News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा बेपत्ता १० जनामध्ये २ जनाको शव फेला परेको छ।
- प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बाँकी ८ जनाको खोजी भोलिमात्र हुने र अहिले १० जना सम्पर्कमा आएको बताए।
- लगातार वर्षापछि चामेमा २ काठेपुल, २ कजवे, ५ घर र नासोंमा मर्स्याङ्दी झोलुंगे पुल बगाएको छ, ताल गाउँका करिब १० घर डुबानमा परेका छन्।
११ असोज, पोखरा। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा बेपत्ता भएका १० जनामध्ये २ जनाको शव फेला परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले दिएको जानकारी अनुसार उद्धार टोलीले हेलिकप्टरमा २ जनाको शव चामे ल्याइपुर्याएका हुन् ।
‘भर्खरै २ जनाको शव लिएर हेलिकप्टर आइपुगेको छ । आज अब बाँकीको खोजी तथा उद्धार गर्न सम्भव छैन । रात परिसकेकाले अब उद्धारमा समस्या पर्छ,’ सीडीओ खनालले भने, ‘अब भोलिमात्र उद्धार कार्य हुने छ ।’
हिमपहिरोदेखि ठाडो खोलामा बाढीसम्म एकै पटक आएको र मनाङमा बिजुली तथा नेटकर्वका कारण समस्या सिर्जना भएको उनको भनाइ थियो । उनले हिमलुङ हिमालतर्फ गएका अन्य १० जना पनि सम्पर्कमा आएको र उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी आएको बताए ।
मनाङको चामेमा ठाडो खोलाबाट झरेको लेदोले मस्र्याङ्दी नदीमा ताल बनेको तर आत्तिनुपर्ने अवस्था भने अहिलेसम्म नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । अहिले मर्स्याङ्दीमा नदीमा राखिएको सूचना प्रणालीमा साइरन बजिरहेको छ ।
लगातारको वर्षापछि चामेका खोलामा आएको बाढीले २ वटा काठेपुल, २ वटाको कजवे बगाएको छ । चामेका ५ वटा घर पूर्ण रुपमा क्षति भएको सिडिले खनालले जानकारी दिएका छन् ।
ताल गाउँमा करिब १० घर डुबानमा परेको छ । नासों गाउँपालिकामा मर्स्याङ्दी झोलुंगे पुल बगाएको छ । निसिङ गाउँपालिकाको सडकहरु अवरुद्ध छ । डोजर जाने अवस्था पनि छैन ।
प्रतिक्रिया 4