+
+
Shares

काठमाडौं उपत्यकासहित पूर्वी भागमा ठूलो पानी नपर्ने, पश्चिमतिर भोलिसम्म जोखिम

‘काठमाडौं उपत्यकाको हकमा केहीबेर आकाश खुल्ने र बादल लाग्ने हुन्छ तर अघिल्ला दिनहरु जस्तो लगातार वर्षाको सम्भावना छैन,’ मौसमविद रोजन लामिछानेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते ७:११
गत २४ घण्टामा वर्षा भएको क्षेत्र र वर्षाको मात्रा । फोटो : नेपाल मौसम विज्ञान विभाग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आजदेखि वर्षा कम हुने र सोमबारदेखि आकाश खुल्ने जनाएको छ ।
  • विभागले पश्चिमी भूभागमा आज र भोलि पनि भारीदेखि धेरै भारी वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ ।
  • पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २४७ मिलिमिटर र १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ ।
  • बाढीपहिरोको उच्च जोखिमका कारण २५ जिल्लामा रातदिन सवारी साधन पूर्णरुपमा बन्द गर्न निर्देशन दिइएको छ ।

१० असोज, गुल्मी । नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आजबाट पानी पर्न कम हुने जनाएको छ । तर पश्चिमी भूभागमा भने आज र भोलि पनि वर्षा निरन्तर हुने सम्भावना रहेको विभागले जनाएको छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमश: पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले जानकारी दिए ।

‘पूर्वमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । तर पश्चिममा भने आज र भोलि पनि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ,’ लामिछानेले भने ।

उनका अनुसार भोलि साँझसम्म पनि पश्चिम क्षेत्रमा वर्षाको सम्भावना छ । भोलि दिउँसो वा साँझदेखि पूर्वी भूभागमा मौसममा उल्लेखनीय सुधार देखिने उनले बताए । कतै कतै बादल लाग्ने र हल्का वर्षा हुने भए पनि ठूलो पानी नपर्ने उनको भनाइ थियो ।

काठमाडौंको मौसम कस्तो होला ?

पानी पार्ने प्रणाली क्रमश: पश्चिमतिर सर्दै गएकाले काठमाडौं उपत्यकामा पनि पानी पर्न कम हुँदै गएको छ । मौसमविद लामिछानेले काठमाडौंमा तत्काल लगातार वर्षाको सम्भावना नरहेको बताए ।

‘काठमाडौं उपत्यकाको हकमा केहीबेर आकाश खुल्ने र बादल लाग्ने हुन्छ तर अघिल्ला दिनहरु जस्तो लगातार वर्षाको सम्भावना छैन,’ मौसमविद लामिछानेले भने ।

सोमबारदेखि भने काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा मजाले आकाश खुल्ने सम्भावना रहेको उनले बताए ।

पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा

पानी पार्ने प्रणाली पश्चिमतिर सर्दै गएकाले कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा मात्र भएको छ । तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा गुल्मीको भार्से मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ११४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २४७ मिलिमिटर वर्षा मापन भएको छ । यो भनेको अति भारी वर्षा हो ।

पश्चिमी भूभागमा वर्षा धेरै वर्षा हुने पूर्वानुमान अनुसार २५ जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् । बाढी पहिरोको उच्च जोखिममा रहेका कारण ती जिल्लाहरूमा सवारी साधन राति र दिउँसो दुवै समयमा पूर्णरुपमा बन्द गर्न गरिएको छ ।

त्यस्तै सुन्तला रंगले संकेत गरिएका २९ जिल्लाहरुमा रातको समयमा सवारी साधन बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आवश्यक निर्णय लिने भनिएको छ ।

पहेँलो रङले संकेत गरिएका २३ जिल्लाहरूमा सतर्क रहन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?