+
+
Shares

वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–काठमाडौं खण्डमा एक ठाउँको पहिरो पन्छाउन बाँकी छ । अन्य पहिरो पन्छाइसकिएको धादिङ प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षा रोकिएपछि पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित अवरुद्ध प्रमुख सडक आज दिउँसोसम्म खुलाउने तयारी तीव्र पारिएको छ।
  • बेनीघाट रोराङ–१० पानीधारामा ठूलो ढुंगासहित पहिरो खसेर दुईतर्फी बाटो अवरुद्ध भएको छ, र आज बिहानदेखि पन्छाउने काम सुरु गरिनेछ।
  • कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी, तमोर करिडोर, राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडकका पहिरो हटाउने काम पनि जारी छ।

१२ असोज, काठमाडौं । वर्षा रोकिएपछि अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ । पृथ्वी राजमार्ग लगायतका सडक खुलाएर आज दिउँसोसम्म गाडी सञ्चालन गर्ने तयारी छ ।

बुधबारदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत देशभरका सडक अवरुद्ध छन् ।

आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुलाएर पोखरातर्फ जाने सवारी साधन सञ्चालन गरिएको थियो । मुग्लिन–काठमाडौं सडकखण्डमा पनि धेरै ठाउँमा पहिरो पन्छाइएको थियो । तर कुनै–कुनै ठाउँमा भने सडक एकतर्फी छ ।

आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारा भन्ने स्थानमा ठूलो ढुंगासहित फेरी पहिरो खसेकाले दुईतर्फी नै बाटो अवरुद्ध भएको छ । सो पहिरो पनि पन्छाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग खुलाउने तयारी गरिएको धादिङ प्रहरीले जनाएको छ ।

सो स्थानको पहिरो राति हटाउन सम्भव नभएकाले आज बिहानैदेखि पुन: हटाउन सुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

‘पानीधाराको पहिरो पन्छाएपछि काठमाडौं जाने सडक पुरै खुल्छ,’ उनले भने ।

सडक खुले पनि कृष्णभिर क्षेत्रको सडकको अवस्था हेरेर गाडी सन्चालन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगैको बाढीपहिरोले कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर अन्तर्गतको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेका छन् ।

ती सडक खण्डमा पनि सबै पहिरो हटाएर र कुनै ठाउँमा डाइभर्सन बनाएर सवारी आवागमन सन्चालनको प्रयास भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?