रुसमा संसदीय निर्वाचनको मतदान अन्तिम दिनमा प्रवेश गरेकै बेला युक्रेनले राजधानी मस्को र आसपासका क्षेत्रमा अहिलेसम्मकै ठूलो ड्रोन हमला गरेको छ ।
रुसको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा रातभरमा १ हजार ९०० भन्दा बढी ड्रोन, आठवटा निर्देशित हवाई बम, आठवटा क्रुज क्षेप्यास्त्र र चारवटा रकेट खसालिएको जनाएको छ ।
यो संख्या युक्रेनले गरेको अहिलेसम्मकै ठूलो ड्रोन हमला भएको देखाउँछ । यद्यपि, युक्रेनले आफूले प्रहार गरेका ड्रोन र क्षेप्यास्त्रको ठ्याक्कै संख्या पुष्टि गरेको छैन ।
हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने मस्को क्षेत्रको एउटा ठूलो तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले यो हमलालाई निर्वाचनसँग जोड्दै ‘निर्वाचनमा अवरोध पुर्याउने उद्देश्यले स्पष्ट रूपमा योजना बनाएर’ हमला गरिएको बताएका छन् ।
आइतबार सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेपछि भएको रुसको पहिलो संसदीय निर्वाचनको तेस्रो तथा अन्तिम मतदान दिन हो । बलियो विपक्षीको अभावमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले जित्ने अपेक्षा गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत रुसमाथिको हमलाको प्रशंसा गरेका छन् । तर उनले निर्वाचनको उल्लेख गरेका छैनन् ।
मतदान भइरहेका क्षेत्रमध्ये रुसले अवैध रूपमा आफूमा गाभेको दाबी गरेका युक्रेनका चार क्षेत्र पनि छन्, जुन पूर्ण रूपमा क्रेमलिनको नियन्त्रणमा छैनन् ।
जेलेन्स्कीले भने, ‘गत रात मस्को क्षेत्रमा हाम्रो लामो दूरीको जवाफी कारबाहीले निकै महत्वपूर्ण प्रभाव पारेको छ ।’
उनका अनुसार निशाना बनाइएका ती संरचनाले ‘युद्ध मेसिनलाई निरन्तरता दिन अर्बौं डलर’ आम्दानी गरिरहेका थिए ।
युक्रेनी जनरल स्टाफले पछि हमलाको मुख्य निशाना रुसी राजधानीको कपोत्न्या जिल्लामा रहेको गाजप्रोमनेफ्ट–मस्को तेल प्रशोधन केन्द्र भएको जनाएको छ । यो प्रशोधन क्षमताका हिसाबले रुसका ठूला तेल प्रशोधन केन्द्रमध्ये एक हो ।
ठूलो स्तरको हमला
मस्कोका मेयर सोब्यानिनका अनुसार राजधानीतर्फ आइरहेका करिब ४५० ड्रोन खसालिएका थिए । उनले भने, ‘यद्यपि केही ड्रोन मस्को तेल प्रशोधन केन्द्रको क्षेत्रमा पुगे र एउटा आवासीय भवनमा ठोक्कियो ।’
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले हमलामा तीन जनाको मृत्यु भएको बताए। उनका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हमलामा तीन बालबालिकासहित २० जना घाइते भएका छन् ।
यसैबीच, दक्षिणी रुसको बेलगोरोद क्षेत्रमा छुट्टाछुट्टै घटनामा नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
उता, रुसले पनि युक्रेनमाथि ड्रोन र क्षेप्यास्त्रबाट हमला जारी राखेको छ । किभ क्षेत्रको सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार आइतबार बिहानसम्म भएका हमलामा तीन बालबालिका र एक महिलाको मृत्यु भएको छ ।
रुसले करिब एक महिनादेखि युक्रेन, विशेषगरी राजधानी किभमाथि लगातार हवाई हमला गर्दै आएको छ । जेलेन्स्कीले आइतबार यसै साता मात्रै रुसले युक्रेनमाथि २ हजारभन्दा बढी आक्रमणकारी ड्रोन, १ हजार ७ सय हवाई बम र विभिन्न प्रकारका १९ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । –सीएनएनबाट
प्रतिक्रिया 4