News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाले संसद्भित्र र आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे केन्द्रीय संयोजन समितिको मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा छलफल गर्ने भएको छ।
- प्रवक्ता प्रकाश ज्वालाले बैठकमा आन्तरिक संगठन, राष्ट्रिय राजनीति, सरकारको कामकारबाही, रसुवाको बाढी र संसदीय गतिविधि पनि छलफल हुने बताए।
- नेताहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अंकगणितका आधारमा संसद्मा पार्टीको भूमिका तय गर्ने र सरकारलाई सुझाव दिने बताएका छन्।
४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संसदीय भूमिका केलाउँदै छ ।
यसबारे केन्द्रीय संयोजन समितिको बैठकमा छलफल हुने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
‘संसद्भित्र हामीले खेल्दै आएको भूमिका र आगामी दिनमा संसद्मा खेल्नुपर्ने भूमिका सम्बन्धमा पनि छलफल हुनेछ,’ उनले अनलाइनखबरसँग भने ।
नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आगामी मंगलबार दिउँसो १ बजे बस्दैछ ।
‘बैठकको एजेन्डा वितरण भएको छैन । तर मूलत: आन्तरिक संगठनात्मक सवाल, राष्ट्रिय राजनीति, सरकारको कामकारबाही, रसुवाको विनाशकारी बाढी लगायत प्राकृतिक विपद्मा सरकारको भूमिका र पार्टीको उपस्थितिका साथै संसदीय गतिविधिको विषयमा छलफल हुनेछ ।’
बैठकपछि पार्टीले संसद्मा खेल्नुपर्ने भूमिका सम्बन्धमा केही निर्णय लिइने नेताहरूले बताएका छन् ।
साथै, समसामयिक विषय र प्राकृतिक विपद्पछिको अवस्थाका सन्दर्भमा सरकारलाई सुझाव दिइने प्रवक्ता ज्वालाले जानकारी दिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा १७ सिटसहित चौथो दलको रुपमा छ । ५९ सदस्यीय राष्ट्रिय सभामा पनि नेकपा १७ सिटसहित दोस्रो दलको रूपमा छ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपाबाटै निर्वाचित नारायणप्रसाद दाहाल छन् ।
सरकार र सत्तारुढ दल रास्वपाले प्रतिनिधिसभाबाट सहजै विधेयक पास गर्न सके पनि राष्ट्रिय सभामा अप्ठ्यारो हुने बताउँदै आएका छन् । यो विषय सार्वजनिक रूपमा समेत उठेको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सिट छ । बाँकी सिटमा कांग्रेसका ३८, नेकपा एमालेका २५, श्रम संस्कृति पार्टीका सात र राप्रपाका पाँच जना सांसद् छन् । स्वतन्त्र सांसद महावीर पुन सरकारमै छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा हाल ५७ जना सांसद् बहाल छन् । जसमा सबैभन्दा ठूलो दल कांग्रेसका २४ जना छन् । दोस्रोमा रहेको नेकपाका १७, तेस्रोमा रहेको एमालेको १० जना सांसद् छन् । जनता समाजवादी पार्टी नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक जना र राष्ट्रपतिबाट मनोनित दुई जना सांसद रहेका छन् ।
नेताहरूका अनुसार यस्तो संसदीय अंकगणितको पृष्ठभूमिमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीले खेल्दै आएको भूमिका केलाएर आगामी दिनमा संसद्मा पार्टीकोा भूमिका कस्तो हुने भनेर तय गर्न लागिएको हो ।
प्रतिक्रिया 4