+
+
Shares

फिनटेक प्रणालीको विकासका लागि राष्ट्र बैंकले ल्यायो ५ वर्षे रणनीति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन हुने डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति तयार गरेको छ।
  • रणनीतिले फिनटेक पूर्वाधार, प्रभावकारी नियमन र फिनटेक प्रणाली विकासमार्फत सुरक्षित, विश्वसनीय र समावेशी डिजिटल वित्तीय वातावरण बनाउने लक्ष्य राखेको छ।
  • रणनीतिले महिला, बालबालिका, युवा, साना तथा मझौला उद्योगी, ग्रामीण बासिन्दा र गिग अर्थतन्त्रका सहभागीलाई प्राथमिकतामा राखेको छ।

३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा र फिनटेकको विकासका लागि ५ वर्षे रणनीति ल्याएको छ । केन्द्रीय बैंकले फिनटेक पुर्वाधारको विकास, प्रभावकारी नियमन तथा फिनटेक प्रणालीको विकास गर्ने लक्ष्य सहित रणनीति ल्याएको हो ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले नेपालमा भरपर्दो, नविन र समावेशी डिजिटल वित्तीय वातावरण निर्माण गर्ने योजना सहित ‘डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति (२०२६/२७ – २०३०/३१)’ को ढाँचा तयार गरेको छ ।

आर्थिक वर्ष २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयनमा आउने उक्त रणनीतिले डिजिटल वित्तीय सेवा र फिनटेक क्षेत्रको प्रवर्द्धन, नियमन र सुदृढीकरण गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य रहेको केन्द्रीय बैंकले जनाएको छ ।

रणनीतिले सुरक्षित, विश्वसनीय, समावेशी, नवप्रवर्द्धनात्मक डिजिटल वित्तीय प्रणालीको परिकल्पना गरेको छ । यसले वित्तीय पहुँच र प्रयोगको दायरा बढाउँदै जिम्मेवार फिनटेक सेवालाइ प्राथमिकता दिनेछ ।

त्यसैगरी, प्रविधि–मैत्री नीति, प्रभावकारी नियमन, सबल डिजिटल पूर्वाधार र सरोकारवालाहरूबीचको सहकार्यमार्फत ग्राहकको विश्वास जित्नु तथा दिगो आर्थिक वृद्धि हासिल गर्नु यस रणनीतिको प्रमुख उद्देश्य रहेको केन्द्रीय बैंकले जनाएको छ ।

रणनीनीतिका मुख्य तीन स्तम्भहरू छन् । पहिलो पूर्वाधार विकास, दोस्रो नीति, नियमन र सुशासन तथा तेस्रो फिनटेक प्रणालीको विकास रहेको छ । नियमन र सुपरीवेक्षण पर्यवेक्षण प्रक्रियालाई विधिमैत्री र स्वचालित बनाउने योजना रणनीतिको छ ।

त्यसैगरी फिनटेक–मैत्री कानूनी तथा नियामक ढाँचाको विकास गर्ने योजना रहेको छ । बजारमा फिनटेक व्यवसायीहरूका लागि समान अवसर सिर्जना गर्ने, सुरक्षित र उत्थानशील डिजिटल वित्तीय सेवा प्रवाह सुनिश्चित गर्ने रणनीको उद्देश्य रहेको केन्द्रीय बैंकले जनाएको छ ।

साथै नयाँ तथा परिष्कृत वित्तीय उत्पादनहरू प्रवर्द्धन गर्ने योजना रणनीतिको छ । नवप्रवर्तनलाई सहयोग पुर्‍याउने तथा ग्राहकहरूको डिजिटल वित्तीय साक्षरता र सशक्तिकरणमा जोड दिने रणनीतिमा उल्लेख छ ।

नियामक निकाय र सरोकारवालाहरूबीच समन्वय, सहकार्य तथा क्षमता अभिवृद्धि गर्न पनि आवश्यक रहेको रणनीतिले औंल्याएको छ। रणनीतिले डिजिटल वित्तीय सेवाको पहुँच विस्तार, बजारमा प्रतिस्पर्धा अभिवृद्धि, लागतमा कमी, र वित्तीय स्थायित्वका जोखिमहरू सम्बोधन गर्ने उद्देश्य लिएको छ ।

यस कार्यक्रमले विशेष गरी महिला, बालबालिका, युवा, साना तथा मझौला उद्योगी, ग्रामीण क्षेत्रका बासिन्दा, गिग अर्थतन्त्रका सहभागी, फिनटेक कम्पनीहरू र डिजिटल वित्तीय सेवा प्रयोगकर्ताहरूलाई प्राथमिकतामा राखेको छ । राष्ट्र बैंकको यो रणनीतिले आगामी पाँच वर्षभित्र देशको डिजिटल अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने र वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?