहेको छ ।

अहिलेको जीवनशैलीलाई हेर्ने हो भने चाहिनेभन्दा बढी क्यालोरीयुक्त खाना, अत्यधिक चिल्लो, प्रशोधित खानेकुरा, गुलियो पदार्थको बढी सेवन, शारीरिक गतिविधिको कमी, अनियमित खानपान र पर्याप्त निद्राको कमीजस्ता कुराले शरीरको चयापचयमा असर पारिरहेको छ ।

यही कारणले फ्याट्टी लिभरलाई पनि खानपान र जीवनशैलीसँग जोडेर हेर्नुपर्छ  ।

त्यसैले, आयुर्वेदिक दृष्टिकोणमा उपचारको कुरा गर्दा सुरु नै एउटा प्रश्नबाट गर्नु उपयुक्त हुन्छ, फ्याट्टी लिभरको जोखिम कम गर्न हामीले आफ्नो दैनिक जीवनमा के परिवर्तन गर्नुपर्छ ?

किनभने शरीरमा समस्या देखिए वा रोग लागेपछि औषधि खोज्नु एउटा पक्ष हो, समस्या दोहोरिन नदिन त्यसको जडसम्म पुगेर हेर्नु अर्को महत्वपूर्ण पक्ष हो । आयुर्वेदको मूल मान्यता पनि प्रिभेन्टिभ केयरलाई प्राथमिकता दिनेतिर केन्द्रित छ ।

’स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम् च ।’

अर्थात्, स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगीको विकारलाई शमन गर्नु वा निको पार्नु । त्यसैले आयुर्वेदमा स्वास्थ्यको चर्चा गर्दा औषधिभन्दा अगाडि नै दैनिक आहार, विहार र जीवनशैली महत्त्वपूर्ण विषय बन्छन् ।

आज हामीमध्ये धेरैले भोगिरहेका स्वास्थ्य समस्याको मुख्य कारकमध्ये एक हो, असन्तुलित जीवनशैली । त्यसैले, शरीरले समस्या देखाएपछि औषधि खोज्नेभन्दा, शरीरलाई समस्या नआउने गरी आफ्नो जीवनशैली मिलाउने प्रयास किन नगर्ने ? यो प्रश्नमै आयुर्वेदको मूल दृष्टिकोण पनि छ ।

फ्याट्टी लिभर हुँदैमा आत्तिहाल्नुपर्दैन । यसो भन्दैमा सामान्य समस्या हो भनेर बेवास्ता गर्नु पनि हुँदैन । समयमै ध्यान दिएर खानपान र जीवनशैली सुधार गर्न सके यसलाई नियन्त्रण र सुधार गर्न सकिन्छ ।

त्यसोभए, कलेजोमा जम्मा भएको अतिरिक्त बोसो घटाउन के गर्ने ?

खाने समयलाई व्यवस्थित गर्ने

बिहानदेखि रातिसम्मको खाने समयलाई सकेसम्म व्यवस्थित बनाउनुहोस् । भोक नलागेको अवस्थामा पनि पटक–पटक केही न केही खाइरहने बानी छ भने त्यसलाई हटाउन सकिन्छ । शरीरलाई आवश्यकताभन्दा बढी ऊर्जा निरन्तर दिइरहँदा शरीरको तौल र बोसो पनि बढ्न सक्छ ।

धेरै तारेका, अत्यधिक चिल्लो, प्याकेटमा पाइने र अत्यधिक गुलियो खानेकुरा सकेसम्म नखानुहोस् । विशेषगरी चिनी धेरै भएको पेय पदार्थ, मिठाइ र अत्यधिक प्रशोधित खानेकुराको सेवन घटाउनु फाइदाजनक हुन्छ ।

त्यसको सट्टा आफ्नो खानामा सागसब्जी, दाल, गेडागुडी, अन्य प्राकृतिक र कम प्रशोधित खाद्य पदार्थलाई प्राथमिकता दिन सकिन्छ । आयुर्वेदले पनि खानालाई शरीरको अवस्था र पाचन क्षमताअनुसार मिलाउन जोड दिएको छ ।

जौ, मुगजस्ता हल्का खाद्य पदार्थ उपयोगी हुन्छन् । तर कुनै एउटा खाद्य पदार्थलाई फ्याट्टी लिभरको उपचार नै ठान्नु हुँदैन, समग्र आहारको सन्तुलन महत्त्वपूर्ण हुन्छ ।

शरीरलाई चलायमान राख्ने

खानपानसँगै दैनिक शारीरिक गतिविधि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । खानपानमा ध्यान दिनुभयो तर शारीरिक गतिविधिमा ध्यान दिनुभएन भने त्यो त्यति परिणाममुखी नहुन सक्छ ।

आफ्नो क्षमता, उमेर र स्वास्थ्य अवस्थाअनुसार नियमित हिँड्ने, योग गर्ने वा व्यायाम गर्ने बानी बसाल्नुहोस् ।

दिनभरि लामो समयसम्म बसिरहने बानी छ भने बीच–बीचमा उठेर शरीरलाई चलायमान बनाउने प्रयास गर्नुहोस् । व्यायाम भन्नासाथ धेरैले जिम गएर घण्टौँ पसिना बगाउनुलाई बुझ्छन् ।

तर नियमित हिँड्नु, शरीरलाई सक्रिय राख्नु र आफ्नो क्षमताअनुसार शारीरिक गतिविधि गर्नु पनि व्यायाम नै हो । यसलाई जीवनशैली सुधारको महत्त्वपूर्ण पक्ष मान्न सकिन्छ ।

रात्रिचर्यालाई पनि ध्यान दिने

राति अबेर खाने र खाएलगत्तै सुत्ने बानीबाट सकेसम्म बच्नुहोस् । साँझको खाना र सुत्ने समयबीच पर्याप्त अन्तर राख्ने प्रयास गर्नुहोस् । फ्याट्टी लिभरको समस्यामा मात्र होइन, यो बानीले अरू धेरै रोगबाट जोगाउँछ ।

पर्याप्त निद्रा र नियमित दिनचर्यालाई पनि बेवास्ता गर्नु हुँदैन । शरीरको स्वास्थ्य सुधार्ने कुरा गर्दा हामी प्रायः खानपान र औषधिमा ध्यान दिन्छौँ तर निद्रा र दैनिक जीवनको नियमितता पनि कम महत्त्वपूर्ण हुँदैन ।

त्यसैले त भनिएको हो, स्वस्थ जीवनशैली भनेको एउटा मात्र कुरा मिलाउनु होइन । के खाने, कति खाने, कहिले खाने, कति चल्ने र कति सुत्नेजस्ता कुराको समग्र सन्तुलनले नै हाम्रो स्वास्थ्य कस्तो बनाउने भनेर तय गरिरहेका हुन्छन्।

आयुर्वेदिक उपचार

सामान्य फ्याट्टी लिभरमा खानपान र जीवनशैली सुधार नै पर्याप्त हुन सक्छ । तर तौल बढी छ भने चिकित्सकको सल्लाहअनुसार तौल घटाउने, नियमित शारीरिक गतिविधि गर्ने र अस्वस्थ खानेकुरा कम गर्नेजस्ता परिवर्तनले कलेजोमा जम्मा भएको बोसो घटाउन सकिन्छ ।

औषधि लिनुपर्ने अवस्थामा आयुर्वेदमा भूम्यामलकी, गुडुची, हरितकी, पुनर्नवा, कुटकीलगायतका औषध द्रव्य यकृतसम्बन्धी विकारमा प्रयोग हुँदै आएका छन् । यस्ता औषधिमाथि आधुनिक अनुसन्धान पनि भइरहेका छन् ।

कुन व्यक्तिलाई कुन औषधि, कति मात्रा र कति समय दिने ?, भन्ने कुरा व्यक्तिको प्रकृति, रोगको अवस्था, अन्य औषधिको प्रयोग, रक्त परीक्षण तथा लिभर फङ्सनलगायतका पक्ष हेरेर चिकित्सकले निर्धारण गर्नुपर्ने हुन्छ ।

त्यसैले, फ्याट्टी लिभर देखियो भन्दै बजारमा पाइने कुनै पनि ‘लिभर डिटक्स’ वा मनलाग्दी औषधि आफैंले सुरु गर्न हुँदैन । गलत औषधि वा अनावश्यक औषधिको प्रयोगले फाइदा गर्नुको सट्टा समस्या थपिन पनि सक्छ ।

फ्याट्टी लिभर घटाउने आधार हाम्रो दैनिक जीवनशैलीमा सुधार हो ।

फ्याट्टी लिभरका लक्षण

कतिपयले यसको लक्षणबारे पनि सोध्ने गर्नुभएको छ । सुरुवाती अवस्थामा फ्याट्टी लिभर भएका धेरै मानिसमा कुनै स्पष्ट लक्षण नदेखिन सक्छ । कतिपय मानिसमा नियमित स्वास्थ्य परीक्षण वा पेटको अल्ट्रासाउन्ड गर्दा संयोगवश फ्याट्टी लिभर देखिन सक्छ ।

अल्ट्रासाउन्डमा पनि रोगको अवस्था वा कलेजोमा भएको क्षतिको सबै जानकारी पाइन्छ भन्ने हुँदैन । आवश्यक परे चिकित्सकले थप रक्त परीक्षण वा अन्य परीक्षणको सुझाव दिन सक्छन् ।

लक्षण देखिएमा शरीर थाकिरहने, अस्वस्थ वा कमजोर महसुस हुने, पेटको दायाँ माथिल्लो भागमा असहजता वा दुखाइजस्ता समस्या हुन सक्छन् । तर यस्ता लक्षण फ्याट्टी लिभरमा मात्रै देखिने होइनन् । त्यसैले यी लक्षण देखिए, यो फ्याट्टी लिभर नै हो भन्ने निचोडमा पुगिहाल्न हुँदैन ।

कहिले गम्भीर हुन सक्छ ?

सुरुको चरणमा फ्याट्टी लिभर देखिँदैमा आत्तिहाल्नुपर्दैन । तर फ्याट्टी लिभरलाई अति सामान्य मानेर लामो समयसम्म बेवास्ता गर्नु पनि हुँदैन । कलेजोमा बोसोसँगै सुन्निने समस्या र क्षति बढ्दै गएमा केही व्यक्तिमा समयक्रमसँगै कलेजोमा दागजस्तो तन्तु बन्ने अवस्था (फाइब्रोसिस) विकसित हुन सक्छ ।

यो गम्भीर हुँदै गएमा सिरोसिस सम्म पुग्न सक्छ । सिरोसिस उन्नत चरणमा पुग्दा कलेजोले काम गर्न छोड्ने, कलेजेमा क्यान्सर हुनेजस्ता गम्भीर जटिलता पनि देखिन सक्छन् ।

यसको अर्थ फ्याट्टी लिभर भएका सबै व्यक्ति यही खतरनाक अवस्थासम्म पुग्छन् भन्ने होइन ।

व्यक्ति, रोगको प्रकार, कलेजोमा भएको क्षतिको अवस्था, तौल, मधुमेह तथा अन्य मेटाबोलिक समस्यालगायत जस्ता कुराले जोखिम कति हुन्छ भन्ने कुरा निर्धारण गर्छ ।

त्यसैले समयमै कारण पहिचान गर्ने, खानपान सुधार्ने, नियमित शारीरिक गतिविधि गर्ने, तौल आवश्यकताअनुसार व्यवस्थापन गर्ने र चिकित्सकको सुझावअनुसार परीक्षण तथा उपचारमा ध्यान दिने हो भने जोखिम घटाउन र स्वास्थ्यलाई सही दिशामा लैजान सकिन्छ ।

यी सबै कुरा गरिसकेपछि एउटै सारमा हामी आइपुग्छौँ ।

आहारसम्भवं वस्तु रोगाश्चाहारसम्भवाः ।
हिताहितविशेषाच्च विशेषो रोगसंश्रयः ।। (चरक संहिता, सूत्रस्थान २८/४५)

शरीरको निर्माण र रोग दुवैमा आहारको महत्त्वपूर्ण भूमिका हुन्छ । हितकर र अहितकर आहारअनुसार स्वास्थ्य र रोगको अवस्था फरक पर्न जान्छ । त्यसैले आजैदेखि खानपानमा सावधानी अपनाउन थालौँ ।

(आयुर्वेद चिकित्सक साउद भारतको जिना सिखो फाउण्डेशनको नेपालस्थित शाखा शुद्धीग्राम नेपाल (एकीकृत अस्पताल)मा कार्यरत छिन् )

आयुर्वेद फ्याटी लिभर
लेखक
डा. सुष्मा साउद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय