+
+
Shares

किन प्रभावित भयो नेकपा अधिवेशन तालिका ?

भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीका कारण नेपाली कम्युनिस्ट पार्टीको पूर्वनिर्धारित महाधिवेशन र अधिवेशन कार्यतालिका प्रभावित भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
  • पार्टीले कार्यतालिका र कार्यविधिबारे छलफल गर्न मंगलबार दिउँसो १ बजे पेरिसडाँडामा केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।
  • नेताहरूले सकेसम्म आगामी मंसिरमै महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका ल्याउने तयारी भएको बताएका छन् ।

४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित अधिवेशन कार्यतालिका प्रभावित भएको छ । रसुवा बाढीपछिको अवस्थामा अधिवेशन कार्यतालिका प्रभावित भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनी भन्छन्, ‘पहिले पार्टीको केन्द्रीय कार्यसंयोजन समितिले महाधिवेशन र अधिवेशनको कार्यातालिका बनाएको थियो । तर भदौ १० गते रसुवामा गएको विनाशकारी बाढी लगायतका कारणले निर्धारित कार्यतालिका कार्यान्वयन हुन सकेन ।’

यस विषयमा छलफल गरेर नयाँ कार्यतालिका तय गर्नुपर्ने उनले बताएका छन् । गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

जसमा असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने उल्लेख थियो ।

भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो ।

तर, यो कार्यतालिका अनुसार अधिवेशन र महाधिवेशन केन्द्रित कार्य हुन नसकेकोले छलफल गरेर नयाँ कार्यतालिका तय गर्नुपर्ने अवस्था आएको प्रवक्ता ज्वालाले बताए ।

छलफलका लागि नेकपाले नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान भएको पार्टी प्रवक्ता ज्वालाले जानकारी दिए। उनले भनेका छन्, ‘केन्द्रीय संयोजन समितिको बैठकमा महाधिवशेन र अधिवेशनहरूको विषयमा, सदस्यता नवीकरणको विषयमा छलफल हुन्छ ।’

नेताहरूका अनुसार केन्द्रले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि अधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि नहुँदा समस्या भएको तल्ला समितिको गुनासो गर्दै आएका छन् ।

आगामी मंगलबार बस्ने बैठकमा अधिवेशन कार्यविधि ल्याउने विषयमा पनि छलफल हुनेछ । सकेसम्म आगामी मंसिरमै महाधिवेशन हुनेगरी कार्यतालिका ल्याउने तयारी रहेको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?