News Summary
Generated by OK AI. Editorially reviewed.- सांसदहरूले बलात्कार, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड र रसुवामा बाढीले प्रभावित नागरिकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
- सांसद पूजा चौधरीले गरिमा चौधरीको बलात्कार तथा हत्याका अभियुक्तलाई धरौटी र तारेखमा छाडिएको भन्दै निष्पक्ष छानबिन र कडा कानुनको माग गरिन्।
- सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा नियोजित आक्रमण भएको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठन र दोषीमाथि कडा कारबाही माग गरे।
२ असोज, काठमाडौं । सांसदहरूले बलात्कार तथा हत्या, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड तथा बाढीका कारण प्रभावित नागरिकको अवस्थालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद पूजा चौधरीले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तमध्ये केहीलाई बाल सुधारगृह पठाइएको र अन्यलाई धरौटी तथा तारेखमा छाडिएको विषयमा प्रश्न उठाइन् ।
क्रूर अपराधमा संलग्न व्यक्तिलाई सामान्य धरौटी तथा तारेखमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् । अपराधको प्रकृतिअनुसार कडा सजाय सुनिश्चित गर्न आवश्यक परे कानुन संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
सांसद रुक्मिणी कोइरालाले नवलपरासीको त्रिवेणी–३ मा श्रीमान शेरबहादुर विकले आफ्नी श्रीमतीको खुर्पा प्रहार गरी हत्या गरेको घटनाप्रति दु:ख व्यक्त गरे ।
तीजको व्रत बसेकी श्रीमतीको हत्या भएको उल्लेख गर्दै उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा सजाय दिन माग गरिन् । कोइरालाले कैलालीको धनगढीमा प्रहरी जवानमाथि महिलालाई बलात्कार गरेको आरोप तथा तीन वर्षीया बालिकामाथि भएको बलात्कार र हत्याको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले यस्ता घटनामा संलग्न व्यक्तिमाथि सरकारले के कारबाही गरिरहेको छ भन्ने प्रश्न उठाइन् ।
सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गरे । सर्वोच्च अदालतमा नियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट आक्रमण भएको दाबी गर्दै उनले घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे ।
सर्वोच्च अदालत आफैं वा कुनै दुर्घटनाका कारण क्षतिग्रस्त नभएको दाबी गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले रसुवा जिल्लाका विभिन्न क्षेत्रमा बाढीका कारण सडक, पुल तथा बजारसम्मको आवागमन अवरुद्ध हुँदा स्थानीय नागरिक खाद्यान्न अभावको जोखिममा परेको विषय उठाए ।
भोटेकोशी नदीका कारण बाटो, पुल, सडक तथा अन्य संरचनामा क्षति पुगेपछि आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकालगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उनले बताए ।
अधिकारीले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टरमार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा र औषधि पुर्याउन तथा स्थानीय तहसँग समन्वय गरी सडकमार्ग यथाशीघ्र सञ्चालन गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया 4