News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा–भोटेकोशी बाढीले क्षतविक्षत सडक सम्पर्क पुन:स्थापित गर्न सडक विभाग र सुरक्षाकर्मीले ढुंगे–बेत्रावती खण्डमा डोजर र एक्स्काभेटर चलाइरहेका छन्।
- सडक विभागका अनुसार नुवाकोटको गेर्खुटारसम्म सडक खुलिसकेको छ, सातबिसेमा डेढ किलोमिटर र उत्तरगया मावि–बेत्रावतीबीच करिब ५ सय मिटर सडक बगेको छ।
- फलाखु खोलामा ७५ मिटर बेलिब्रिज राख्ने तयारी भइरहेको छ, जसपछि धुन्चेसम्म सडक खुल्ने र त्यसपछि स्याफ्रुबेसी तथा रसुवागढीतर्फ काम अघि बढ्नेछ।
४ असोज, काठमाडौं । गत १० भदौको रसुवा–भोटेकोशी बाढीका कारण क्षतविक्षत भएको सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास जारी छ । दलदले माटो पन्छाउँदै र चट्टानयुक्त क्षेत्र खोस्रिँदै सडक सम्पर्क पुन:स्थापित गर्न सडक विभागका कर्मचारी तथा सुरक्षाकर्मी सक्रिय छन् ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङ क्षेत्रमा पर्ने सडक, पुल, गाउँ र बजार क्षेत्र तहसनहस पारेको थियो । हाल डोजर र एक्स्काभेटर प्रयोग गरी ढुंगे–बेत्रावती खण्डमा सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास भइरहेको छ ।
सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता शुभराज न्यौपानेका अनुसार नुवाकोटको गेर्खुटारसम्मको सडक पुन:स्थापित भइसकेको छ । सातबिसे भन्ने ठाउँमा डेढ किलोमिटर सडक खण्ड क्षतविक्षत भएको छ । हाल उत्तरगया मावि र बेत्रावती बिचको खण्डमा काम भइरहेको छ । यो खण्डमा करिब पाँच सय मिटर सडक बगेको छ ।
‘यहाँ बाढीले पहाडको एउटा भाग नै भत्काएकाले भौगोलिक रुपमा यो खण्डमा काम गर्न त्यति सजिलो छैन । यद्यपि बेत्रावती र भैँसे दुवैतर्फबाट मेसिन परिचालन गरेर काम गरिरहेका छौं,’ सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता शुभराज न्यौपानेले अनलाइनखबरसँग भने ।
उनका अनुसार रसुवा र नुवाकोट जोड्ने फलाखु खोलामा ७५ मिटर लामो बेलिब्रिज राख्ने तयारी भइरहेको छ । त्यसका लागि सडक विभागले फाउन्डेसन तयार पारिसकेको छ । यहाँ बेलिब्रिज राखेपछि धुन्चेसम्म सडक सम्पर्क पुन:स्थापित हुनेछ ।
‘फलाखु खोलामा बेलिब्रिज राख्न फाउन्डेसन तयार पार्ने, बिलिब्रिजका पार्टस् ढुवानी गर्ने, मेसिन उपकरण उपलब्ध गराउने सबै खर्च हामी गर्छौं, जोड्ने काम भने नेपाली सेनाले गर्छ, किनभने यसको विशेषज्ञता नेपालीसँग छ,’ न्यौपानेले भने ।
फलाखु खोलामा बेलिब्रिज राखियो भने रसुवा सदरमुकाम धुन्चेदेखि तलसम्म सडक सम्पर्क स्थापित हुने उनले बताए ।

त्यसपछि स्याफ्रुबेसी, धुन्चे हुँदै रसुवागढीतर्फको सडक खुलाउने काम सुरु हुने छ । स्याफ्रुबेसीतर्फ अध्ययन टोली र मेसिन उपकरण परिचालित भइसकेको उनले जानकारी दिए ।
उनले भने, ‘प्रारम्भिक अध्ययनमा तल्लो स्याफ्रुबेसी, चिलिमे र माथिल्लो स्याफ्रुबेसी गरी तीन ठाउँमा बेलिब्रिज राख्नैपर्ने देखिएको छ । यहाँ बेलिब्रिज राखियो भने रसुवागढी नाकासम्मै सडक सम्पर्क पुन:स्थापित हुने छ ।’
सडक सम्पर्क पुन:स्थापित गर्न चीनले दुईवटा र भारतले एउटा बेलिब्रिज सहयोग गरेका छन् । यी बाहेक नेपाली सेना र सडक विभागसँग रहेका बेलिब्रिज पनि प्रयोग गरिने छ ।
गल्छीदेखि रसुवागढी नाकासम्मको सडक खुलाउने र धादिङ सदरमुकामलाई त्रिशूलीमा पुल राखेर सिधा सडक सम्पर्कमा जोड्ने काम दशैंभित्र सक्ने गरी प्रयास भइरहेको सडक विभागका कर्मचारीहरू बताउँछन् । विभागका अनुसार पुल र सडक पुनर्निर्माणमा ५० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया 4