भारतीय मूलका कवि गुल्जारले रचना गरेका अति नै लोकप्रिय गीतहरूमध्येको एक गीतमा दुई प्रेमीहरू समयलाई आफ्नो वशमा पार्न र निजी व्ययका लागि चोर्न ‘षड्यन्त्र’ बुनिरहेका छन् ।
शेक्सपियरको नाटक ‘ओथेलो’ बाट प्रेरित बलिउड म्युजिकलमा उनका यी शब्दहरूलाई प्रतिध्वनित गराउने आवाजहरू उदास र चञ्चल सुनिन्छन् । तर ‘ओ साथी रे’ बोलको उक्त गीतमा एउटा तीव्र – तत्क्षण उत्सुकता छ, जहाँ प्रेमीहरू अवसानरत क्लान्त घाम नदीमा डुब्नुअघि नै त्यसलाई आफ्नो जालमा पार्न चाहन्छन् ।
थका-थका सूरज जब नदी से होकर निकलेगा / हरी-हरी काई पे पाँव पड़ा तो फिसलेगा
तुम रोक के रखना, मैं जाल गिराऊँ / तुम पीठ पे लेना, मैं हाथ लगाऊँ
मुम्बई—जहाँ उनले किशोर शरणार्थीका रूपमा आश्रय पाएका थिए— त्यस तटीय महानगरमा बिताएको ६ दशकभन्दा बढी समयमा गुल्जारले भारतमा कोमल प्रेमको अवधारणालाई आकार दिन ठूलो योगदान पुर्याएका छन् ।
उनले आफ्नो कल्पनाशीलतालाई बालपुस्तक, कथा र कविताका सङ्ग्रहहरूतिर ढल्काएका छन्, जसको उचाइ समयसँगै झन्-झन् बढ्दै गएको छ । यी सबैका बाबजुद उनले सांसारिक – साधारण जीवनका सुन्दरताप्रतिको आफ्नो कौतूहललाई सधैँ जीवन्त राखेका छन् ।
जुन महिनाको अन्त्यतिर म उनलाई भेट्न उनकै निवासमा गएको थिएँ । ढोका ढक्ढक्याएर भित्र छिर्ने पर्खाइमा उनको घरको आँगनमा उभिँदा म त्यस ओरालो गल्लीको प्रशान्तिलाई नियालिरहेको थिए जसलाई मनसुनको अविश्रान्त झरीले भंग गरिरहेको थियो।
“सारा शहर रुझेको छ, के यो एकदमै रोचक अनुभूति होइन र ?” उनले हसिलो अनुहार बनाउँदै मलाई सोधे, “आकाशको बादलबाट तिम्रो टाउकोमाथि केही तप्किरहेको छ, मानौँ तिनीहरू हामीसँग खेलिरहेका छन्- यो धेरै चाखलाग्दो कुरा हो ।”
गुल्जारको काव्यात्मक दृष्टिकोणले भारतको लोकप्रिय चलचित्र उद्योगमा आफ्नै बेग्लै छाप छोड्यो । बलिउडले उनलाई जीविकोपार्जनको माध्यम मात्र दिएन, लगभग दुई अर्ब जनसङ्ख्या भएको यस क्षेत्रका सीमाहरू नाघेर अघि बढ्न दृश्य र सङ्गीतको पखेटा पनि प्रदान गर्यो ।
दर्जनभन्दा बढी चलचित्रहरूको निर्देशन गर्नुका साथै अन्य धेरै चलचित्रका लागि पटकथा लेख्नुबाहेक उनले १५० भन्दा बढी बलिउड म्युजिकलका लागि गीत रचना गरेका छन् । भारतमा विगत केही दशकका जुनसुकै कालजयी गीतहरू गुन्गुनाइरहँदा ती शब्दहरू सम्भवत : गुल्जारकै हुनेछन् ।
अहिले ९२ वर्षको उमेरमा पनि उनी भोरसँगै उठ्छन् र आफ्नो घरको भुइँतलामा रहेको डेस्कमा बसिसक्छन् ।
“आकाश कपडाको थान उघ्रिएझैँ खुल्दै जान्छ,” उनले भने, “सूर्योदय हेर्नुको जस्तो आनन्द अरू केमा !”
उनले यस्तो अनुशासन कायम राखेका छन्, जसले उनलाई अनगिन्ती कृतिहरू सिर्जना गर्न र त्यसपछि प्राप्त भएका प्रमुख पुरस्कारहरू हासिल गर्न सक्षम बनाएको छ ।

उनको हालैका प्रोजेक्टहरूमध्ये एकमा उनले भारतभरका तीन दर्जन भाषामा लेख्ने लगभग ३०० कविहरूका समकालीन कविताहरू सङ्कलन गरे—जसलाई हिन्दी र अंग्रेजी अनुवादमार्फत फराकिलो पाठकमाझ पुर्याए । हार्परकोलिन्सद्वारा प्रकाशित “ए पोयम अ डे” नामक उक्त विशाल ग्रन्थ तयार पार्न एक दशकको निरन्तर एवम् सुक्ष्म मेहनत लागेको थियो ।
यो उनले विद्यार्थीहरूको एउटा समूहलाई दिएको वचनवद्धताको प्रतिफल थियो, जसले कविताहरू पाठ्यपुस्तकमा मात्र कैद भएकाले उनीहरूको दैनिक जीवनसँग अप्रासंगिक बन्दै गएको भन्दै उनीसमक्ष गुनासो गरेका थिए।
हामीले भेटघाटका क्रममा मुम्बईप्रति समर्पित उनको पछिल्लो पुस्तक, उनको बाल्यकाल र सोसल मिडिया रिल्सको युगमा भारतीय सिनेमामा कथा भन्ने शैलीमा आइरहेको परिवर्तनका बारेमा कुराकानी गर्यौँ। टेनिसका बारेमा कुरा गर्दा उनका आँखा उज्यालियो, जुन खेल उनले ९० वर्ष पुग्नुअघि अर्थात् दुई वर्ष अघिसम्म लगभग हरेक बिहान खेल्ने गर्थे।
“थाहा छ, फेडररको ब्याकह्यान्ड,” उनले भने, “उनको त्यो एक हातले हान्ने ब्याकह्यान्डको स्विङ एकदमै लोभलाग्दो थियो । त्यहाँसम्म कोही पनि पुग्न सकेको छैन ।”
भारतमा पत्रकारिता गर्दाका मेरा ६ वर्षमा दुईवटा विषयले मलाई गहिरोगरी आकर्षित गरे । यो आधुनिक राष्ट्रलाई जन्म दिने सन् १९४७ को रक्तपातपूर्ण विभाजनका जीवित बाँकी बचेका केही मानिसहरूलाई भेट्दा उनीहरूले भोगेको गहिरो चोट र त्यसका बाबजुद उनीहरूले देखाएको शान्त सहनशीलताले मलाई भावुक बनायो । त्यस्तै, भारतको कला र सिनेमाले यति धेरै विविधता भएको देशमा राष्ट्रियता र साझा संस्कृतिलाई कसरी एकीकृत गर्छ भन्ने कुराले पनि मलाई उत्तिकै मोहित बनाएको थियो ।
गुल्जारको जीवन र उनको कलाले यी दुवै कुरालाई एकै ठाउँमा ल्याइदियो। भारतमा मेरो कार्यकाल सकिँदै गर्दा म यी दुवै विषयमा उनका अनुभव र विचारहरू सुन्न चाहन्थेँ।
एउटा बेग्लै देश पाकिस्तान निर्माण गर्ने भारत विभाजनको त्यस कहालीलाग्दो र रक्तपातपूर्ण समयका एक जीवित साक्षीका रूपमा उनले भारतभरका विभिन्न प्रभाव र भाषाहरूलाई आफ्नो सिर्जनामा समेटेका छन् । उनले दशकौँसम्म आफ्नो कलालाई निरन्तर परिष्कार र नयाँ रूप दिँदै अनगिन्ती कालजयी कृतिहरू रचेका छन्।
यी सबैका बाबजुद उनले आफ्नो सेरोफेरोमा एउटा बालसुलभ खुसी सधैँ कायम राखेका छन् । उनको सुक्ष्म र खिरिलो व्यङ्ग्य चेत उनको कलाको मुख्य अङ्ग हो।
गुल्जारका धेरै पुस्तकहरूलाई अंग्रेजीमा अनुवाद गरेकी रख्सन्दा जलील सन् २०१९ तिर गुल्जारसँगै क्यानडाको उडानमा थिइन् । झ्यालपट्टिको सिटमा बसेका गुल्जारको छेउमा डा. जलील आफ्नो ल्यापटपमा काम गर्न व्यस्त थिइन् ।
“ती भेडाहरू,” गुल्जारले उसले सुन्ने गरी आफैँसँग दोहोर्याए, “तिनीहरू आपसमा झगडा गरिरहेका छन् ।”
डा. जलील अलमलको भावमा वरपर नियलिन् ।
“के यी बादलहरू आपसमा जेलिँदै गरेका भेडाहरूजस्ता देखिएका छैनन् र ?”
दैनिक जीवनप्रतिको त्यही सहज-सामान्य कौतूहलले उनको कविता र दशकौँदेखि उनले भारतीय संगीतमा भरेका कालजयी शब्दहरूलाई विभूषित गर्छ ।
गुल्जारले नै रचेको अर्को सरल र मर्मभेदी वियोगी गीत छ – “मेरा कुछ सामान” । जसमा एक प्रेमिकाले आफ्ना बाँकी रहेका केही सामानहरू फिर्ता मागेकी छिन् । भारतीय डान्स फ्लोर्सामा घन्किने एकपछि अर्को गीत – रेलमार्गमाथि गाइएको लयबद्ध “छैया छैया”, जुन कालजयी गीत बनेको छ ।
मानिसहरूले हात फैलाएर आकाशसम्म गुञ्जाउने गीत “जय हो” । अनि, अलि ठट्टाउलो शैलीको “दिल तो बच्चा है जी”, जुन उमेर ढल्किसकेको एक प्रेमीको बारेमा छ, जसले आफ्नो “मुटु अझै सानो बच्चा नै छ” भन्छ र एक्लै सुत्न डर लाग्छ भनी ढेप कस्छ ।
साम्पूर्ण सिंह कालराको नाम लिएर हाल पाकिस्तानमा पर्ने दिना गाउँको एउटा सिख परिवारमा उनको जन्म भएको थियो । उनको वास्तविक जन्म वर्षलाई लिएर केही अन्योल छ, तर उनी १९३४ हुनुपर्छ भन्ने मान्छन् । उनी केही महिनाको मात्र हुँदा उनकी आमाको निधन भयो र उनी ७ जना सौतेनी भाइबहिनीहरूसँगै हुर्किए।
उनका बुबाले गाउँमा कपडाको पसल चलाउँथे र करिब ४०० माइल टाढा दिल्लीमा अर्को पसल खोलेका थिए । बाँकी परिवार गाउँमै बस्दा उनले १९४० को दशकमा ती बालकलाई आफूसँगै दिल्ली लगे । त्यहाँ गुल्जारले पढ्न थाले र पसलमा सघाउन पनि थाले।

साँझपख उनी पसलको भण्डारकोठामा सुत्न जान्थे । तर लालटिनको मधुरो उज्यालोमा उर्दू जासुसी उपन्यासहरूमा आँखा नदौडाई उनी सुत्दैनथे। सडकपारि एउटा पसल थियो जहाँबाट उनले पुस्तकहरू भाडामा लिन्थे । त्यो नै उनको साहित्यिक प्रेरणाको पहिलो स्रोत बन्यो । जसले उनलाई उर्दूमा अनुवाद गरिएका भारतभरका र विश्वभरका साहित्यहरूसँग परिचय गरायो।
जब एक दिन पसलका साहुले भारतका पहिलो नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरका कविताहरूको सङ्ग्रह “द गार्डेनर” को उर्दू अनुवाद पढ्न सिफारिस गरे, उनको जीवनको लय नै फेरियो । उनले त्यो पुस्तक बारम्बार पढे । जीवनमा उनले चोरेको पहिलो पुस्तक नबनुन्जेलसम्म निरन्तर भाडामा लिइरहे।
तर कविताप्रतिको प्रेम र लगावमा दिल्लीको युनाइटेड क्रिस्चियन स्कुलमाको पनि संलग्नता छ । जसले बिस्तारै उनको मनमस्तिष्कमा कविता स्थापित गराइदिएको थियो । उनका साहित्य शिक्षक, जो एक मुस्लिम धर्मगुरु थिए, उनले विद्यार्थीहरूलाई दोहा ( कप्लेट ) र सेरहरू कण्ठ गर्न प्रोत्साहन गर्थे । गुल्जारले यो प्रक्रियालाई धर्मशास्त्रहरू आत्मसात गर्ने प्रकियाको पर्यायसरह भएको बताए ।
“तिमीले कण्ठ गर्ने ती सेरहरू,” उनले भने, “जब तिनको अर्थ तिम्रो मनभित्र पस्न थाल्छ, त्यसरी नै तिमीभित्र ज्ञान आमन्त्रित हुन्छ , त्यसरी नै शिक्षा भित्रिन्छ ।”
उनका ती शिक्षकले अर्को प्रयोग पनि गर्ने गर्थे । उनका शिक्षकले ‘बैत-बाजी’ अर्थात् सेर-शायरीको प्रतियोगिताका लागि कक्षालाई दुई भागमा बाँड्ने गर्थे । प्रत्येक टोलीका सदस्यले अघिल्लो टोलीले अन्त्य गरेको अक्षरबाट सुरु हुने सेर सोच्नुपर्थ्यो।
“कहिलेकाहीँ हामी केही ठाउँमा छल पनि गर्थ्यौँ,” उनले सहज मुस्कानका साथ भने, “अन्त्यका शब्दहरू बंग्याएर वा शब्दहरूको क्रम बदलेर।”
गुल्जार उपनाम प्रयोग गरी लेखिएका आफ्नै कविताहरू पनि उनी प्रयोग गर्न पछि हट्दैन थिए ।
सन् १९४७ को भारत विभाजनले सबै कुरा बदलिदियो। नयाँ सीमापारको मानवसागरको वहन – परिवहनमा सयौँ हजार मानिसहरू मारिए भने लाखौँ मानिसहरू आफ्नो घर छाड्न बाध्य भए ।
पञ्जाबले हिंसाको सबैभन्दा भयानक रूप देख्यो। दिना गाउँमा रहेका गुल्जारका भाइबहिनीहरूले सबै सामान पोका पारेर दिल्ली आउनुपर्यो । तर दिल्ली पनि हिंसाबाट अछूतो रहन सकेन, जहाँ सडकभरि असरल्ल छरिएका शवहरूले ती किशोरलाई तर्साइरहे। त्यसपछिका लगभग दुई दशकसम्म उनी डरलाग्दा सपनाहरू देखेर ब्युँझिने गर्थे । उनका प्रारम्भिक दिनहरूको त्यो गहिरो चोट र पीडा उनको कलाका लागि सधैँ एउटा भावुक – भयानक पृष्ठभूमि बनिरह्यो।
“यो लेखन तिम्रो शरणस्थान बन्छ—आफूलाई अभिव्यक्त गर्न, हलुका महसुस गर्न र मनबाट भयानक र कल्मष दृश्यहरू पखालेर फाल्न,” उनले मलाई भने।
दिल्लीको घर धेरै भिडभाड भएको महसुस गरेपछि उनका बुबाले किशोरावस्थामै गुल्जारलाई मुम्बई पठाइदिएका थिए। दिल्लीका शरणार्थी शिविरहरूमा आइपुगेका अन्य धेरै आफन्तहरूलाई त्यस परिवारले आश्रय दिएको थियो।
मुम्बईमा आफ्नो पढाइलाई अगाडि बढाउँदै गर्दा उनले धेरै वर्ष एउटा मोटर ग्यारेजमा काम गरे । जहाँ उनले दुर्घटनामा परेका गाडीहरू मर्मत गर्दा ठ्याक्कै मिल्ने रङ तयार पार्न एकाग्र हुन्थे । उनले आफ्नो परम्परागत पगडी त्यागे र कपाल काटे । सिख परम्पराविपरीतका यी कार्यहरूबाट उनका बुबा खुसी थिएनन्।

किताबी संसार नै उनको शरणस्थल बनिरह्यो। उनले १९५० को दशकमा मुम्बई सहरमा सक्रिय रहेका नाटककार र लेखकहरूका वामपन्थी वृत्तहरूमा उनी सङ्गत गर्न थाले ।
त्यही वृत्तका एक साथीले नै उनको भारतीय सिनेमामा प्रवेशका लागि बाटो खोलिदिए। प्रख्यात निर्देशक बिमल रोयलाई एउटा गीत लेख्ने मान्छेको खाँचो थियो। ती युवा गुल्जारलाई उनीकहाँ पुर्याइयो, जुन उनको एउटा प्रोज्ज्वल र प्रतिष्ठित करियरको सुरुवात बन्न पुग्यो।
ब्ल्याक एन्ड ह्वाइट चलचित्रका लागि उनले लेखेको पहिलो गीत पागलपनको सीमासम्म प्रेममा परेकी एक महिलाको अन्तर्मनको अभिव्यक्ति थियो । “कुछ खो दिया है पाई के / कुछ पा लिया गवाई के ,” उनी गाउँछिन्।
त्यसपछिका दशकहरूमा गुल्जारले गीत लेखनबाट अघि बढेर आफ्नै निर्देशनमा दर्जनभन्दा बढी चलचित्रहरू निर्माण गरे।
चलचित्र उद्योगले उनलाई एउटा परिवार पनि दियो। उनले प्रख्यात अभिनेत्री राखीसँग विवाह गरे। यद्यपि उनीहरू विवाहको केही समयपछि नै अलग भए । जसलाई गुल्जारले “मेरो जीवनको सबैभन्दा लामो लघु कथा” भनेर वर्णन गरेका छन् । उनीहरूले छोरी मेघनालाई हुर्काए, जो स्वयं पनि एक सफल चलचित्र निर्देशक हुन्। मेघनाका पहिलो १३ जन्मदिनहरूमा गुल्जारले उनलाई उपहारस्वरूप आफूले नै लेखेका बालकथाका नयाँ पुस्तकहरू दिने गर्थे।
चलचित्र निर्माण र गीत लेखनमा सफलता हासिल गरे पनि उनले कवितासङ्ग्रहहरू लेख्न कहिल्यै छाडेनन् । उनलाई लाग्थ्यो/लाग्छ – कविताले उनको सिर्जनात्मकतालाई अझ पूर्ण रूपमा अभिव्यक्त गर्न सक्छ ।
“कविता तिम्रो स्वायत्त प्रतिबद्धता हो, स्वायत्त विचार हो, जुन तिमीभित्रै अङ्कुरित हुन्छ।”
सन् १९९९ मा आफ्नो अन्तिम चलचित्र बनाएपछि उनले निर्देशनमा हात हाल्न छाडे । त्यसयता उनी पूर्ण रूपमा लेखन, खासगरी कवितामै समर्पित रहँदै आएका छन्। चलचित्रका लागि गीत लेख्ने मामिलामा उनी झन्-झन् चयानात्मक बन्दै गएका छन् । कविता बुझ्ने अनि आफूले चाहेअनुसार लेख्ने स्वतन्त्रता दिने दुई-चार जना निर्देशकहरूको आग्रह मात्र स्वीकार गर्ने गरेको उनले बताए।
उनको सहज र सादगीपूर्ण दैनिक दिनचर्या लेखनकै वरपर झाङ्गिएको छ।

उनी सबेरै उठ्छन् र राति १० बजेतिर सुत्छन् । ढल्कँदो उमेरले उनलाई टेनिसजस्ता गतिविधिहरूबाट वञ्चित गराए पनि उनी प्रत्येक दिन पठन, लेखन र एकान्तवासमै बिताउँछन् । उनी आफ्नी पत्नी राखीको एउटा भनाइ प्रायः मिठास साथ सम्झन्छन्,”यदि तिमी कवि नभएको भए अति साधारण मानिस मात्र हुने थियौ।”
सन् २०१३ मा, भारत र पाकिस्तानजस्ता प्रतिद्वन्द्वी राष्ट्रहरू सुस्ताएको दुर्लभ समयको छेको पारेर उनी पाकिस्तान गए । आफ्नो भूगोल छाडेको ७० वर्ष पछि दिनाको छोटो भ्रमण गरे। दिनाका बासिन्दाहरूलाई लेखेको एउटा पत्रमा उनले सम्झनाका भेलहरू आफूलाई कति विह्वल बनायो भन्ने कुरा उल्लेख गरेका थिए।
“म केवल एक छिनको एकान्त चाहन्थेँ,” उनले पत्रमा लेखेका थिए, “ताकि म बसेर रुन सकूँ।”
मैले उनलाई अझै पनि आफ्नो जन्मगाउँको सम्झना आउँछ कि भनेर सोधेँ । उनले त्यो प्रश्नलाई जीवनका अनुभवहरूले हामीलाई कसरी आकार दिन्छन् भन्ने एउटा गम्भीर चिन्तनमा मोडिदिए । ती जीवनका आरम्भ र जराहरूका बारेमा, जुन अब दृश्यमान् नभए पनि हामीलाई जगमा टिकाइराख्छन्।
“तिमी बाँचिरहेका बेला जीवनले तिमीलाई हरेक पल स्पर्श गरिरहेको हुन्छ, निखारिरहेको हुन्छ । तिमी कत्तिको संवेदनशील छौ र कुन कुराले तिमीलाई प्रभावित गर्छ भन्ने कुरा तिम्रै चेतनामा निर्भर हुन्छ,” उनले भने।
उनका आँखा चम्किए ; उनको दिमागमा एउटा दृश्य ओर्लियो । उनी आफ्नो टेबलतिर अलिकति अगाडि ढल्किए।
“अहो, त्यो उडिरहेको पातलाई हेर त, आइरहेछ, तल, अझ तल आउँदैछ र रूखबाट तल खस्छ।”
त्यसरी तल खसिरहेकै क्षणमा त्यो दृश्यका बारेमा सोच्न उनले मलाई आग्रह गरे—”यो पात, यो कलिलो पात, यसले आफ्नो हाँगा किन छाड्यो?” अनि खस्नुअघि र पछिको चक्रबारे, त्यो यात्रालाई जीवन्त रूप दिनेबारे उनी घोत्लिए। आफ्ना जराहरू जोडिएको त्यो ‘धरती माता’लाई स्पर्श गर्न र अरूसँगै एकाकार हुन खोज्ने यो कस्तो आकुलता थियो होला?
“म त्यो खस्दै गरेको पातभित्र एउटा कविता पाउछु, जुन तिमी नपाउन पनि सक्छौ,” उनले भने। “तर म तिमीलाई यसप्रति सचेत गराउन भने सक्छु। अनि अर्कोपटक जब तिमीले त्यो पात देख्छौ, यदि तिमीलाई सम्झना भयो भने—’अहो, हेर त, यो कसरी हावामा पौडिरहेछ, यो तल झर्दैछ’—तब तिमीले यसको अनुभव गर्नेछौ।”
( न्यू योर्क टाइम्समा प्रकाशित यस सामग्रीलाई कञ्चनले अनुवाद गरेका हुन् ।)
प्रतिक्रिया 4