+
+
Shares
विचार :

अब पुनर्निर्माण होइन, नवनिर्माण

हतारमा स्थायी संरचना निर्माण गर्दा विगतका कमजोरी र गल्ती दोहोरिने जोखिम मात्र हुँदैन, बदलिँदा र विकसित विकास संवेदनशील चुनौतीहरूको सही समाधान पनि नभेटिन सक्छ। त्यसैले स्थायी पुनर्निर्माणका लागि पर्याप्त समय र प्रमाणमा आधारित योजना आवश्यक छ। हामी पुरानै कमजोर अवस्थामा फर्कन हतार नगरौं।

सुशील पौडेल सुशील पौडेल
२०८३ असोज १३ गते ८:०८

रसुवा र आसपासका क्षेत्रमा गएको बाढीले गरेको विनाश निकै हृदयविदारक थियो। तर यस पीडादायी सङ्कटभित्र एउटा मधुरो आशाको किरण पनि देखिन्छ। यस सङ्कटलाई नेपालका लागि ऐतिहासिक फड्कोमा बदल्ने अभूतपूर्व अवसर अहिले हामीसामु छ।

विश्वव्यापी रूपमा यस विपद्‌प्रति देखिएको चिन्ता, सहयोग र ऐक्यबद्धता विरलै देख्न पाइन्छ। यो क्षण आफैंमा ऐतिहासिक छ। त्यसैले हाम्रो महत्त्वाकाङ्क्षालाई परम्परागत जलवायुजन्य क्षति तथा नोक्सानीको दाबीमा मात्र सीमित राख्नुहुँदैन।

हामीसामु रहेको अवसर त्योभन्दा धेरै ठूलो छ। यदि अहिले देखिएको विश्वव्यापी ऐक्यबद्धता र सद्भावलाई सदुपयोग गर्न सकिएन र सीमित स्वार्थका एजेन्डाहरूमा सीमित गरियो भने विपद्‌बाट प्रभावित समुदाय, हाम्रो राष्ट्र र नेपालका लागि सहयोग र प्रार्थना गरिरहेका सबैप्रति न्याय हुनेछैन।

यो सङ्कटले बृहत् गुरुयोजना र पूर्वाधार निर्माणको सोचमै आमूल परिवर्तनको माग गर्दछ। यो चुनौतीपूर्ण अवसर पुनरुत्थान, पुनर्निर्माण वा पहिलाभन्दा अझ राम्रो बनाउने अवधारणामा मात्र सीमित हुनुहुँदैन। अबको लक्ष्य यसभन्दा धेरै माथि उठेर नयाँ, पूर्ण रूपमा विपद् तथा जलवायु उत्थानशील हिमाली सभ्यताको आधार तयार गर्नु हुनुपर्छ र त्यो महत्त्वाकाङ्क्षी सुनिए पनि सम्भव छ।

नवीन सोच र योजनासहितको नवनिर्माण असम्भव छैन। त्यसका लागि ठूलो सपना देख्नुपर्छ र त्यसलाई बुद्धिमानीपूर्वक, चरणबद्ध र प्रमाणमा आधारित ढङ्गले कार्यान्वयन गर्नुपर्छ। प्रस्तावित प्रारम्भिक रूपरेखा सम्बन्धित क्षेत्रका विज्ञहरूसँगको छलफल, समान प्रकृतिका सफल अभ्यासहरू र स्थानीय स्रोतसाधनहरूको उपलब्धता एवम् आवश्यकताहरूको आधारमा थप सबल र विस्तृत बनाउन सकिन्छ।

१. प्रमाणमा आधारित जोखिम संरचना

कुनै पनि ठूलो निर्माण कार्य सुरु गर्नुअघि अनुमानका आधारमा होइन, विज्ञान र प्रमाणका आधारमा निर्णय गर्नुपर्छ।

  • बहुप्रकोप जोखिम मूल्याङ्कन: कुनै पनि नयाँ भौतिक संरचना निर्माण गर्नुअघि सो क्षेत्रको भौगोलिक, भूकम्पीय, बाढी, पहिरो तथा अन्य सम्भावित बहुप्रकोपीय जोखिमको विस्तृत अध्ययन र नक्साङ्कन गर्ने कुरा नवनिर्माणको पहिलो खुड्किलो हुनुपर्दछ।
  • बहुप्रकोपीय जोखिम प्रभावको नमुना विश्लेषण : भविष्यमा जलवायु परिवर्तन र सम्भावित विपद्‌का कारण आउन सक्ने विभिन्न अवस्थाको पूर्वानुमान गर्न आधुनिक प्रविधि र वैज्ञानिक नमुना विश्लेषणको प्रयोग गर्नुपर्छ। यसले बृहत् गुरुयोजना निर्माण, पूर्वाधारको डिजाइन तथा पूर्वसूचना प्रणाली निर्माणको आधार प्रदान गर्दछ।

२. बृहत् बहुप्रकोप संवेदनशील गुरुयोजना :

हाम्रा अनुभवहरूले वास्तविक उत्थानशीलता भनेको एउटा गाउँ सार्नु वा केही प्रभावित परिवारलाई मात्र पुनर्स्थापना गर्नु मात्र होइन बरु यसका लागि बहुक्षेत्रीय, प्रमाणमा आधारित एवम् बहुप्रकोप संवेदनशील बृहत् गुरुयोजना आवश्यक पर्दछ। यसमा प्रारम्भिक रूपमा निम्न क्षेत्रलाई समेट्न सकिन्छ :

  • मुख्य केन्द्र, कोरिडोर र क्षेत्रीय सञ्जाल : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, गोरखा तथा काभ्रेका सम्भावित क्षेत्रहरूलाई संवेदनशील बृहत् गुरुयोजनाले मुख्य केन्द्र, कोरिडोर र क्षेत्रीय सञ्जालका रूपमा समेट्न सकिन्छ। यसो गर्दा विद्यमान पालिका र जिल्लागत सिमानाहरूभन्दा पनि अन्य प्रमाणमा आधारित आधारहरू लिन सकिन्छ।
  • नयाँ विकास तथा पुनर्संरचना : जोखिमयुक्त र छरिएका बस्तीलाई एकीकृत बस्ती व्यवस्थापनको परम्परागत अनुसरणभन्दा माथि उठेर जस्ताको तस्तै पुनर्निर्माण गर्नुको सट्टा आवश्यकताअनुसार सुरक्षित स्थानमा नयाँ, आत्मनिर्भर, व्यवस्थित र उत्थानशील सहरहरू र कोरिडोरका रूपमा विकास गर्न सकिन्छ। यसको उद्देश्य एउटा मात्र स्थानको पुनर्निर्माण होइन; सुरक्षित, जोडिएको र भविष्यका जोखिम सामना गर्न सक्ने नयाँ हिमाली आर्थिक तथा सामाजिक कोरिडोर निर्माण गर्नु हुनुपर्छ।

३. रणनीतिक धैर्य र एकीकृत सङ्क्रमणकालीन बस्ती :

हतारमा स्थायी संरचना निर्माण गर्दा विगतका कमजोरी र गल्ती दोहोरिने जोखिम मात्र हुँदैन, बदलिँदा र विकसित विकास संवेदनशील चुनौतीहरूको सही समाधान पनि नभेटिन सक्छ। त्यसैले स्थायी पुनर्निर्माणका लागि पर्याप्त समय र प्रमाणमा आधारित योजना आवश्यक छ।

यसो भनिरहँदा जोखिम प्रभावित एवम् विस्थापितहरूको पीडामा मलम लगाउन सबै उपलब्ध साधन र स्रोतहरूको सही सदुपयोग यथाशक्य गरिनुपर्दछ। उमेर समूह, लिङ्ग र अर्थ-सामाजिक एवम् जोखिमका अन्य विविध आयामहरूको संवेदनशील ढङ्गले अध्ययन र सम्बोधन गर्न चुक्नुहुँदैन।

  • सङ्क्रमणकालीन आवास कार्यक्रम : विस्थापित समुदायलाई सुरक्षित र सम्मानजनक अवस्थामा राख्न खानेपानी, सरसफाइ, विद्युत्, स्वास्थ्य, शिक्षा तथा अन्य आवश्यक सेवासहित सुरक्षित सङ्क्रमणकालीन आवास तथा बस्तीको व्यवस्था गर्नुपर्छ। यस्ता बस्ती तथा आवास स्थानीय कानुन, बस्ती स्थानान्तरणसम्बन्धी कार्यविधि र मानवीय मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित, मर्यादित, सांस्कृतिक रूपमा उपयुक्त, जोखिम उत्थानशील तथा स्वैच्छिक र सहभागितामूलक हुनुपर्छ।

सङ्क्रमणकालीन आवासका विभिन्न विकल्प हुन सक्छन्- बहाल सहायता, आफ्नै जग्गामा सङ्क्रमणकालीन आवास निर्माणका लागि सहयोग, आफन्तको घरमा आश्रय लिएका परिवारलाई सहयोग, घर मर्मत वा प्रबलीकरणमा सहयोग तथा योजनाबद्ध सङ्क्रमणकालीन बस्तीको निर्माण।

एउटा नयाँ, सानो तर पूर्ण रूपमा जलवायु-उत्थानशील हिमाली सभ्यताको परिकल्पना, विकास र निर्माण गर्न सम्भव छ।

यी विकल्प छनोट गर्दा स्थानीय आवश्यकता, जोखिम, सामाजिक संरचना, जग्गाको उपलब्धता र सम्भावनाको संवेदनशील अध्ययन गर्नुपर्छ। योजनाबद्ध शिविर वा सामूहिक बस्ती निर्माणलाई सामान्य विकल्पका रूपमा नभई आवश्यक अवस्थामा मात्र प्रयोग गरिने अन्तिम तर अत्यावश्यक विकल्पका रूपमा लिनु उपयुक्त हुन्छ।

  • योजनाका लागि समय : यो सङ्क्रमणकालीन चरणलाई विस्तृत अध्ययन गर्न, सम्भाव्यता र विकल्पहरू बुझ्न, गुरुयोजना निर्माण गर्न र दीर्घकालीन संरचनाहरूलाई सुरक्षित तथा त्रुटिरहित ढङ्गले व्यवस्थित गर्ने विधिहरूको पहिचान गर्न प्रयोग गरिनुपर्दछ। यो समय स्रोतसाधनहरूको समुन्नत सदुपयोग, योजना निर्माण एवम् वास्तविक र वस्तुगत कार्ययोजना निर्माणको रणनीतिक अवसरका रूपमा उपयोग हुनुपर्दछ।

४. उत्थानशील पूर्वाधार :

परम्परागत पूर्वाधार संरचनाहरू बदलिँदो हिमाली भूगोल, जलवायु परिवर्तन र बढ्दो प्राकृतिक जोखिमका अगाडि पटकपटक कमजोर साबित भएका छन्। त्यसैले अब पूर्वाधार निर्माणमा नयाँ सोच र प्रविधि आवश्यक छ।

  • भौतिक पूर्वाधार : नेपालजस्तो थुप्रै युवा पहाडहरू भएको देश जुन धेरै जोखिमपूर्ण छ, यस्ता ठाउँहरूबाट भौतिक पूर्वाधारहरू (मूलतः सडक विस्तारलाई मात्र) प्राथमिकता दिनुको सट्टा गहिरो अध्ययन र इन्जिनियरिङका आधारमा यातायातका अन्य विकल्पहरू जस्तै: सुरुङमार्ग, फ्लाइओभर, सुरक्षित पुल तथा आवश्यक स्थानमा आधुनिक केबलकार प्रणाली जस्ता वैकल्पिक यातायात संरचनाको विकास सम्भावनाबारे अध्ययन गरिनुपर्दछ।

हाम्रा आयोजनाहरू डिजाइन पिरियड र फ्याक्टर अफ सेफ्टी मा आधारित संरचना निर्माणको विधिमा सीमित छन्। यसो हुँदा पूर्वाधार आयोजनाहरूमा जलवायुजन्य प्रकोपहरू विरलै सम्बोधन हुन्छन्। उत्थानशील संरचनाहरूको निर्माण निम्ति यसमा व्यापक सुधार जरुरी छ। साना-साँघुरा खोँचहरू खोज्दै निर्माण गरिने पुलहरू, खोला किनार मात्र पछ्याउने सडक सञ्जाल, खोलाको आकार साँघुरो बनाउने नदी नियन्त्रणमा पुनर्संरचना जरुरी छ। मूलतः हाम्रा संरचनाहरू निर्विकल्प बहुप्रकोपीय जोखिम सचेत र संवेदनशील हुनुपर्दछ।

  • ऊर्जा संरचना : अल्पकालीन आर्थिक लाभलाई मात्र केन्द्रमा राखेर परम्परागत रन-अफ-द-रिभर जलविद्युत् प्रणालीमा निर्भर हुनुको सट्टा विभिन्न स्रोतमा आधारित, विकेन्द्रित र भूकम्पीय तथा जलजन्य विपद् एवम् जलवायुजन्य जोखिमहरू थेग्न सक्ने उत्थानशील ऊर्जा प्रणाली र ग्रिडको विकास गर्नुपर्छ।

व्यापक बहुविपद् जोखिमको नमुना विश्लेषण सबै जलविद्युत् पूर्वाधार आयोजनाहरू निर्माणको पूर्वसर्त बन्नुपर्दछ। केवल पानीको दबाब प्राप्त गर्न विद्युत् गृह नदी किनारमै राख्ने अभ्यासबाट बच्नुपर्दछ। सामान्य दक्षतामा हुने सीमित लाभभन्दा दीर्घकालीन भौगर्भिक स्थिरता र जोखिमहरू न्यूनीकरणलाई प्राथमिकता दिनुपर्दछ।

५. बदलिँदो विश्व परिवेश र व्यावहारिक कूटनीति :

यस्तो स्तरको विशाल परियोजना अघि बढाउन ठूलो आर्थिक लगानीसँगै अत्याधुनिक प्रविधि, ज्ञान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक हुन्छ। अहिले देखिएको नेपालप्रतिको विश्वव्यापी चासो, चिन्ता र ऐक्यबद्धतालाई यस अवसरमा रूपान्तरण गर्न सकिन्छ।

  • परिष्कृत अन्तर्राष्ट्रिय संलग्नता : विश्वको भूराजनीतिक तथा आर्थिक परिवेश तीव्र रूपमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा स्पष्ट राष्ट्रिय दृष्टिकोण, विश्वव्यापी परिप्रेक्ष्य र सन्तुलित कूटनीतिक संवाद आवश्यक हुन्छ। कूटनीतिले परम्परागत अभ्यास मात्र नभएर प्रत्यक्ष संलग्नतामा आधारित अभ्यासको माग गरिरहेको सहजै देख्न सकिन्छ।

नेपालले बदलिँदो विश्व सुहाउँदो विभिन्न देश, विकास साझेदार, वित्तीय संस्था, निजी क्षेत्र र प्राविधिक साझेदारसँग यसरी नै दीर्घकालीन रणनीतिक सहकार्यका ढोकाहरू सबैतिर खुला राख्न ढिला गर्नुहुँदैन।

  • पीडितको भूमिकाबाट रणनीतिक साझेदारीतर्फ : नेपालले जलवायुजन्य क्षति तथा नोक्सानीको मुद्दा उठाउनु आवश्यक भए पनि आफ्नो सम्पूर्ण कूटनीतिक प्रयासलाई त्यसैमा सीमित गर्नु पर्याप्त हुँदैन। आत्मकेन्द्रित दाबी, परम्परागत अधिकारमा आधारित दृष्टिकोण र केवल पीडितको भूमिकाभन्दा माथि उठेर नेपालले वास्तविक रणनीतिक साझेदारी, सहकार्य र साझा हितमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउनुपर्छ।

हामीले विश्वसामु केवल ‘हामीलाई सहयोग चाहिन्छ’ भन्ने सन्देश मात्र होइन, ‘हामी सुरक्षित, उत्थानशील र दिगो हिमाली भविष्य निर्माण गर्न विश्वसँग साझेदारी गर्न तयार छौं’ भन्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्छ।

६. चरणबद्ध निर्माण र कार्यान्वयन :

यति ठूलो रूपान्तरण एकैपटक सम्भव हुँदैन। मानवीय आवश्यकता, आर्थिक अवस्था, उपलब्ध स्रोत र लगानी क्षमताका आधारमा निर्माण कार्यलाई चरणबद्ध रूपमा अघि बढाउनुपर्छ। तर चरणबद्ध निर्माणको अर्थ गुरुयोजनाले निर्दिष्ट गर्ने आधारभूत सिद्धान्तहरूबाट विचलित हुनु होइन। प्रत्येक चरण दीर्घकालीन गुरुयोजनासँग स्पष्ट रूपमा जोडिएको हुनुपर्छ; ताकि आज गरिएको लगानी भोलिको विकासमा बाधक नबनोस्।

७. सार्वजनिक सम्पत्ति विवरण सङ्कलन तथा उत्थानशीलता नक्साङ्कन :

विपद् प्रभावित क्षेत्रहरूमा पुनर्निर्माणका कार्यहरूलाई निरन्तरता दिँदै देशैभरि तथ्याङ्कमा आधारित एक विस्तृत सार्वजनिक सम्पत्ति विवरण सङ्कलन कार्यको थालनी गरिनुपर्छ। यसले कार्यसञ्चालन रणनीतिलाई विपद्‌पश्चात् गरिने प्रतिक्रियात्मक पुनर्लाभको ढाँचाबाट परिवर्तन गरी एक सक्रिय तथा प्रतिरोधात्मक संरचनामा रूपान्तरण गर्न सक्छ।

सार्वजनिक पूर्वाधारहरूको व्यवस्थित परीक्षण गरेर तिनका सम्भावित कमजोरीहरू र जलवायुजन्य जोखिमहरू सामना गर्न सक्ने सामर्थ्य पहिचान गर्न सक्दा आगामी दिनमा आउन सक्ने जलवायुजन्य जोखिमहरू अगावै नयाँ निर्माण, संरचनात्मक सबलीकरण/प्रबलीकरण वा प्रतिस्थापनका कार्यहरू व्यवस्थित रूपमा अगाडि बढाउन सकिने हुन्छ। प्रत्येक सार्वजनिक संरचनालाई तीनवटा मुख्य आयामहरूका आधारमा मूल्याङ्कन गर्न सकिन्छ :

  • जलवायु उत्थानशीलता/अनुकूलन क्षमता : भविष्यको वातावरणीय प्रक्षेपणका आधारमा बढ्दो जलवायुजन्य जोखिमहरू (जस्तै: चरम बाढी, पहिरो र भूकम्पीय घटनाहरू) लाई धान्न सक्ने सार्वजनिक संरचनाको क्षमता र जोखिम मूल्याङ्कन।
  • संरचनात्मक सबलता/अखण्डता : पूर्वाधारको विद्यमान भौतिक ह्रास, सामग्रीको भारवहन क्षमता र आधुनिक भूकम्पीय एवम् भवन सुरक्षा संहिताको पालनाको समीक्षा गर्न इन्जिनियरिङ परीक्षणहरू।
  • उपयोगिता तथा सेवाको विश्वसनीयता : सङ्कटको समयमा आधारभूत सार्वजनिक सेवाहरू सुचारु राख्नका लागि उक्त सम्पत्तिको कार्यगत क्षमता, सामुदायिक माग र यसको आधारभूत भूमिकाको मापन।

सार्वजनिक सम्पत्ति विवरण सङ्कलन तथा उत्थानशीलता नक्साङ्कनले पूर्वाधारसम्बन्धी कार्यक्रमहरू कहाँ सबैभन्दा बढी आवश्यक छन् ? भनी स्पष्ट रूपमा खाका तयार पार्ने प्राथमिकता प्राप्त पुँजीगत लगानी प्रणालीको स्थापना गर्न सघाउँछ। विपद्‌ले निम्त्याउने आर्थिक विध्वंस र क्षतिलाई रोक्न यस्तो प्रणालीले मद्दत गर्न सक्छ।

विश्व बैङ्कको आर्थिक तथ्याङ्कअनुसार उत्थानशील पूर्वाधारमा लगानी गरिएको प्रत्येक एक डलरले क्षतिहरू रोकथाम गरेर र आर्थिक लाभका रूपमा चार डलरसम्मको प्रतिफल दिन सक्छ। साथै यसले सार्वजनिक संरचनाको जीवनचक्र अभिलेख निर्माण गरी पूर्वानुमानित मर्मतसम्भारलाई सक्षम बनाउन र दीर्घकालीन पूर्वाधारको कार्यसम्पादनको निगरानी गर्नका लागि सम्पत्तिहरूको एक केन्द्रीय जियोट्याग गरिएको डाटाबेस विकास पनि गर्न सकिन्छ।

हामी पुरानै कमजोर अवस्थामा फर्कन हतार नगरौं। यो सङ्कटलाई केवल क्षतिपूर्ति र पुनर्निर्माणको अवसरका रूपमा होइन, नेपालको हिमाली भूगोलमा नयाँ सोच, प्रविधि र सहकार्यको प्रयोग गर्दै सुरक्षित, उत्थानशील र समृद्ध भविष्य निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा हेरौं।

आउनुहोस् ! रसुवा र आसपासको क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउने मात्र होइन, यसलाई एउटा नयाँ, सुरक्षित, उत्थानशील र दिगो हिमाली कोरिडोरका रूपमा विकास गर्ने दीर्घकालीन यात्राको सुरुवात गरौं। यो केवल पुनर्निर्माण होइन। यो नयाँ भविष्य निर्माण गर्ने अवसर हो।

एउटा नयाँ, सानो तर पूर्ण रूपमा जलवायु-उत्थानशील हिमाली सभ्यताको परिकल्पना, विकास र निर्माण गर्न सम्भव छ।

(लेखकका विचारहरू निजी हुन् र उनी संलग्न संस्थाको प्रतिनिधित्व गर्दैनन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?