१० असोज, सुर्खेत । भारी वर्षासँगै हिमपात भएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
सडकमा बाक्लो हिउँ जम्दा आवागमन प्रभावित भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले सडकमा जमेको हिउँ हटाएर यातायात सञ्चालन सहज बनाउने प्रयास गरिरहेको छ ।
शुक्रबारदेखि हुम्लासहित हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपात भइरहेको छ । हिमपातका कारण हिल्सा क्षेत्रको सडकमा हिउँ जमेको र सर्वसाधारणको आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
सडकमा जमेको हिउँ हटाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए । उनका अनुसार हिमपातका कारण सडक अवरुद्ध भएपछि प्रहरी टोलीले सडक खुलाउने काम गरिरहेको छ ।

हिल्सा चीनसँगको सीमा नाका क्षेत्रमा पर्ने भएकाले यहाँको सडक आवागमनका लागि महत्वपूर्ण मानिन्छ । हिमपातका कारण सडकमा हिउँ जम्दा सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै स्थानीयको दैनिक गतिविधिसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।
भारी वर्षासँगै हिमपात भइरहेकाले हुम्लाका उच्च हिमाली क्षेत्रमा चिसो बढेको छ । मौसम प्रतिकूल रहेकाले सडक तथा आवागमनमा थप समस्या आउनसक्ने अवस्था रहेको छ ।
प्रहरीले सडकको अवस्था हेरेर आवश्यक स्थानमा हिउँ हटाउने तथा आवागमन सहज बनाउने काम गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले हिल्सा क्षेत्रमा हिमपातका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताएको छ ।
प्रतिक्रिया 4