+

शल्यक्रियापछि मैदान फर्किएर म्याच विनिङ प्रदर्शन गरेका विल ज्याक्स

२०८३ असोज  ८ गते १४:०९ २०८३ असोज ८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विल ज्याक्सले एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि पुनरागमन गर्दै श्रीलंकाविरुद्धको पहिलो एकदिवसीयमा ५ विकेट लिएर २२ रन खर्चिए।
  • ज्याक्सले उक्त खेलमा ४६ रनमा अविजित रहँदै इंग्ल्यान्डको स्कोर २११–७ बाट २६५ पुर्‍याउन योगदान दिए।
  • उनले शल्यक्रियापछि मैदानमा फर्किन कठिन अभ्यास गर्नुपरेको र आमाको जन्मदिन मनाउन एडिनबर्ग जाने योजना पछि सारिएको बताए।

८ असोज, काठमाडौं । इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले गत महिना आफ्नी आमाको ६०औं जन्मदिन मनाउन एडिनबर्ग जाने योजना बनाएका थिए । तर सामान्य पेटको समस्या ठानेको स्वास्थ्य समस्या एपेन्डिसाइटिस भएको खुलेपछि उनको योजना एकाएक अस्पतालको आकस्मिक कक्षतर्फ मोडियो ।

२७ वर्षीय ज्याक्सलाई तत्काल रोयल इन्फर्मरी अफ एडिनबर्ग लगियो र आकस्मिक शल्यक्रिया गरियो । ‘एक्कासि धेरै खराब भयो, त्यसैले अस्पताल जानुपर्‍यो । यो अचानक भएको थियो र निकै डर लाग्दो पनि थियो । एनएचएसले निकै राम्रो हेरचाह गरेकोमा म भाग्यमानी रहें’ बीबीसीसँगको कुराकानीमा ज्याक्सले भनेका छन् ।

शल्यक्रियापछि उनलाई करिब चार साता आराम गर्न भनिएको थियो । तर निर्धारित समयभन्दा केही दिनअघि नै उनी मैदानमा फर्किए । सेप्टेम्बर ११ मा श्रीलंकाविरुद्धको अभ्यास खेलमा इंग्ल्यान्ड लायन्सको कप्तानी गर्दै उनले पुनरागमन गरे ।

त्यसपछि श्रीलंकाविरुद्धकै तीन खेलको टी–२० शृंखलामा उनले सबै खेल खेले । मंगलबार चेस्टर–ले–स्ट्रिटमा श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा भने ज्याक्सले बलिङमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरे ।

उनले ५ विकेट लिँदै २२ रन खर्चिए । यो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्डका स्पीनरको दोस्रो उत्कृष्ट बलिङ प्रदर्शनसमेत बन्यो ।

शल्यक्रियापछि स्पीन बलिङमा फर्किनु उनका लागि सहज थिएन । एपेन्डिक्सको शल्यक्रियापछि शरीरको ‘कोर’ मांसपेशीमा पर्ने प्रभावका कारण उनले बलिङका लागि अतिरिक्त अभ्यास गर्नुपरेको थियो ।

त्यसका बाबजुद चेस्टर–ले–स्ट्रिटमा उनले घरेलु मैदानमा आफ्नो एकदिवसीय करियरकै सबैभन्दा बढी ४.३ डिग्री बल टर्न गराए । ‘यो बढी आत्मविश्वासको कुरा थियो । टी–२० पहिले खेलेका कारण पनि सहयोग भयो, जहाँ बढीमा चार ओभर मात्र बलिङ गर्नुपर्थ्यो’ ज्याक्सले भने ।

उनका अनुसार पहिलो खेलअघि उनले पाँच दिन मात्र बलिङ गरेका थिए । शल्यक्रियापछि शक्ति र फिटनेस फर्काउने क्रममा उनले टी–२० शृंखलामा धेरै बलिङ नगर्नु पनि फाइदाजनक भएको बताए ।

श्रीलंकाविरुद्धको पहिलो एकदिवसीयमा ज्याक्सले बलिङमा मात्र होइन, ब्याटिङमा पनि महत्वपूर्ण योगदान दिए । उनले ४६ रनमा अविजित रहँदै इंग्ल्यान्डको स्कोर २११–७ बाट २६५ रनसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले ।

उनले सुरुवाती ४३ बलमा केवल एक चौका प्रहार गर्दै जोखिम नलिई इनिङ्स अघि बढाएका थिए । विकेटहरू लगातार गइरहेका बेला आफ्नो भूमिकासमेत परिवर्तन गर्दै अन्तिमसम्म टिक्ने रणनीति अपनाएको ज्याक्सले बताए ।

पछिल्लो डेढ वर्षमा ज्याक्सको भूमिकामा पनि परिवर्तन आएको छ। ओपनिङबाट मध्यक्रममा सरेर उनी टी–२० र एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डका फिनिसर बनेका छन् । यस क्रममा उनले भारत र श्रीलंकामा भएको टी–२० विश्वकपमा इंग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

‘म अहिले जुनसुकै परिस्थितिमा ब्याटिङ गर्न सहज महसुस गर्छु । हरेक दिन एउटै अवस्था हुँदैन, त्यसैले यो भूमिकाले खेलमा ताजापन ल्याउँछ’ उनले भने ।

श्रीलंकाविरुद्धको शृंखलामा ज्याक्स उपकप्तानसमेत हुन् । ज्याकब बेथेलको अनुपस्थितिमा उनलाई यो जिम्मेवारी दिइएको हो । टोलीमा उनी मैदानबाहिर पनि नेतृत्वदायी भूमिकामा देखिन थालेका छन् ।

इंग्ल्यान्डको टेस्ट टोलीमा समेत यस वर्ष स्थान बनाएका ज्याक्सले एसेजमा स्पीन बलिङ अलराउन्डरको भूमिका निर्वाह गरेका थिए । अहिले उक्त भूमिका ड्यान लरेन्सले सम्हालिरहेका छन् । नयाँ टेस्ट प्रशिक्षक स्टेफन फ्लेमिङसँग समेत उनको भेट भइसकेको छ ।

यसैबीच ज्याक्सले यस विन्टरमा दक्षिण अफ्रिकाको एसए-२० मा एमआई केप टाउनबाट खेल्ने सम्झौता गरिसकेका छन् । आगामी समय भने उनको ध्यान इंग्ल्यान्डको पाकिस्तान, अस्ट्रेलिया र दक्षिण अफ्रिका भ्रमणमा हुनेछ ।

एकातिर मैदानमा आफ्नो भूमिका बलियो बनाउँदै गरेका ज्याक्सलाई अर्कोतिर व्यक्तिगत रूपमा अधुरो रहेको एउटा योजना पनि पूरा गर्नुपर्नेछ- आमाको जन्मदिन मनाउन एडिनबर्ग जाने ।

‘योजना अनुसार भएन । तर हामीले त्यसलाई फेरि मिलाउन समय निकाल्नुपर्छ’ उनले मुस्कुराउँदै भने ।

-बीबीसीबाट

इंग्ल्यान्ड क्रिकेट विल ज्याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय