News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा दोस्रो पुस्ताका पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह प्रतिस्पर्धामा नहुने भएका छन्।
- असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सभापति र पदाधिकारीमा मुख्यतः तेस्रो उमेर समूहका नेता चुनावी मैदानमा देखिने भएका छन्।
- विश्लेषक गेजा शर्मा वाग्लेले कांग्रेसको नेतृत्व पहिलो पुस्ताबाट एकैपटक तेस्रो पुस्तामा जाने सम्भावना बनेको बताउनुभएको छ।
९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा एउटा उमेर समूहका नेताहरू यसपटक प्रतिस्पर्धी समेत नहुने भएको छन् । पूर्व सभापति शेरबहादुर देउवा पछिको दोस्रो पुस्ता आसन्न महाधिवेशन मूल नेतृत्वको प्रतिस्पर्धा भन्दा बाहिर रहने अवस्था बनेको छ ।
असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनमा सभापति र पदाधिकारीमा मुख्यतः तेस्रो उमेर समूह रहेका नेताहरू चुनावी मैदानमा देखिने छन् । दोस्रो उमेर समूहका नेताहरू पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, डा.शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतले प्रतिस्पर्धा गर्ने छैनन् । यी सबै नेताहरु विशेष महाधिवेशनको विपक्षमा थिए । विशेष महाधिवेशनको नेतृत्व स्वीकार्न तयार नभएका यी नेताहरू असोजमा हुने नियमित महाधिवेशनको पक्षमा पनि छैनन् ।
नेताहरू शशांक कोइराला, निधि, सिटौला, सिंह लगायतका नेता संस्थापनइतरको छुट्टै महाधिवेशनका लागि अगुवाई गरिरहेका छन् । पूर्वसभापति देउवा पक्षले पूर्वमहामन्त्री शशांकलाई संयोजक तोकेर मंसिरमा १५ औं महाधिवेशनको मिति तोकेको छ । पूर्वउपसभाति खड्का र नेता शेखर दुवै पक्षले गर्ने महाधिवेशनप्रति अनिच्छुक छन् । महाधिवेशनका लागि दुई पक्षले तोकेका कार्यतालिका स्थगित गरेर सहमतिमा महाधिवेशन गर्नुपर्ने दृष्टिकोण खड्का र कोइरालाले राख्दै आएका छन् ।

अदालत र निर्वाचन आयोगको आदेश र निर्णय अनुसार सभापति गगन थापा नेतृत्वको समिति मूलधार भएको छ ।
पार्टी कार्यालय, चुनाव चिन्ह, झण्डा, हस्ताक्षर लगायतमा आधिकारिकता सभापति थापा नेतृत्वको समितिलाई छ । सभापति थापा नेतृत्वको संस्थापन पक्षले आव्हान गरेको महाधिवेशनमा दोस्रो उमेर समूहका नेताहरू चुनावी मैदानमा नहुँदा प्रतिस्पर्धा मूलतः तेस्रो उमेर समूहका वीचमा हुने भएको छ ।
६५ देखि ८० वर्ष मुनि उमेर समूह रहेका दोस्रो तहका नेताहरू सभापतिको प्रतिस्पर्धाबाट एकैपटक ‘रिङ आउट’ हुने भएका छन् ।
१५ औं महाधिवेशनमा युवा उमेर समूहदेखि ६० वर्ष मुनिका नेताहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । पारिवारिक विरासत, लामो राजनीतिक अनुभव, पार्टीमा विगतको भूमिका, प्रतिस्पर्धा लगायतले यी नेताहरूले सभापति पद आकांक्षा देखाउनु स्वभाविक हो । तर, पार्टीभित्र तेस्रो पुस्ता हाबी हुन लागेसँगै दोस्रो उमेर समूहका नेताहरू किनारा लाग्ने अवस्था बनेको छ ।

कांग्रेसको आठ दशकको इतिहासमा सम्भवतः पहिलोपटक पहिलो पुस्ताबाट एकैपटक तेस्रो पुस्तामा नेतृत्व जाने अवस्था बनेको छ । पहिलो र दोस्रो पुस्ताका नेताहरू सत्ताशक्ति वा विरासतको आधारमा नेतृत्व पंक्तिमा पुगेको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् ।
ती नेताहरूले पार्टी र सरकारमा पटकपटक अवसर प्राप्त गरेको तर अपेक्षाकृत डेलिभरी गर्न नसकेको वाग्ले विश्लेषण गर्दछन् । ‘त्यसैले त्यो नेतृत्वपंक्ति अलोकप्रिय मात्रै होइन, असफल पुष्टि भइसकेको थियो । कांग्रेसको भविष्य र सान्दर्भिकताका लागि उक्त अलोकप्रिय र असफल पंक्तिले कि स्वेच्छिक अवकास लिनु पर्थ्यो, कि अनिवार्य अवकास दिनु पर्थ्यो,’ वाग्लेले अनलाइनखबरसँग भने,‘तर उनीहरूले स्वेच्छिक अवकास लिएनन् । केहीले विशेषबाट अनिवार्य अवकाश पाए, केहीले आसन्न महाधिवेशनबाट अनिवार्य अवकाश पाउँदैछन् । विशेष महाधिवेशनबाट नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको छ । आसन्न महाधिवेशनबाट कांग्रेसलाई मौलिक रूपमा रूपान्तरण गर्नुपर्छ ।’
पार्टीभित्र समस्या उत्पन्न नभएको भए पूर्व संस्थापनबाट सभापति पदका आकांक्षीमा पूर्व उपसभापति पूर्णबहादुर खड्का हुने थिए ।
७० वर्षीय खड्काले पार्टीमा सम्हाल्न बाँकी पद सभापति मात्रै छ । कार्यवाहक सभापतिको भूमिका समेत निर्वाह गरिसकेका खड्काले साधारण सदस्य हुँदै उक्त पदसम्म पुगेका थिए ।

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट पार्टी राजनीतिमा आएका खड्का सुर्खेत जिल्ला सभापति, केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति बने ।
पूर्वसभापति देउवा तेस्रोपटक प्रतिस्पर्धा गर्न विधानले रोकेपछि उक्त समूहबाट सभापतिमा खड्का प्रतिस्पर्धी हुनुमा ‘निर्विकल्प’ जस्तै थियो । पार्टीभित्र दुई धार देखिएसँगै उनका लागि सभापति पदको प्रतिस्पर्धा अनिश्चित बनेको छ ।
देउवा उपचारको क्रममा विदेश रहँदा पूर्व संस्थापनको नेतृत्व गरेका खड्काले विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै अदालत गए । अदालतले सभापति थापा नेतृत्वलाई मान्यता दिएपछि पुनरावलोकनको निवेदन लिएर पुनः अदालत पुगे ।
अदालतले कांग्रेसको विवादमा निस्सा दिएपनि महाधिवेशन रोक्न गरेको मागलाई अस्विकार गरिदियो । पुनरावलोकन निवेदन लिएर अदालत गएको र मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रियामा सहभागी नहुने प्रष्टिकरण खड्काले दिएका छन् । ‘मुद्धा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको व्योहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहान्छु,’ पार्टी विभाजनको डिल पुगेको निष्कर्षमा पुगेका खड्का भन्छन्,‘पुनरावलोकनको आदेशलाई समेत सेन्सर नै गर्ने गरि महाधिवेशन रोक्का गर्न आवश्यक नदेखिएको भन्दै रिट जारी गरिदिएन । जसको परिणाम नेपाली कांग्रेसको नाममा अलग अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भयो । अब यदि कुनै चमत्कार भएन भने पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ।’
देउवाको उत्तराधिकारी भई खड्काले पार्टीको नेतृत्व गर्ने उक्त समूहमा विश्लेषण हुँदै आएपनि आसन्न महाधिवेशनमा उनी प्रतिस्पर्धी हुने छैनन् ।
१४ औं महाधिवेशनमा सभापति पदमा देउवालाई टक्कर दिएका अर्का नेता डा.शेखर कोइराला पनि आसन्न महाधिवेशनमा प्रतिस्पर्धी हुने छैनन् ।
मझदारको राजनीतिकर्मीका रुपमा आफूलाई उभ्याउँदै आएका ७७ वर्षीय कोइराला पार्टीको सभापति बन्ने इच्छा अनिश्चित बनेको छ ।
केन्द्रीय सदस्यबाट एकैपटक सभापतिमा प्रतिस्पर्धा गरेर देउवाका लागि चुनौती बनेका कोइराला पार्टी मूल नेतृत्वको दौड अब अनिश्चित बनेको छ ।

१४ औं महाधिवेशनमा कोइरालाले पहिलो चरणमा भन्दा दोस्रोचरणमा मत बढाएका थिए । तत्कालीन समयमा ‘एकैपटक यसैपटक’ भनि सभापतिको उम्मेदवार बनेका कोइरालाले पहिलो चरणमा १ हजार ७०२ र दोस्रो चरणमा १ हजार ८५५ मत ल्याएका थिए ।
कोइराला परिवारका सदस्यहरू भाइ शशांक र बहिनी सुजाता कोइराला उनको पक्षमा नहुँदा समेत देउवालाई कडा टक्कर शेखरले दिएका थिए ।
१४ औं महाधिवेशन सकिएको केही समय पछि नै १५ औंमा सभापतिमा प्रतिस्पर्धा गर्ने तयारी गरिसकेका थिए ।
जेनजी आन्दोलन लगत्तै पार्टीमा विशेष महाधिवेशनको एजेण्डा उठ्दा प्रारम्भमा कोइराला पनि सकारात्मक थिए । कोइरालाले ‘ग्रिन सिंग्नल’ दिए लगत्तै त्यसबेला उनी निकट रहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे लगायतले विशेष महाधिवेशनको हस्ताक्षरमा अगुवाई गरे ।
कोइराला विशेष महाधिवेशनको मागबाट पछि हटे । उनी पक्षीय नेताहरु भने विशेषकै पक्षमा लागे । मध्यमार्गी धारको नेतृत्व गरेका कोइराला दुबै पक्षको महाधिवेशनको विपक्षमा छन् । पार्टी एकता सहित एउटै महाधिवेशन गर्नुपर्ने उनको विचारहरू प्रवाह भइरहेका छन् । कोइराला भन्छन्,‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौं एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं ।’
कोइरालाको आग्रहलाई पार्टीभित्रका दुवै पक्ष स्विकार गर्न तयार छैनन् । कोइराला स्वयं भने दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा छन् । पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमले कोइरालाको सभापति हुने इच्छा पुरा नहुने देखिएको छ ।
पूर्वसभापति गिरिजाप्रसाद कोइराला आड भरोसाले डा. कोइरालालाई सक्रिय राजनीतिमा प्रवेश गर्ने बाटो खुलेको थियो । २०६२ सालमा भएको ११ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका थिए ।
१३ औं महाधिवेशनमा महामन्त्री प्रतिस्पर्धा गर्ने इच्छा राखेका उनले अन्तिममा डा.शशांकलाई समर्थन गर्ने गरी पछि हटेका थिए । त्यसबेला महामन्त्री नउठ्नुमा आफूलाई पश्चाताप रहेको उनले विगतमा बताउँदै आएका थिए ।
१४ औं महाधिवेशनमा सभापतिमा देउवालाई पराजित गर्न ‘आफू बाहेक अरुले नसक्ने’ विचार राख्ने व्यक्ति हुन्– डा.शशांक कोइराला ।
त्यसबेलाको संस्थापनइतरमा सभापतिको उम्मदेवार एक व्यक्तिको नाममा सहमति जुट्न नसकेपछि शशांक ‘तटस्थ’ बसेका थिए ।
केन्द्रीय सदस्यमा खुलातर्फ सर्वाधिक ३ हजार ८३६ मत ल्याएका थिए । १३ औं महाधिवेशनमा शशांकले महामन्त्री पदमा १ हजार ४१७ मत पाएका थिए ।

६७ वर्षीय शशांक कांग्रेसको मूलधारको महाधिवेशनमा सहभागी हुँदै छैनन् । उनले देउवा समूहबाट हुने छुट्टै महाधिवेशन तयारीको नेतृत्व गरिरहेका छन् । संस्थापनइतरका शीर्ष नेताहरू निधि, सिटौला, सिंह लगायत उनलाई समूहको संयोजक बनाउन तयार भएका छन् ।
संस्थापक नेता वीपी कोइरालाका पुत्र शशांकको सक्रिय राजनीति १२ औं महाधिवेशनबाट सुरु भएको हो । तत्कालीन समयमा पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई केन्द्रीय सदस्य बनाएका थिए ।
१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका निधि विशेष महाधिवेशनको विपक्षमा प्रतिक्रिया दिने नेताहरूको अग्रपङ्तिमा छन् । विशेष महाधिवेशनलाई उनले अवैध भन्दै आएका छन् । संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नहुने निधि संस्थापनइतरमा सभापति पदमा उम्मेदवार हुने/नहुने अनिश्चित छ ।
१४ औं महाधिवेशनमा देउवा समूहबाट ‘विद्रोह’ गरेर सभापतिको उम्मेदवार बनेका निधिले २५० मत पाएका थिए । दोस्रो चरणको मतदानमा भने उनै देउवालाई साथ दिए । ७० वर्षीय निधिको पनि सभापति हुने धोको अनिश्चित बनेको छ ।

पार्टीको मूल पदमा बाहेक उनले अन्य सबै जिम्मेवारी सम्हालिसकेका छन् । निधिले उपसभापति र महामन्त्रीको पदमा भूमिका निर्वाह गरिसकेका छन् । नेविसंघको अध्यक्षमा देउवाको उत्तराधिकारी बनेका निधि सभापति हुने चाहनाले पूर्ति हुनेमा अनिश्चितता थप बढेको छ । कुनै समय मधेसमा कांग्रेसको राजनीति निधि वरपर घुम्ने गरेपनि हाल उनको पकड गुमेको छ ।
अघिल्लोपटक सभापतिको उम्मेदवार बनेका अर्का नेता प्रकाशमान सिंह पनि सोही पदमा प्रतिस्पर्धी हुने बाटो साघुँरिएको छ । सिंहले १४ औं महाधिवेशनको पहिलो चरणको मतदानमा ३७१ मत प्राप्त गरे । दोस्रो चरणमा सभापतिमा देउवालाई सघाए । विशेष महाधिवेशनको विपक्षमा रहेका सिंह संस्थापनइतरले गर्ने महाधिवेशनमा सभापतिको उम्मेदवार हुने/नहुने निर्णय लिइसकेका छैनन् । ७० वर्षका सिंहको पनि सभापति हुने चाहनामा ‘ब्रेक’ लागेको छ ।
नेविसंघबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका सिंहले पदाधिकारीका पदहरू उपसभापति र महामन्त्रीको पदको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी काठमाडौं जिल्ला सभापति भएकै बेला तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनको कार्यसमिति भंग गरिदिएपछि केन्द्रीय सदस्यमा उठेर जितेका थिए ।
संस्थापक नेता गणेशमान सिंहका पुत्र प्रकाशमानको सभापति हुने इच्छा पूर्ति हुन कठिन हुँदै गएको छ । एक समय काठमाडौंको कांग्रेस राजनीतिलाई एकक्षत्र काबुमा राख्न सफल थिए । हाल उपत्यकामा उनको सांगठनिक अवस्था कमजोर छ ।

१३ औं महाधिवेशनमा छुट्टै प्यानल बनाएर सभापति पदमा उठ्ने हिम्मत गरेका पूर्व महामन्त्री सिटौला त्यही पदमा प्रत्यासी हुने/नहुने अन्योल छ । १३ औं महाधिवेशनमा सभापति पदमा ३२४ मत प्राप्त गरेका उनले दोस्रो चरणमा देउवालाई सघाएका थिए । १४ औं महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगरेका सिटौलाले देउवासँग गठबन्धन बनाए ।
७७ वर्षिय सिटौलाका लागि सभापति पद अब थप टाँढिदै गएको छ । २०३३ सालदेखि कांग्रेस राजनीतिमा क्रियाशील सिटौला पार्टीको कार्यकारी पद महामन्त्री सम्हालिसकेका छन् ।
गृह जिल्लाबाट पार्टी राजनीति गरेर उनी केन्द्रीय राजनीतिमा आइपुगेका हुन् । २०४३ सालमा झापामा कांग्रेसको उपसभापति बनेका सिटौला २०४६ सालपछि जिल्ला सभापति बनेका थिए ।
संकट व्यवस्थापनमा अनुभवी मानिएका सिटौला पार्टीमा उक्त क्षमता देखाउन नसकेको विश्लेषण हुने गरेको छ ।
१३ औं महाधिवेशनमा बनेको समूहलाई एकढिक्का कायम गरिराख्न नसकेका सिटौलाका लागि सभापति बन्न थप कठिनाई बनेको छ ।

राजनीतिक विश्लेषक वाग्लेको बुझाईमा १५ औं महाधिवेशनले ‘कांग्रेस बुढाहरूको पार्टी हो भन्ने न्यारेटिभ’को अन्त्य गर्नेछ । संशोधित विधान अनुसार युवाहरूको उल्लेखनीय उपस्थिति पार्टी संरचनामा हुने वाग्ले बताउँछन् ।
वाग्ले भन्छन्,‘स्थानीय तहदेखि युवा पुस्ताको सहभागिता, प्रतिनिधित्व र नेतृत्व तहमा देखिएको उदयले आज कांग्रेस भनेको युवाहरूको पार्टी हो भन्ने न्यारेटिभ बन्दै गएको छ । कांग्रेस पुनर्गठन र रूपान्तरणका दृष्टिले यो महत्त्वपूर्ण ‘माइलस्टोन’ हो । अब नेतृत्वको मापदण्ड भनेको वंशज र विरासत होइन, विचार र भिजन हो । नेताको आशीर्वाद होइन, जनता र कार्यकर्ताको विश्वास हो । त्यसैले अब युवा पुस्ताको अग्निपरीक्षा सुरु भएको छ ।’
प्रतिक्रिया 4