News Summary
Generated by OK AI. Editorially reviewed.- दशैं-तिहारलाई लक्षित गर्दै असोज २३ देखि कात्तिक २६ सम्म ११ नेपाली फिल्म प्रदर्शन हुने रिलिज क्यालेन्डर तय भएको छ।
- २३ असोजमा ‘टनेल २६’ र ‘अक्षरा’, ३० असोजमा ‘१२ गाउँ २’ र ‘आबाट आमा २’ तथा ३१ असोजमा ‘छ माया छपक्कै २’ प्रदर्शनमा आउनेछन्।
- ६ कात्तिकमा ‘कबड्डी ५’, १३ कात्तिकमा ‘परिवार’, २० कात्तिकमा ‘पाँच पाण्डव’, ‘माया भनेकै यस्तो होला’ र ‘जिरो डिग्री’, तथा २६ कात्तिकमा ‘बाटुलो जून’ रिलिज हुनेछन्।
काठमाडौं । दशैं-तिहार नेपाली फिल्मका लागि व्यावसायिक रूपमा महत्त्वपूर्ण समय मानिन्छ । लामो बिदा र चाडपर्वको माहोललाई लक्षित गर्दै यो याममा ठूला बजेट र चर्चित कलाकारका फिल्मबीच बक्सअफिसमा प्रतिस्पर्धा हुने गर्छ ।
पछिल्ला केही वर्षको प्रवृत्ति हेर्दा चाडपर्वमा केही निर्माताका फिल्म प्रदर्शन हुनु नियमितजस्तै बनेको छ । लामो बिदा, उत्सवको माहोल र मनोरञ्जनमा खर्च गर्ने दर्शकको रुचिलाई ध्यानमा राख्दै निर्माताहरू यस अवधिमा फिल्म प्रदर्शन गर्न आकर्षित हुन्छन् ।
यद्यपि, बक्सअफिसमा सफल हुन चाडपर्व नै अनिवार्य सर्त भने होइन । फिल्मको विषयवस्तु र प्रस्तुतिले दर्शकलाई आकर्षित गर्न सके चाडपर्वको बिदाले व्यापार बढाउन थप मद्दत गर्न सक्छ ।
यस वर्षको दशैं-तिहारलाई लक्षित गर्दै असोज र कात्तिकमा प्रदर्शन हुने नेपाली फिल्मको रिलिज क्यालेन्डर लगभग तय भएको छ । २३ असोजदेखि सुरु हुने प्रदर्शनको शृंखलामा ११ नेपाली फिल्म समावेश छन् ।
२३ असोज : ‘टनेल २६’ र ‘अक्षरा’
दशैंलक्षित फिल्म प्रदर्शनको सुरुवात २३ असोजदेखि हुँदैछ । यस दिन ‘टनेल २६’ र ‘अक्षरा’ एकसाथ प्रदर्शनमा आउनेछन् ।
भुटान, नेपाल र भारतको सहनिर्माणमा बनेको ‘टनेल २६’ जोम्बी थ्रिलर जनराको फिल्म हो । नेपाली फिल्ममा विरलै प्रयोग भएको यो जनरालाई फिल्मले प्रस्तुत गर्नेछ । न्यान्सी खड्का अभिनीत ‘अक्षरा’ भने नारीप्रधान फिल्म हो ।
३० असोज : ‘१२ गाउँ २’ र ‘आबाट आमा २’
३० असोजमा दुई नेपाली फिल्मबीच प्रतिस्पर्धा हुँदैछ । यस दिन विराज भट्टको ‘१२ गाउँ २’ र चन्द्र पन्तको ‘आबाट आमा २’ प्रदर्शनमा आउनेछन् ।
‘१२ गाउँ २’ एक्सन जनराको फिल्म हो भने ‘आबाट आमा २’ पारिवारिक ड्रामा हो । फरक जनराका यी दुई फिल्मले दशैंको सुरुवाती बिदामा दर्शक आकर्षित गर्ने प्रयास गर्नेछन् ।
३१ असोज : ‘छ माया छपक्कै २’
दशैंको फूलपातीका दिन अर्थात् ३१ असोजमा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शनमा आउँदैछ ।
एक दिनको अन्तरमा तीन फिल्म प्रदर्शन हुने भएकाले दशैंको सुरुवाती बक्सअफिसमा प्रतिस्पर्धा हुने देखिन्छ । यसले फिल्महरूको ओपनिङ व्यापारमा कस्तो प्रभाव पार्छ भन्ने चासो रहनेछ ।
६ कात्तिक : ‘कबड्डी ५’
विजयादशमीको दुई दिनपछि अर्थात् ६ कात्तिकमा रामबाबु गुरुङ निर्देशित प्रतीक्षित फिल्म ‘कबड्डी ५’ प्रदर्शनमा आउनेछ ।
दयाहाङ राई अभिनीत यो फिल्म उक्त मितिमा एकल प्रदर्शनमा आउने तय भएको छ । दशैंको बाँकी बिदा र तिहारलाई समेत लक्षित गर्दै बाँसुरी फिल्म्सले फिल्मको प्रदर्शन मिति छनोट गरेको देखिन्छ ।
१३ कात्तिक : ‘परिवार’
दशैंपछि १३ कात्तिकमा नेपाली फिल्म ‘परिवार’ प्रदर्शनमा आउनेछ । यसले चाडपर्वलक्षित फिल्म प्रदर्शनको शृंखलालाई निरन्तरता दिनेछ ।
२० कात्तिक : ‘पाँच पाण्डव’, ‘माया भनेकै यस्तो होला’ र ‘जिरो डिग्री’
२० कात्तिकमा एकैदिन तीन नेपाली फिल्म प्रदर्शनमा आउने तय भएको छ । यस दिन ‘पाँच पाण्डव’, ‘माया भनेकै यस्तो होला’ र ‘जिरो डिग्री’ बीच बक्सअफिसमा प्रतिस्पर्धा हुनेछ ।
मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’सँगै रेखा थापा अभिनीत ‘माया भनेकै यस्तो होला’ प्रदर्शनमा आउनेछ । सोही दिन ‘जिरो डिग्री’ पनि रिलिज हुने भएकाले तीन फिल्मबीच दर्शक तान्ने प्रतिस्पर्धा हुनेछ ।
२६ कात्तिक : ‘बाटुलो जून’
तिहार बिदाको अन्तिम दिन बिहीबार अर्थात् २६ कात्तिकमा भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ प्रदर्शनमा आउनेछ ।
भाइटीकाको भोलिपल्ट प्रदर्शनमा आउन लागेको यो फिल्ममा अनमोल केसीको मुख्य भूमिका छ । यसले यस वर्षको दशैं-तिहारलक्षित नेपाली फिल्म प्रदर्शनको शृंखलालाई टुंग्याउनेछ ।
यसरी असोज र कात्तिकमा ११ नेपाली फिल्म प्रदर्शनको तयारीमा छन् । केही मितिमा दुईदेखि तीनवटा फिल्मबीच प्रतिस्पर्धा हुने देखिन्छ भने केही फिल्मले एकल प्रदर्शनको अवसर पाएका छन् ।
यो रिलिज क्यालेन्डरमा विदेशी फिल्मलाई भने समावेश गरिएको छैन । यस अवधिमा ठूला स्टारका विदेशी फिल्म पनि प्रदर्शनको तयारीमा रहेकाले नेपाली फिल्मले घरेलु प्रतिस्पर्धासँगै विदेशी फिल्मको चुनौतीसमेत सामना गर्नुपर्नेछ ।
प्रतिक्रिया 4