News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय धनकुटाले कार्यालय भवनभित्रको बोर्डमा बखतवारसिंह बस्न्यातलाई धनकुटा गौंडाको पहिलो प्रशासक लेखेको छ, तर लेख तथ्यहीन भएको दाबी गरिएको छ।
- ऐतिहासिक प्रमाणका आधारमा कर्णेल भक्तवीर थापा धनकुटा मुकाममा तैनाथ भई प्रशासन चलाएकाले उनलाई धनकुटा गौंडाको पहिलो प्रशासक मानिएको छ।
- लेखमा बखतवारसिंह बस्न्यात वि.सं. १८४८, १८६८, १८७१ र १८७२ मा क्रमशः चैनपुर, जुम्ला, श्रीनगर र डोटीमा सक्रिय रहेको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय, धनकुटाको कार्यालय भवनभित्र भित्तामा एउटा ठूलो बोर्ड राखिएको छ। ‘धनकुटा गौंडाका प्रशासक’ शीर्षकको उक्त बोर्डमा वि.सं. १८६८ देखि २०२४ सालसम्म धनकुटामा रहेर प्रशासन चलाएका ३३ जना प्रशासकको नाम उल्लेख छ।
शुरुमा ‘गभर्नर’ भनेर बखतवारसिंह बस्न्यातको नाम उल्लेख छ भने अन्तिममा वि.सं. २०२४ मा प्रशासन चलाएको भनी तत्कालीन सहायक अञ्चलाधीश विद्यानाथ पोखरेलको नाम उल्लेख गरिएको छ।
धनकुटा गौंडाका पहिलो प्रशासक भनी उल्लेख गरिएका बखतवारसिंह बस्न्यातको कार्यकाल वि.सं. १८६८–७८ गरी १० वर्ष उल्लेख गरिएको छ। यहाँ उल्लेख गरिएको ‘बखतवारसिंह’ को नाम इतिहासका पुस्तक तथा ऐतिहासिक अभिलेखहरूमा भने ‘बख्तावरसिंह’ वा ‘बखतवारसिंह’ उल्लेख छ।
नरभूपाल शाहकै समयदेखि गोरखा राज्यमा सेवा गरेका भारदार शिवरामसिंह बस्न्यातका चारमध्ये माहिला छोरा केहरसिंह बस्न्यातका तीन छोरामध्ये कान्छा हुन्- बखतवारसिंह बस्न्यात (हनुमानसिंह बस्न्यात र पूर्णमानसिंह बस्न्यात, ‘श्रीपाली बस्न्यात परिचय (इतिहास र वंशावली)’–२०५८:१५७)।
स्वामी महाराज रणबहादुर शाह बनारसवासमा रहेका बेला तत्कालीन बालक राजा गीर्वाणयुद्धविक्रम शाहको नायवी लिएर शासन चलाइरहेकी रानी सुवर्णप्रभाको कालमा मूल काजी रहेका कीर्तिमानसिंह बस्न्यातको हत्यापछि बखतवारसिंह बस्न्यातलाई मूल काजी दिइएको थियो। उनलाई ‘धनकुटा गौंडाको पहिलो प्रशासक’ भनी जिल्ला प्रशासन कार्यालय, धनकुटाले बोर्डमा नाम उल्लेख गरेको छ।
जिल्ला प्रशासन कार्यालय, धनकुटाले गौंडाका प्रशासकहरूको इतिहास खोजी गर्ने क्रममा कानून व्यवसायी समेत रहेका इतिहास विषयका प्रा.डा. गोपालबहादुर भट्टराईको पुस्तक ‘धनकुटा गौंडाको इतिहास’ (२०६८) लाई आधार बनाएर बोर्डमा बखतवारसिंह बस्न्यातको नाम अङ्कित गरेको हुन सक्छ। भट्टराई (२०६८:७६) ले आफ्नो पुस्तकमा ‘बख्तावरसिंह बस्नेत धनकुटामा प्रथम गभर्नर बनेर आए। सो समय दूधकोशीपूर्वको सम्पूर्ण क्षेत्र धनकुटा जिल्लाअन्तर्गत कायम राखी धनकुटाबाट प्रशासन चल्थ्यो’ भनी उल्लेख गरेका छन्।
तर बखतवारसिंह बस्न्यात धनकुटा गौंडाको प्रशासक भएर यहाँ पाइला टेकेको कुनै प्रमाण हालसम्म भेटिएको छैन। बरु उनको कार्यकाल तोकेर उल्लेख गरिएको समयमा बखतवारसिंह बस्न्यात कतातिर सक्रिय थिए ? अब यसबारे ऐतिहासिक प्रमाण सहित चर्चा गरौं।
कता सक्रिय थिए बखतवारसिंह ?
बखतवारसिंह बस्न्यात वि.सं. १८४८ मा पूर्वी नेपालको चैनपुरमा आएका थिए। उनले चैनपुर मुकाममा रहेर केही समय प्रशासन चलाएका थिए। त्यस समय विजयपुर र चैनपुर गरी दुई ठाउँबाट पूर्वी नेपालको प्रशासन चल्थ्यो।
वि.सं. १८४८ मा चैनपुरमा लिम्बूहरूले सिक्किमे र लेप्चाहरूसँग मिलेर विद्रोह गर्दा त्यसलाई दबाउन उनी त्यसतर्फ खटिएका थिए। उनले आफ्नो काम र कीर्तिको चिरस्मरणका लागि त्यहाँ बगैंचा तथा हिटीहरू निर्माण गरेका थिए। उनको बगैंचालाई चैनपुर बजारमा ‘मनराजी बगैंचा’ भनिन्छ।

उनका सन्तानहरूले त्यसैलाई स्मरण गर्दै चैनपुर बजारमा एउटा पाटी निर्माण गर्न लगाए। यो पाटी ‘मेजर पाटी’ भनेर चिनिन्छ। ती हिटी र बगैंचा अस्तित्वमा छैनन्; तर बटुवालाई बस्न सजिलो अनि बगैंचा र हिटीको रेखदेख गर्न सजिलो होस् भन्ने मनसायले उनका सन्तानले पाटी निर्माण गराए।
पाटीको बाहिर पेटीमा शिलालेख राखिएको छ। शिलालेखमा ‘श्रीसंवत् १८४८ सालमा पूर्व देशका पल्ला किरातमाः वैरीले कुल गर्दा १ सर्दार कहरसिंह बस्न्यातका कान्छा छोरा काजी बषतवारसिंह बस्न्यातलाई कंपनि लि गै कुल गर्यो वैरीलाई मारी तेस मूलक बन्दोवस्त गरी आः भनी हुकुम वक्सदा प्रभुको हुकुम सिर चह्राई कंपनि लि गै सिधिपुरमा वैरिसंग लडाई गर्या’ भन्ने उल्लेख छ (डा. सोमप्रसाद खतिवडा, ‘अभिलेख’ पूर्णाङ्क ३१–२०७०:२०–२३)।
वि.सं. १८४८ को लिम्बूहरूको विद्रोह दबाइएको बारे दरबारमा उनले पठाएको अर्जी पनि पढ्न पाइन्छ। अगहन (मङ्सिर) सुदी १ रोज ६ मा लेखिएको अर्जीमा ‘यसै देशबाट भागी गयाका किराती. लिम्वु. लापच्या. भोट्या. छन् अडिन्या जगा गाउँ भै रहेछ. इन्को सेषि नझारंजी. सुषिम वस्न. दिन्या छैन. नौ दस दिनको बाटो उजार. रहला जो मर्जि. उप्रान्त चयनपुर आई पुग्याको र. चयनपुरदेषि हिड्याको. भोट्या तिष्टा पारी गयाको’ भन्ने परेको छ (भगिराज इङ्नाम, ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’–२०७७:५९९)।
बखतवारसिंह चैनपुर मुकाममा रहेर प्रशासन चलाइरहेको बेला विजयपुर मुकाममा रहेर सुब्बाद्वय दिनानाथ उपाध्याय र पूर्णानन्द उपाध्यायले पूर्वी नेपालको प्रशासन चलाइरहेका थिए (ज्ञानमणि नेपाल, ‘नेपाल निरुक्त’–२०७४:२८१)। त्यो समयमा धनकुटा प्रशासनिक केन्द्रका रूपमा स्थापित भइसकेको थिएन।
चैनपुरको प्रशासनपछि बखतवारसिंह केन्द्रीय राजनीतिमा छाए। स्वामी महाराज रणबहादुर शाह बनारसतिर हिंडेपछि उनलाई पछ्याउँदै जेठी रानी राजराजेश्वरी पनि बनारस प्रस्थान गरिन्। शासनसत्ता नायव रानी सुवर्णप्रभाको हातमा आउँदा उनले कीर्तिमानसिंहलाई मूल काजीको जिम्मेवारी दिएकी थिइन्। तर वि.सं. १८५८ असोज वदी ६ मा कीर्तिमानसिंहको हत्या भयो। खाली भएको मूल काजीमा रानी सुवर्णप्रभाले उनकै भाइ बखतवारसिंहलाई जिम्मेवारी दिइन् (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२:४८–४९)।
त्यसको एक वर्षपछि रानी राजराजेश्वरीको स्वदेश प्रत्यागमन भयो। रानी सुवर्णप्रभा थुनामा परिन्। शक्तिमा आएकी रानी राजराजेश्वरीले दामोदर पाँडेलाई मूल काजी तोकिन् (नेपाल, २०५२:५२–५३)। त्यसपछि पजनीमा परेका बखतवारसिंह केन्द्रीय राजनीति र प्रशासनबाट अलि ओझेल पर्दै गए पनि उनलाई प्रशासनको जिम्मेवारीबाट अछुतो भने राखिएको थिएन।
वि.सं. १८६० मा रणबहादुर शाह बनारसबाट फर्केपछि भीमसेन थापा शक्तिमा आए। वि.सं. १८६३ वैशाख १४ गते रणबहादुर शाहको हत्या हुँदा बखतवारसिंह खोटाङमा थिए। माझकिरातमा अशान्ति भएकाले त्यहाँ शान्ति स्थापना गर्न उनलाई भीमसेन थापाकै योजनामा खोटाङ पठाइएको थियो (डा. विनोद थापा, ‘नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरूको योगदान’–२०७४:१२२)।
उनी अशान्त माझकिरातमा शान्ति स्थापनाका लागि खोटाङतिर खटिएको वि.सं. १८६४ को पत्र पाइएको छ। वैशाख सुदी १२ रोज ५ मा खोटाङमा रहेका उनलाई काठमाडौंबाट काजी भीमसेन थापा र काजी रणध्वज थापाले लेखेको पत्रमा ‘मुलुकमा विथिति भै उजर्हुन लागे छ. षान्गी पनि लेष्या वमोजीं उठन्या रहेन छ. कुन्हाँलाई पनि चयनपुर १ कंपनिले चौडंडीमा माझ किराँतका कम्पनिले षोटांगमा वस्या उता सुषिम विजैपुर हर्चन्गढि र येता नराहगढि मछ्यरेषा सम्म सर्वत्रको षबर्दारी रहन्या रहेछ’ भन्ने उल्लेख छ (योगी नरहरिनाथ, ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह’ भाग १–२०५५:१८०)।
काठमाडौं केन्द्रमा भीमसेन थापा शक्तिशाली हुन थालेपछि पुराना भारदारहरूलाई केन्द्रबाट अन्यत्र पठाउने कार्य उनले गरेका थिए। सोही क्रममा वि.सं. १८६७–६८ तिर उनले पुराना भारदारहरूमध्येबाट बम शाहलाई कुमाउँ, बडाकाजी अमरसिंह थापालाई बाह्रठकुराई र बखतवारसिंह बस्न्यातलाई जुम्लाको हाकिम बनाएर पठाएका थिए (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ७९–फागुन २०४७:४०)।
यसैगरी वि.सं. १८७१–७२ मा नेपाल र अङ्ग्रेज बीचको युद्धको बेला बखतवारसिंह बस्न्यात आफ्नो मातहतका फौजका साथ पश्चिम मोर्चाको श्रीनगरमा खटिएका थिए। यस सम्बन्धी दुई ऐतिहासिक पत्र इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ३ (कात्तिक २०२१:७१) मा प्रकाशित गरेका छन्।
तीमध्ये नालापानीका योद्धाहरूले युद्धको वर्णन गर्दै वि.सं. १८७१ पुस वदी १२ रोज १ मा श्रीनगरबाट जनरल काजी भीमसेन थापा र काजी रणध्वज थापालाई पठाएको पत्रमा ‘हामि जो घायल भएका जति थ्यूं. श्रीनगर आई पुगदा श्रीकाजि वषतावरसिंह वस्न्यातबाट वैद्य लगाई सवै वोषति दी संभार गर्नु भयाको छ. १० कम्पनि तयार गरी जगाजगामा वाटाघाटा चौकसी राषनुभयाको रहेछ’ भन्ने परेको छ।
यस्तै अर्को वि.सं. १८७१ माघ वदी ८ रोज ५ मा राजा गीर्वाणयुद्धविक्रम शाहले योद्धाहरूलाई हौसला दिंदै लेखेको रुक्कामा ‘मूलुकमा कुइर्याले हंगामा गर्दा काजि बषतावारसिं बस्न्यात मार्फत सुवेदारि दर्शन गरि कम्पनि षडा गरि गौडा घाटा रोकि वनाई आफ्नु मजवुति गर्न्या वढिया गरेछौ’ भन्ने परेको छ।
शक्तिको अभाव भएकाले युद्धमा पार नलाग्ने भएपछि बडाकाजी अमरसिंह थापाले अङ्ग्रेजसँग वि.सं. १८७२ जेठ ४ गते सम्झौता गरी पश्चिम किल्ला अङ्ग्रेजलाई छाडिदिए (मोहन मैनाली, ‘मुकाम रणमैदान’–२०८१:१५२)। त्यसपछि युद्धमोर्चा छाडी नेपाली सेनानायकहरू धमाधम नेपालको अधीनमा रहेका स्थानमा आउन थाले। त्यो बेला बखतवारसिंह डोटी आएर अडिएका थिए (मैनाली, २०८१:२६५)।
वि.सं. १८६८ मा जुम्लामा रहेका र वि.सं. १८७१ मा महाकाली पश्चिम श्रीनगरमा सक्रिय रहेका काजी बखतवारसिंह बस्न्यात वि.सं. १८७२ मा डोटीमा अडिएर बसेको प्रमाणित भएबाट त्यो समयमा उनी धनकुटा गौंडाको प्रशासक हुन सम्भव हुने कुरै भएन।
डोटीबाट बखतवारसिंह धनकुटा आएको कुनै प्रमाण पनि छैन। त्यसैले जिल्ला प्रशासन कार्यालय, धनकुटाले आफ्नो कार्यालय भवनभित्रको भित्तामा टाँसेको बोर्डमा ‘धनकुटा गौंडाको प्रशासक’ भनेर बखतवारसिंह बस्न्यातको नाम उल्लेख गरेको छ, त्यो अप्रामाणिक र तथ्यहीन छ।
को हुन् धनकुटाका पहिलो प्रशासक ?
लामो समय धनकुटा पूर्वी नेपालको प्रशासनिक केन्द्रका रूपमा स्थापित थियो। तर धनकुटा प्रशासनिक केन्द्र हुनुअघि दक्षिणतर्फ विजयपुर र उत्तरतर्फ चैनपुर मुकामबाट पूर्वी नेपालको प्रशासन चल्थ्यो। पछि चैनपुर र विजयपुरलाई विस्थापित गर्दै पूर्वी नेपालको प्रशासनिक केन्द्रका रूपमा धनकुटा स्थापित हुन पुग्यो।
अहिलेसम्म प्राप्त ऐतिहासिक प्रमाण अनुसार नेपाल–अङ्ग्रेज युद्धको समय नेपाली सेना तैनाथ गरिएपछि मात्र धनकुटाले प्रशासनिक केन्द्रका रूपमा गुल्जार हुने अवसर पाएको देखिन्छ।
अङ्ग्रेजले नेपालमा धावा बोलेपछि विजयपुर, मकवानपुर, पाल्पा क्षेत्र र सुदूरपश्चिमको कुमाउँ, गढवाल क्षेत्रमा नेपाली सेना तैनाथ गरिएको थियो (डा. सुरेन्द्र केसी, “गोर्खाभर्ती : कथा, व्यथा र आन्दोलन”–२०६२:२०–२१)। पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या २४ (साउन २०३०:१६) मा ‘अङ्ग्रेजसँग युद्ध लड्न पूर्व विजयपुर, धनकुटामा श्रीजङ्ग, मेहर पल्टन लिई काजी भक्तवीर थापा, काजी बालनरसिंह कुँवर, बहादुर भण्डारी र अरू भारदारहरू डटे’ भन्ने उल्लेख छ।
यो तथ्यलाई हेर्दा त्यो समयमा धनकुटामा तैनाथ रहेको पल्टनको जसले नेतृत्व गरेको थियो, उनै पदाधिकारी नै धनकुटाको पहिलो प्रशासक हुन् भन्न सकिने अवस्था छ। यसका लागि धनकुटा मुकामबाट काठमाडौंमा पत्राचार गर्ने काजी भक्तवीर थापालाई धनकुटा गौंडाका पहिलो प्रशासकका रूपमा लिन सकिन्छ। पूर्वतर्फ तैनाथ नेपाली सेनाको नेतृत्व उनैले गरेका थिए।

भक्तवीर थापाले वि.सं. १८७२ साउन सुदी १२ रोज ४ मा धनकुटा मुकामबाट काठमाडौं केन्द्रमा रहेका आफ्ना दाजु काजी रणध्वज थापालाई लेखेको पत्रको छायाप्रति सुशीलविक्रम थापाले ‘ऐतिहासिक अभिलेख सङ्ग्रह, विशेषतः भीमसेन थापाकालीन’ (२०८१:२६३) मा प्रकाशित गरेका छन्।
भक्तवीर पूर्वतर्फ भए पनि यो पत्रमा पश्चिम नेपालतिरको मोर्चाका बारेमा चर्चा गरिएको छ। पत्रमा आफ्ना बुबा बडाकाजी अमरसिंह थापाको व्यवस्थापनबारे पनि सरसल्लाह गरेका छन्। पत्रमा ‘यस तरफलाई श्रीजङ्…श्रीजङ् मिलाउनको लागि अघि लेषतआयाथ्यो…’ भन्ने परेबाट उनी धनकुटामा श्रीजङ्ग पल्टनसँगै तैनाथ हाकिमी लिएर धनकुटामा मुकाम गरेका थिए भन्ने स्पष्टै बुझिन्छ।
त्यो बेला उनका सहायक भएर काजी बालनरसिंह पनि धनकुटा मुकाममा तैनाथ थिए। उनले धनकुटा मुकामबाट जनरल भीमसेन थापालाई अङ्ग्रेज विरुद्धको युद्धमा चीनसँग सहयोग माग्न भदौ वदी १२ रोज ४ मा लेखेको अर्जी (मोहन मैनाली, ‘मुकाम रणमैदान’–२०८०:२५०) पाइएको छ। पात्रोमा भिडाउँदा भदौ वदी १२ रोज ४ तिथि वि.सं. १८७२ साल पर्छ।
थापा र कुँवर दुवैलाई काजी मान दिइए पनि सैन्य पदमा थापाको दर्ज्यानी कर्णेल र कुँवरको दर्ज्यानी कप्तान थियो। यही हैसियतमा उनीहरूले आठराई थुमका लिम्बू सुब्बाहरू राजगुन्द राय, टटुवा राय, किदाहाङ राय तथा आंपु रायलाई हाङपाङको सिसाखानीमा काम गर्न/गराउन वि.सं. १८७२ असार सुदी १ रोज ६ मा लेखेको पत्रको छायाप्रति यो लेखकले इतिहासकार भगिराज इङ्नामको सौजन्यबाट प्राप्त गरेको छ।
यी तथ्यहरूबाट धनकुटा गौंडाको पहिलो प्रशासक बखतवारसिंह बस्न्यात नभई कर्णेल भक्तवीर थापा हुन् भन्ने स्पष्ट हुन्छ। सोही अनुसार जिल्ला प्रशासन कार्यालय, धनकुटामा राखिएको बोर्डमा लेखिएको नाम संशोधन हुनु जरुरी छ। उनका सहायक बालनरसिंह कुँवर पछि वि.सं. १८८५ मा काजी जसपाउ थापालाई बिदाइ गर्दै धनकुटा गौंडाको प्रशासन सम्हाल्न पुगेका थिए।
कर्णेल भक्तवीर थापाले धनकुटा मुकाममा प्रशासनको जग बसाए पनि त्यसलाई बलियो बनाउने काम उनीपछि त्यहाँ पुगेका प्रशासकहरूले गरेका थिए। तीमध्ये काजी जसपाउ थापा एक हुन्। त्यहाँ उनले कोतखाना स्थापना गर्दा राखेको शिलालेख इतिहासको साक्षी बनेर उस्तै गरी ठडिएर रहेको छ।
इतिहासकार शङ्करमान राजवंशीले ‘पुरातत्त्व पत्र सङ्ग्रह’ तेस्रो भाग (२०२०:३९–४०) मा शिलालेख उतार गर्दा यसको तिथि वि.सं. १८७९ असार सुदी १० रोज ६ उल्लेख गरेका छन्।
जसपाउ थापाअघि काजी बहादुर भण्डारी विजयपुर हुँदै धनकुटा पुगेका थिए। त्यहाँ पुगेका भण्डारीलाई पहाडी भेगको प्रशासनिक स्थिति सम्हाल्न वि.सं. १८७५ फागुन वदी ६ रोज ३ मा जनरल भीमसेन थापाले लेखेको पत्र इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुपण’ (२०५५:२६९–७०) मा प्रकाशित गरेका छन्।
वि.सं. १८७६ भदौ वदी ५ रोज ३ मा तत्कालीन राजाबाट धनकुटामा खटिएका काजी बहादुर भण्डारीको नाममा लेखिएको रुक्कामा “धनकुटाका… पुजा अक्षता धूप वाति निमित्य. तेसै जगामा ७६ सालमा झाराले का विह्रौटा मध्ये पार्सि मुरि। २० साधन्यको पधेर्या मुरि। २० जम्मा षेतमुरि। ४० गुठ राषि बक्स्यौं” (योगी नरहरिनाथ, ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १’–२०५५:३०४) भन्ने उल्लेख भएकाले उनले त्यहाँ रहँदा भीमसेनस्थानको गुठी पनि खडा गरिदिएको देखिन्छ।
यस्तै उनले वि.सं. १८८१ मा भीमसेनस्थानमा सत्तल बनाउँदा राखेको शिलालेख इतिहासको साक्षी बनेर अहिले ठडिएकै छ। यताबाट हेर्दा वि.सं. १८७५ देखि १८८१ सम्म काजी बहादुर भण्डारीको सक्रियता धनकुटामा देखिन्छ। सम्भवतः काजी जसपाउ थापा त्यहाँका प्रशासक भएर गएपछि भण्डारी उनका सहायक भएर बसे। त्यसैले कर्णेल भक्तवीर थापापछि धनकुटा गौंडाको प्रकाशक काजी बहादुर भण्डारी हुन् भन्ने पनि देखिन्छ।
को हुन् कर्णेल भक्तवीर ?
भक्तवीर थापा बडाकाजी अमरसिंह थापाका छोरा हुन्। इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ५८ (चैत २०४०:५८) मा पशुपतिमा बडाकाजीले चढाएको चाँदीको ढोकामा राखिएको अभिलेखका आधारमा उनको वंशलता प्रकाशमा ल्याएका छन्।
वि.सं. १८७१ मा चढाइएको उक्त अभिलेख अनुसार अमरसिंह थापाका धर्मावती, रुद्रावती, धर्मदेवी र लालवती गरी चार जना पत्नी थिए। उनीहरूबाट १० भाइ छोरा जन्मे। तीमध्ये साहिंली पत्नी धर्मदेवीबाट जन्मेका काहिंला छोरा हुन् भक्तवीर। उनी बडाकाजीका सातौं छोरा हुन्।
नेपाल–अङ्ग्रेज युद्ध सकिएपछि भक्तवीर काठमाडौं केन्द्रमा फर्केका थिए। त्यसपछि उनी वि.सं. १८७३ असोज–कात्तिकमा नेपाली दूतमण्डलको प्रतिनिधि भएर चीन गएका थिए (डा. इन्दिरा जोशी, ‘आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान’–२०६३:९४)।
यताबाट हेर्दा उनले राष्ट्रसेवाका लागि सैन्य र प्रशासनिक मात्रै होइन, कूटनीतिक भूमिका पनि निर्वाह गरेको देखिन्छ।
प्रतिक्रिया 4