News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ दिल्लीमा भदौ २७ र २८ गते हुने ब्रिक्स शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेता सहभागी हुँदैछन्।
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुने भएकाले दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ।
- दिल्लीमा करिब ३० हजार सुरक्षाकर्मी, १०० भन्दा बढी एनएसजी कमान्डो र स्वाट टोली तैनाथ गरिएको छ।
२६ भदौ, काठमाडौं । नयाँ दिल्लीमा भदौ २७ र २८ गते हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सहभागी हुँदैछन्।
सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियान जस्ता उच्च सुरक्षा जोखिम भएका नेताहरू सहभागी हुने भएकाले नयाँ दिल्लीमा आकाशदेखि सडकसम्म कडा सुरक्षा व्यवस्था गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, विश्वका शक्तिशाली नेताहरूको सुरक्षाका लागि तयार पारिएको विशेष व्यवस्था सुनिश्चित गरिएको छ ।
होटल र बासस्थान व्यवस्थापन
विदेशी पाहुनाहरूका लागि सेन्ट्रल दिल्लीका १२ देखि १५ वटा प्रिमियम ५-तारे होटलहरूमा करिब ३५०० कोठाहरू तयार गरिएका छन्।
रुसी राष्ट्रपति पुटिन आईटीसी मौर्यामा बस्नेछन् भने चिनियाँ राष्ट्रपति सी जिनपिङको टोली ताज प्यालेसमा बस्नेछ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा द ललित, इरानी राष्ट्रपति मसुद पेजेस्कियान द ओबेरोय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसी शेराटन नयाँ दिल्लीमा बस्नेछन्।
यूएईका क्राउन प्रिन्स खालिद बिन मोहम्मद अल नाह्यान द लीला प्यालेस र ब्राजिलका विदेशमन्त्री माउरो भिएरा द इम्पेरियलमा बस्नेछन्।
यी लग्जरी होटलहरूको एक रातको भाडा ३० हजारबाट बढेर २ लाख रुपैयाँभन्दा माथि पुगेको छ र सेप्टेम्बर १२-१३ का लागि धेरै होटलले सामान्य बुकिङ बन्द गरेका छन्।
ट्राफिक र सडक प्रतिबन्ध
इन्दिरा गान्धी विमानस्थलदेखि कार्यक्रम स्थल भारत मण्डपमसम्मका ३५ भन्दा बढी मुख्य सडकहरूमा प्रतिबन्ध लगाइएको छ।
कनाट प्लेस, पटेल चोक लगायत २२ ठाउँमा सवारीसाधनको मार्ग परिवर्तन (डाइभर्सन) गरिएको छ।
सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीमा एक प्रकारको लकडाउन लागू हुनेछ, जसमा सरकारी कार्यालय, विद्यालय र अदालतहरू बन्द रहनेछन्।
३० हजारभन्दा बढी सुरक्षाकर्मी र कमान्डो परिचालन
भारतीय सञ्चार माध्यमहरूले सरकारी अधिकारीहरूलाई हवाला दिँदै प्रेसित गरेका समाचाहरूका अनुसार, दिल्लीमा अर्धसैनिक बलका २०० कम्पनीसहित करिब ३० हजार सुरक्षाकर्मी र ४८०० ट्राफिक प्रहरी परिचालन गरिएको छ।
विशेष सुरक्षाका लागि १०० भन्दा बढी एनएसजी कमान्डो र दिल्ली प्रहरीको स्वाट टोली तैनाथ गरिएको छ।
सुरक्षा चुनौती आइपरे तत्काल खटाउन १० हजारभन्दा बढी सुरक्षाकर्मीलाई स्ट्यान्डबाइमा राखिएको छ।
सम्मेलनअघि एनएसजी र स्वाटले अपरेसन ब्रिक्स कवच अन्तर्गत विभिन्न स्थानमा सुरक्षा अभ्यास (मर्क ड्रिल) समेत गरेका छन्।
हवाई तथा साइबर सुरक्षा
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीको ३०० किलोमिटर दायराभित्र साना विमान र यूएभी उडानमा प्रतिबन्ध लगाएको छ।
१०० किलोमिटरको दायरामा ड्रोन, प्याराग्लाइडर र साना हवाई उपकरण उडाउन रोक लगाइएको छ।
भारत मण्डपम र भीभीआईपी मार्गहरूमा डीआरडीओले बनाएको एन्टी-ड्रोन प्रणाली र इलेक्ट्रोनिक ज्यामरहरू जडान गरिएको छ।
सम्भावित साइबर आक्रमण र ह्याकिङ रोक्न मल्टि-एजेन्सी सेन्टर सक्रिय पारिएको छ र आर्टिफिसियल इन्टेलिजेन्सजडित फेस-रिकग्निसन क्यामेराहरूबाट निगरानी भइरहेको छ।
व्यक्तिगत सुरक्षा र विशेष कार
रुसी राष्ट्रपति पुटिन आयोजक देशमा पुग्नुअघि नै उनको विशेष भान्से (सेफ), मोबाइल ल्याब, टेलिफोन बुथ र व्यक्तिगत शौचालय त्यहाँ पुगिसक्नेछ।
पुटिनले आफ्नो सुरक्षाका लागि बुलेटप्रुफ र ब्लास्ट-रेजिस्टेन्ट ओरस सेनेट कार प्रयोग गर्नेछन्, जसमा विशेष रुफ डिजाइन र सिग्नल ज्यामिङ सुविधा छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले विदेश भ्रमणमा प्रयोग गर्ने विशेष बख्तरबन्द कार होङ्की एन७०१ विमानमार्फत ल्याइनेछ।
जिनपिङको उक्त कार रकेट आक्रमण र स्नाइपर हमलाबाट बचाउन सक्ने क्षमताको छ र यसले ८.५ सेकेन्डमै १०० किमी प्रतिघण्टाको गति लिन सक्छ।
पुटिन र जिनपिङ दुवैको सुरक्षाका लागि उनीहरूसँग कम्तीमा १०० जना एजेन्ट र बडीगार्डहरूको टोली सँगै आउनेछ र उनीहरूलाई ४-तहको सुरक्षा प्रदान गरिनेछ।
(भारतीय सञ्चार माध्यमहरूको सहयोगमा)
प्रतिक्रिया 4