+
+
Shares

खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने श्रम संस्कृति पार्टीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:०६

११ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीले खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने प्रस्ताव राखेको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन राख्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र श्रम संस्कृति पार्टीका सांसद आरेन राइले यस्तो प्रस्ताव राखेका हुन् ।

प्रस्तावित विधेयकको दफा १८ मा मूल ऐनको दफा २७ पछि २७क. थप गर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणको लागि अन्तर्राष्ट्रिय सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल र मानव बेचविखन तथा ओसारपसार सम्भावित स्थलमा निगरानीको व्यवस्था गर्नेछ ।’

निगरानी गर्दा मानव बेचबिखन वा ओसारपसारको कसुर भएको वा हुन लागेको शंका लागेमा निगरानी गर्न खटिएको अधिकारीले त्यस्तो सूचना अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारी वा नजिकको प्रहरी कार्यालयमा तुरुन्त दिनु पर्ने भनिएको छ ।

यही थप व्यवस्था गर्ने प्रस्तावमा संशोधन राखेर श्रम संस्कृति पार्टीले खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्नुपर्ने प्रस्ताव राखेको हो । ‘खुला सीमानाहरूमा कडा गर्दै भिसा सिस्टम लागू गर्ने’ भनेर ऐनमा लेख्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सांसद् आरेन राइको प्रस्ताव छ ।

सरकारले संगठित अपराधको रुपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरणक्ष गर्ने उदेश्यसहित विधेयक ल्याएको छ।

यो विधेयक महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गरेकी थिइन् । जसमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भइसकेको छ । त्यसपछि सांसदहरूले विधेयकउपर संशोधन प्रस्ताव राखेका हुन् ।

मन्त्री बादीका अनुसार बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितत्ता गर्ने, स्वदेशमा वा विदेशमा मानव बेचबिखन तथा ओसारपसारको कसुरको आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउने र दण्ड सजायको दायरालाई फराकिलो बनाउने उद्देश्यले विधेयक ल्याइएको हो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि संघीय संरचना बमोजिम तीन वटै तहमा संयन्त्र निर्माण गरी तीन वटै तहका सरकारलाई जिम्मेवार बनाउन, पीडित तथा प्रभावितको उद्धार तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई कानुनी रूपमा स्पष्ट गर्न खोजिएको छ ।

साथै बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अन्तर्गत मानव बेचबिखन, विषेश गरी महिला र बालबालिकाको बेचबिखन तथा ओसारपसारको रोकथाम, दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था भएको पुरक आलेखमा भएका प्रावधानलाई ऐनमा समेट्न लागिएको छ ।

यही विधेयकमाथि संशोधन प्रस्तावल राख्दै श्रम संस्कृति पार्टीले खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने प्रस्ताव राखेको हो । यो सहित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ माथि १११ वटा संशोधन परेको छ । सांसदहरूले २८ समूहमा १११ वटा संशोधन प्रस्ताव राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?