+
+
Shares

हिउँदको विद्युत् व्यवस्थापन तयारी, पाँच सदस्यीय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालगायत क्षेत्रमा हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ।
  • त्रिशूली नदी बेसिनका जलविद्युत् केन्द्रमा बाढीले क्षति पुर्‍याएर उत्पादन बन्द भएपछि प्राधिकरणले अध्ययन र कार्य अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ।
  • कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो।

७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद) मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ ।

हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मंगलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्णय छ ।

रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् केन्द्रहरूमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि आगामी हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुखहरूको सहभागिता थियो ।

बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा कार्य अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ ।

बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रहरूबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि आगामी हिउँदमा लोडसेडिङ ‍गर्नुपर्ने अवस्था नरहेको बताए । उनले विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अहिलेबाटै अघि बढाइएको बताए ।

बैठकले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरणतर्फका आयोजनाहरूको काम सम्पन्न गर्ने समयसीमा समेत तोकेको छ ।

त्यसैगरी, बाढीबाट प्रभावित नुवाकोट र रसुवाको विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन विभिन्न विकल्पबारे छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?