News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको विष्णुपुर गाउँपालिका–१ मा दुई दिनको वर्षा र बिहीबार रातिको हावाहुरीले किसान गोपिन्द्र यादवको करिब दुई बिघा उखुबारीमा क्षति पुर्याएको छ।
- यादवले ऋण र सापटी लिएर करिब ४ लाख रुपैयाँ लगानी गरेको उखुखेतीबाट करिब १० लाख रुपैयाँ आम्दानीको अपेक्षा गरेका थिए।
- उखु ढलेपछि अब लगानीसमेत नउठ्ने र परिवार चलाउनै मुस्किल हुने अवस्था आएको उनले बताएका छन्।
९ असोज, सिरहा । दुई दिनदेखि लगातार परेको वर्षा र बिहीबार राति आएको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको उखुबारीमा क्षति पुर्याएको छ । उनले करिब दुई बिघा जमिनमा लगाएको उखुबारीमा ठूलो क्षति पुगेको हो ।
यादवले जग्गा भाडामा लिएर करिब तीन बिघा क्षेत्रफलमा उखु खेती गरेका थिए । हावाहुरी र वर्षाका कारण उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानीसमेत नउठ्ने अवस्था आएको उनले बताएका छन् ।

यादवका अनुसार उखु खेतीमा उनले ऋण तथा सापटी लिएर करिब ४ लाख रुपैयाँ लगानी गरेका थिए । उखु राम्रो उत्पादन भएको भए करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा थियो । तर हावाहुरी र वर्षाले उखु ढलेपछि अब लगानीसमेत फिर्ता नहुने चिन्ता उनलाई छ ।

‘जसोतसो जग्गा भाडामा लिएर उखु लगाएको थिएँ । राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो,’ यादवले भने, ‘अब त लगानी पनि नउठ्ने भयो। खेतीबाटै घरपरिवार चलाउँदै आएको थिएँ, अब परिवार चलाउनै मुस्किल हुने अवस्था आयो ।’
यादव विष्णुपुर गाउँपालिका–१ का पूर्ववडा अध्यक्षसमेत हुन् । निर्वाचनमा पराजित भएपछि उनी अहिले पुन: कृषि कर्ममा फर्किएका छन् ।


प्रतिक्रिया 4