+
+
Shares

चालकले सडकमै छाडेर भागे, घाइते वृद्ध अस्पताल नजिकै मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ११:५०
चालक अर्जुन भगत ।

२८ भदौ, विराटनगर । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिलाई उपचारका लागि लैजाने भन्दै हिँडेका चालकले सडकमै छाडेर फरार भएपछि वृद्धको मृत्यु भएको छ ।

आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी ठक्कर दिने सफारीमा राखेर उपचारका लागि कोशी अस्पताल पठाएका थिए । तर, चालकले घाइते बस्नेतलाई अस्पताल पुर्‍याएनन् । विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भए ।

मालपोत कार्यालय कोशी अस्पताल नजिकै छ । बिहान सिमसिम पानी परिरहेको समयमा मालपोत कार्यालयनजिकै बस्नेत मृत अवस्थामा भेटिएका थिए । सुरुमा पहिचान खुलेको थिएन । पहिचान खुलेपछि बास्तविकता बाहिर आएको हो ।

घटनालगत्तै प्रहरीले सिटी सफारीसहित फरार चालकको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा आइतबार बिहान करिब ८:३० बजे चालक ५५ वर्षीय अर्जुन भगत मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका भगतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?