News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणले अविरल वर्षा, बाढीपहिरो, हावाहुरी र चट्याङबाट क्षति हुन सक्ने विद्युत् संरचना नियमित अनुगमन गरिरहेको छ ।
- कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सातै प्रदेशका कार्यालय प्रमुखसँग छलफल गरी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट आपूर्ति र तत्काल मर्मत गर्न निर्देशन दिए ।
- प्राधिकरणका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा ठूलो अवरोध देखिएको छ, जसले करिब १ हजार ३ सय ३ मेगावाट प्रणाली प्रभावित भएको छ ।
११ असोज, काठमाडौं । अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्था मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक तयारी र समन्वय तीव्र बनाएको छ ।
हाल देशभरि विद्युत् आपूर्ति अवस्था, प्रसारण तथा वितरण संरचना स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी लिने तथा अनुगमन गर्ने काम भइरहेको छ । सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोध तत्काल सुरु गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखी सोही बमोजिम काम सुरु गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभाग प्रमुखको सहभागितामा सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख र दुई डिभिजन कार्यालयका प्रमुखसँग जुम विधिमार्फत विद्युतीय संरचनामा पुगेको क्षति र विद्युत् आपूर्ति अवस्थामा छलफल गरी जानकारी लिएका छन् ।
छलफलमा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिइएको थियो ।
प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सुरु गर्न आवश्यक जनशक्ति, उपकरण र सामग्री तयारी तथा परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठबाट कार्यालय प्रमुखलाई आवश्यक निर्देशन दिइएको छ ।
साथै, कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडर मार्फत विद्युत् आपूर्ति सुरु गर्ने व्यवस्था र क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी सुरक्षित मर्मत तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिए ।
प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकता अनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा सम्भव भएसम्म वैकल्पिक व्यवस्थाबाट आपूर्ति सञ्चालन गर्ने र अवरुद्ध सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने गरी प्राधिकरणले आफ्ना सबै सम्बन्धित कार्यालय तथा प्राविधिक टोली परिचालन गरिएको छ ।
प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिम ध्यानमा राख्दै प्राधिकरणले कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षा प्राथमिकतामा राखेरमात्र मर्मत तथा पुनर्स्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।
प्राधिकरणबाट विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय गरिरहेको र उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनर्स्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको छ ।
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ । बाढीका कारण प्रसारण लाइनमा फल्ट आउनुका साथै विद्युत् उत्पादन केन्द्र र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
प्राधिकरणको हालसम्मको विवरण अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा विद्युत् प्रणालीमा ठूलो अवरोध देखिएको छ । विभिन्न लाइन, उत्पादन र लोडमा देखिएको अवरोध करिब १ हजार ३ सय ३ मेगावाट बराबर प्रणाली प्रभावित भएको देखिएको हो ।
प्रतिक्रिया 4