+
+
Shares

भैरहवामा आयल निगमको तेल चोरी गर्दैगर्दा दुई ट्याङ्कर नियन्त्रणमा

प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले भैरहवाको सराफ आयल सेन्टरबाट दुई ट्याङ्कर नियन्त्रणमा लिएको छ।
  • प्रहरीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ।
  • घटनापछि प्रहरीले ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

३० भदौ, बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए । करिब १० बजे प्रहरीले छापा मार्दा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ । घटनापछि ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

डिपोमाथि प्रश्न

भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुने गरेको दाबी केही निकटस्थ स्रोतले बताएका छन् ।

भलवारी डिपोले सिलको अवस्था नियमित रूपमा जाँच नगरेको तथा आयात भएर आएको पेट्रोलियम पदार्थको पर्याप्त नापजाँच नगरेको ती स्रोतको भनाइ छ ।

भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट यसअघि पनि तेल चोरीका घटना हुने गरेको थियो । पछिल्लो घटनाले पेट्रोलियम पदार्थ ढुवानी, सिल परीक्षण र डिपोमा हुने नापजाँच प्रणालीमाथि समेत प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?