News Summary
Generated by OK AI. Editorially reviewed.- लगातार भारी वर्षापछि सेती नदीको बहाब बढ्दा पोखराको रामघाटमा ठूलो ताल बनेको छ र शवदाहस्थल जलमग्न भएको छ।
- विज्ञहरूले रामघाट, केआईसिंह पुल र नारायण थानका साँघुरा घाँटी भासिएर सेतीमा थप बाढी आए ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।
- कास्की प्रशासनले ग्रामीण क्षेत्र र लामो दूरीको यातायात रोक्दै अन्नपूर्ण, मर्दी र कोरी पदयात्रामा गएका करिब ४ सय पर्यटकलाई सुरक्षित ठाउँमा राखेको छ।
१० असोज, पोखरा । सेती नदीको बहाब बढ्दा अहिले पोखरा रामघाटमा ठूलो ताल नै बनेको छ । सेतीले बनाएको विशाल रामघाट अहिले ताल बन्दा शवदाहस्थल जलमग्न भएको छ भने रामघाटका आसपासका बस्ती तथा मन्दिरहरूसमेत जोखिममा देखिएका छन् ।
तुलसी घाटदेखि शान्ति वननेरसम्म ठूलो ताल बनेको हो र यसको सतह यसपटक धेरै नै माथि देखिएको छ । धेरैले सेती नदी थुनिएर ताल बनेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् भने केही सञ्चार माध्यमले पनि सेती नदी थुनिएको भन्दै खबर फैलाइरहेका छन् ।
सेती नदी थुनिएको भन्दै खबर फैलिए पनि हेर्न जानेहरूको संख्या पनि बढिरहेको छ । रामघाटमा सेतीबाट बनेको तालमा पानीसँग फोहोरहरूसमेत थुप्रिरहेको देखिन्छ । एकातिरको शवदाह स्थलसमेत पानीको सतहमुनि परेको छ भने शान्ति वन क्षेत्रबाट धेरै नै पानी सतह बढेको स्थानीयले बताएका छन् ।
मानिसहरू रामघाटमा सेती नदी थुनिएर ताल बनेको भन्दै त्रासमा रहे पनि त्यो सत्य भने नभएको सरोकारवालाहरू बताउँछन् । रामघाटमा देखिएको यो नौलो दृश्य होइन । हरेक वर्ष औसतभन्दा बढी पानी पर्नेबित्तिकै रामघाटमा ताल बन्छ ।
रामघाटमा यही असार अन्तिममा पनि ताल बनेको थियो । सेती नदी र यसबाट निम्तिन सक्ने विपद्बारे अध्ययन गरेका इन्जिनियर डाक्टर नारायण गुरुङ त सन् २०१८ मा शान्ति वनको ढिक छुन करिब डेढ, दुई मिटरमात्र बाँकी रहने गरी रामघाटमा ताल बनेको बताउँछन् ।

सेतीका कारण रामघाटमा हरेक वर्ष ताल बन्छ तर यसबारे धेरै अध्ययन, विश्लेषण र सरकारले थाल्नुपर्ने गम्भीर तयारीबारे भने खासै चर्चा नै हुने गरेको छैन । पछिल्ला वर्षहरूको दाँजोमा यसपटक लगातार २ दिनदेखि भारी वर्षा भइरहँदा सेतीको बहाब पनि बढेको छ । जसका कारण अरु बेलाभन्दा रामघाटमा ठूलो ताल बनेको छ ।
हरेक वर्ष रामघाटमा किन ताल बन्छ र नदी थुनियो भनेर चर्चा भइरहन्छ त ? डा. नारायण भन्छन्, ‘रामघाटबाट सेती बग्ने घाँटी शान्तिवन नेर असाध्यै साँघुरो र सानो छ, जसका कारण हरेक वर्ष त्यहाँ ताल पर्छ । तर, यो बाघ बाघ आयो भनेर झुक्याउँदा एक दिन साँच्चिकै बाघ आएको भनाइजस्तै एकदिन थुनिएर बिपत्ति निम्त्याउने सम्भावित ठाउँ हो, यो ।’
सेती नदी फराकिलो ठाउँबाट बग्दै आउँछ र फेरि साँघुरो घाँटी (जसलाई प्राविधिकहरूले बोटलनेक भन्छन्) हुँदै छिर्छ, खोंचहरूबाट लुक्दै रहस्यमयी हिसाबले बग्छ । पानी परेर सेतीको बहाब बढ्नेबित्तिकै रामघाट लगायतका ठाउँमा रहेका साँघुरा घाँटीमा अवरोध पुग्छ र ताल बन्छ । केआइसिंह पुल, नारायण थान, रामघाट हुँदै रातो पैरोलगायतका ठाउँमा सेती बग्ने साँघुरो घाँटी छ ।
‘जोखिम कहाँनेर हो भने साँघुरो घाँटीका कारण ताल बनिरहेका बेला त्यहीँ घाँटी भासियो भने वा सेतीमा कुनै बाढी थपियो भने ठूलो क्षति बेहोर्नुपर्ने हुनसक्छ,’ डा. नारायण भन्छन्, ‘नत्र पोखरेलीलाई सेती थुनिएर ताल बन्नु सामान्य लागिसक्यो । मान्छेले ध्यान दिन छाडिसके तर अनदेखा गर्न मिल्दैन, यो जुनसुकै बेला साँच्चिकै थुनिन पनि सक्छ ।’
सेती नदीको स्वरुप र प्रकृतिलाई अध्ययन गरिरहेकाहरूले यहाँको जोखिमलाई बेला बेला उजागरसमेत गर्ने गरेका छन् । रामघाट, केआईसिंह पुल वा नारायण थानका घाँटीहरूका आसपासमा मानवीय अतिक्रमणसमेत भइरहेका छन् ।
‘हाम्रा विभिन्न अध्ययनहरूले के देखाएका छन् भने यी घाँटीहरू भत्किन सक्ने सम्भावना पनि छ । घाँटी थुनिने र यही बेला कुनै कारणले सेतीमा बाढी आयो भने ठूलो भयावह स्थिति सिर्जना हुन सक्छ,’ उनले भने ।

रातो पैह्रोतर्फ पनि डिलहरू चर्किएर बसेका छन् । ढिस्काहरू झुन्डिएर बसेकोजस्तो पनि देखिन्छ । संघीय, प्रदेश र स्थानीय सरकार मिलेर साँघुरो घाँटीहरू ब्लास्ट गरेर फराकिलो बनाउन सकिने उनको सुझाव छ ।
२०६९ सालमा सेतीमा आएको बाढीजस्तै अर्को विपत्ति आयो र यसरी नै दुई तिन ठाउँमा ताल बनिरहेका बेला त्यो बाढी थपियो भने के होलन हुन सक्छ भनेर अनुमान गर्न र सतर्क रहन सरकारदेखि नागरिकसम्मलाई डा. गुरुङ आग्रह गर्छन् ।
यस्तो हुनु भनेको चाहिँ, हाम्रो लागि त, यो त, हामीले हरेक वर्ष, विशेष गरी यो रामघाटमा देख्नु भनेको, हाम्रो लागि नियमित, कर्म जस्तै भइराखेको छ है।
रामघाट क्षेत्र पानीको निकास मार्ग साँघुरो खोंच र नदीका किनारहरू भत्किने प्रक्रियाका कारण नदी थुनिने र प्राकृतिक बाँध बन्ने उच्च जोखिम रहेको विज्ञहरूले औंल्याउँदै आइरहेका छन् ।
रामघाटको होचो भू–भाग प्रत्येक वर्षको मनसुनमा सामान्य रूपमै पनि कम्तीमा १ देखि २ पटकसम्म डुबानमा पर्दै आएको हो । सेतीमाथिको चाइना पुल (पृथ्वीराजमार्गको पुल) देखि रातोपैह्रोसम्मको खोंच खण्डमा नदीको सतह गहिरिने र किनारहरू ढल्ने तीव्र प्रक्रिया चलिरहेको २०६९ को बाढीपछि भएको सेतीको अध्ययन प्रतिवेदनलेसमेत चेतावनी दिएको छ ।
रामघाटमा सेतीको खोंच वा भित्ताको उचाइ १३.५८ मिटर मात्रै छ । नदीको चौडाइ ६.२ मिटर मात्र हुने गरी अत्यन्तै साँघुरो अवस्थामा खुम्चिएको अध्ययनहरूले देखाएका छन् । सम्पूर्ण खोंचको माथिल्लो किनारदेखि अर्को किनारसम्मको कुल चौडाइ भने ९६.४५ मिटरसम्म फैलिएको छ ।
रामघाटको सतह र सेतीको बहाब अझै बढ्न सक्ने सम्भावना रहेकाले सचेत रहन प्रशासनले आग्रह गरिरहेको छ ।

कास्कीमा ८ गतेदेखि नै अतिभारी वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार कास्कीमा पछिल्लो २४ घन्टामा १४३.४ मिलिलिटर पानी परेको छ । विभागका अनुसार १०० मिलिलिटरभन्दा माथि बढेपछि अति भारी वर्षा भनिन्छ ।
नेपालकै धेरै पानी पर्ने मानिने लुम्लेमा मात्र १२६.२ मिलिलिटर पानी परेको मापन गरिएको छ । असोज ८ गतेदेखि भारी वर्षाका कारण बाढी, पहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सतर्क गराएको थियो । आज शनिबार पनि भारी वर्षा हुने विभागले जनाएको छ तर आइतबारबाट भने मध्यममा झर्न सक्ने उसको भनाइ छ ।
ग्रामिण क्षेत्रमा र लामो दूरीको यातायात सञ्चालनमासमेत रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए । सम्भावित विपद्लाई ध्यानमा राख्दै उद्धार तथा सुरक्षा टोली सबै सामानसहित तम्तयार अवस्थामा राखिएको छ ।
ग्रामिण क्षेत्रमा र लामो दूरीको यातायात सञ्चालनमासमेत रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए । सम्भावित विपद्लाई ध्यानमा राख्दै उद्धार तथा सुरक्षा टोली सबै सामानसहित तम्तयार अवस्थामा राखिएको छ ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार सम्भावित जोखिमलाई ख्याल गर्दै अन्नपूर्ण पदयात्रा, मर्दी हिमाल पदयात्रा, कोरीलगायतका ठाउँमा गएका करिब ४ सय पर्यटकलाई सुरक्षित ठाउँमा राखिएको छ भने केही जाँदै गरेकाहरूलाई फकाइएको छ । अहिले अन्नपूर्णलगायत कुनै पनि पदयात्रामा जान रोक लगाइएको छ ।
प्रतिक्रिया 4