News Summary
Generated by OK AI. Editorially reviewed.- बीसीसीआईले आईपीएल २०२७ को मिनी अक्सन भारतमै आयोजना गर्ने निर्णय मंगलबारको गभर्निङ काउन्सिल बैठकले गरेको छ ।
- अक्सनको सहर फ्रेन्चाइज र प्रतिनिधिमण्डलका लागि आवश्यक आवास तथा पाँचतारे होटलको उपलब्धताका आधारमा तय गरिनेछ ।
- गभर्निङ काउन्सिलले इम्प्याक्ट प्लेयर नियमबारे तत्काल निर्णय नगरी करिब एक महिनापछि फेरि बैठक बस्नेछ ।
३१ भदौ, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल २०२७ को मिनी अक्सन भारतमै आयोजना गर्ने निर्णय गरेको छ ।
क्रिकबजका अनुसार पछिल्ला केही वर्षदेखि विदेशमा हुँदै आएको आईपीएल अक्सनलाई यसपटक भारतमै फर्काउने निर्णय मंगलबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले गरेको हो ।
सन् २०२३ को अक्सन कोचीमा आयोजना भएपछि पछिल्ला संस्करणका अक्सन विदेशमा भएका थिए । दुबई, जेद्दाह र अबुधाबीले पछिल्ला अक्सन आयोजना गरेका थिए ।
तर यसपटक मिनी अक्सन भारतमै गर्ने निर्णय भएको हो । क्रिकबजका अनुसार आगामी वर्षको मेगा अक्सन भने पुनः विदेशमा आयोजना हुन सक्ने सम्भावना छ ।
मिनी अक्सनका लागि आफ्ना प्रतिनिधिमण्डल विदेश लैजाँदा हुने व्यवस्थापकीय र सञ्चालनसम्बन्धी कठिनाइबारे फ्रेन्चाइजहरूले यसअघि नै चासो व्यक्त गरेका थिए । गत वर्ष अबुधाबीमा भएको अक्सनका क्रममा फ्रेन्चाइजहरूले राखेका धारणा बीसीसीआईले समेत ध्यानमा राखेको बताइएको छ ।
त्यसैअनुसार यस वर्षको अक्सनका लागि भारतकै कुनै सहर छनोट गर्ने निर्णय गभर्निङ काउन्सिलले गरेको हो ।
अक्सन आयोजना हुने सहर भने फ्रेन्चाइज र उनीहरूका प्रतिनिधिमण्डलका लागि आवश्यक आवासको उपलब्धताका आधारमा तय गरिनेछ । भारतमा अक्टोबरदेखि डिसेम्बरसम्म विवाहको मौसम रहेकाले उक्त अवधिमा पाँचतारे होटलमा कोठाको उपलब्धतालाई पनि विशेष ध्यान दिइनेछ ।
बीसीसीआईलाई अक्सनका लागि दुई रातका लागि १०० भन्दा बढी कोठा आवश्यक पर्ने बताइएको छ ।
गभर्निङ काउन्सिलको बैठकले आईपीएलमा लागू रहेको इम्प्याक्ट प्लेयर नियमबारे भने तत्काल निर्णय गरेन ।
यस विषयमा अन्तिम निर्णय गर्न करिब एक महिनापछि पुनः गभर्निङ काउन्सिलको बैठक बस्नेछ। उक्त बैठकबाट नियमलाई निरन्तरता दिने वा हटाउनेबारे निर्णय हुने अपेक्षा गरिएको छ।
बीसीसीआईले यसअघि फ्रेन्चाइजहरूसँग इम्प्याक्ट प्लेयर नियमबारे धारणा मागेको थियो । अधिकांश फ्रेन्चाइज नियमको विपक्षमा रहेको बताइएको छ ।
केही टोलीले इम्प्याक्ट प्लेयर नियमलाई ध्यानमा राखेरै आफ्नो टोली निर्माण गरेको भन्दै यसलाई तत्काल हटाउन नहुने धारणा राखेका छन् ।
उनीहरूको मतमा नियम हटाउने निर्णय अर्को वर्षसम्मका लागि सार्नु उपयुक्त हुनेछ।
प्रतिक्रिया 4