४ असोज, काठमाडौं । पूर्वी नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बालिकाकी आमा घाइते भएको प्रहरीले जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती–८ फलफूल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
घटनामा मोटरसाइकलमा सवार १७ महिनाकी बालिकाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार अर्घाखाँची घर भई हाल कावासोती–११ कुडौली बस्दैआएकी २५ वर्षीया पुष्पा चौहान घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा चौहान बेहोस अवस्थामा रहेको र उनलाई नवलपुर अस्पतालबाट थप उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको छ ।
मोटरसाइकल चालक ३२ वर्षीय सूर्य बीसी भने सकुशल रहेका छन् ।
ट्रक र ट्रक चालक बाराको सिमरा– १४ का सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4