प्रदूषण भन्नेबित्तिकै हाम्रो मनमा काठमाडौंको धुवाँले भरिएको हावा, फोहोर नदी वा जथाभावी फालिएको फोहोरको चित्र आउँछ। तर हाम्रो दैनिक जीवन र वातावरणमा असर गरिरहेको अर्को एक प्रकारको प्रदूषण पनि छ, जसबारे धेरै चर्चा हुँदैन- प्रकाश प्रदूषण।
विद्युतीय बत्तीको आविष्कार भएदेखि नै हाम्रो जीवन कृत्रिम प्रकाशमा निर्भर बनेको छ। बत्तीहरूले घर, सडक, पसल, मन्दिर र सार्वजनिक स्थलहरूलाई उज्यालो बनाएका छन्; जसले गर्दा रातको समयमा पनि काम गर्न, यात्रा गर्न र विभिन्न गतिविधिहरू सञ्चालन गर्न सहज भएको छ।
यद्यपि यसको अर्को पक्ष पनि छ; अत्यधिक र अव्यवस्थित कृत्रिम प्रकाशले वातावरणीय प्रदूषणको एउटा नयाँ रूप सिर्जना गरेको छ।
आज अन्टार्कटिकाबाहेक पृथ्वीका लगभग सबै महाद्वीपहरूमा प्रकाश प्रदूषण फैलिएको छ। विश्वको ८० प्रतिशतभन्दा बढी जनसङ्ख्या प्रकाश–प्रदूषित आकाशमुनि बसोबास गर्छ र मानवजातिको एक तिहाइभन्दा बढी हिस्साले आफ्नो बसोबासको ठाउँबाट मिल्की–वे अर्थात् आकाशगङ्गा देख्न सक्दैन। हजारौं वर्षदेखि मानवीय अनुभवको अभिन्न अङ्ग रहँदै आएको रातको प्राकृतिक अँध्यारो विश्वका धेरै भागहरूबाट क्रमशः लोप हुँदै गइरहेको छ।
यस सन्दर्भमा नेपालले एक विशिष्ट स्थान ओगटेको छ। मुस्ताङ, माथिल्लो डोल्पा र खुम्बुजस्ता उच्च हिमाली क्षेत्रहरूमा वैज्ञानिकहरूले ‘प्राकृतिक रूपमा अँध्यारो आकाश’ भनेर वर्णन गरेका अवस्थाहरू आज पनि धेरै हदसम्म कायम छन्। त्यहाँ आकाशगङ्गा धमिलो धर्काका रूपमा नभई नाङ्गो आँखाले स्पष्ट देखिने ताराहरूको विशाल नदीझैं आकाशभरि फैलिएको देखिन्छ।
यस्तो स्तरको प्राकृतिक अँध्यारोपन आजको विश्वमा दुर्लभ बन्दै गइरहेको छ र यसलाई वैज्ञानिक तथा वातावरणीय दुवै दृष्टिकोणबाट अत्यन्त मूल्यवान् मानिन्छ।
यद्यपि यो सम्पदा स्थायी भने होइन। यदि कृत्रिम प्रकाशको विस्तार अनियन्त्रित रूपमा जारी रह्यो भने विश्वका अन्य धेरै भागहरूमा जस्तै नेपालका यी अँध्यारा आकाशहरू पनि क्रमशः लोप हुन सक्छन्।
हालका वर्षहरूमा काठमाडौं उपत्यकामा सडक बत्ती, विज्ञापन बोर्ड, व्यावसायिक भवन र सजावटका बत्तीहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको छ। यसको फलस्वरूप रातको समयमा हुने उज्यालोपन पनि बढेको छ।
केही दशकअघिसम्म काठमाडौंमा सफा रातमा आकाशतिर हेर्दा हजारौं ताराहरू देख्न सकिन्थ्यो। तर आज, उपत्यकाका धेरै बासिन्दाहरूले केही चम्किला ताराहरू मात्र देख्न पाउँछन्। सहरभरि फैलिएको कृत्रिम प्रकाशले ताराहरूको प्रकाशलाई ओझेलमा पारेको छ। सस्तो र जडान गर्न सजिलो हुने एलईडी बत्तीहरूको बढ्दो प्रयोगले यो समस्यालाई अझ बढाएको छ।
हामीले गुमाउँदै गरेको आकाश
नेपालको रातको आकाशसँगको सम्बन्ध केवल भौतिक सौन्दर्यको विषय होइन; हाम्रो जीवन, संस्कृति र इतिहाससँग पनि जोडिएको छ।
मुस्ताङ, हुम्ला र खुम्बुका उच्च हिमाली बस्तीहरूमा पुस्तौंदेखि मानिसहरू संसारकै सबैभन्दा स्वच्छ र अँध्यारा आकाशमुनि बस्दै आएका छन्। त्यहाँ आकाशगङ्गा कुनै दुर्लभ दृश्य होइन, दैनिक जीवनको हिस्सा हो। तराईका किसानहरूले मौसम र खेतीपातीको समय निर्धारण गर्न ताराहरूको सहारा लिने गर्थे। हिमाली व्यापारीहरू रातको यात्रामा ताराको प्रकाशबाट बाटो चिन्थे। नेपालका धेरै चाडपर्व र सांस्कृतिक परम्पराहरू पनि आकाशीय घटनासँग जोडिएका छन्।
नेपालका हिमाली क्षेत्रहरू सांस्कृतिक दृष्टिले मात्र होइन, वैज्ञानिक दृष्टिले पनि अमूल्य सम्पत्ति हुन्। आधुनिक खगोलशास्त्रका लागि आवश्यक पर्ने स्वच्छ र अँध्यारा आकाश विश्वभर दुर्लभ हुँदै गइरहेका छन्। उच्च उचाइ, कम आर्द्रता, न्यून धुलो–धुवाँ तथा स्वच्छ वातावरणका कारण हिमालय क्षेत्र खगोलीय अवलोकनका लागि अत्यन्त उपयुक्त मानिन्छ। यही कारणले विश्वका प्रमुख खगोलीय वेधशालाहरू पनि यस्तै स्थानहरूमा निर्माण गरिएका छन्।
उदाहरणका लागि- चिलीको अटाकामा मरुभूमिमा अवस्थित परानाल अब्जर्भेटोरी र हवाईको मौना किया अब्जर्भेटोरी विश्वकै उत्कृष्ट खगोलीय अनुसन्धान केन्द्रहरू मानिन्छन्; जहाँको प्राकृतिक अन्धकार र स्वच्छ वातावरणलाई राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गरिएको छ।
नेपालका उच्च हिमाली क्षेत्रहरू (मुस्ताङ, माथिल्लो डोल्पो, खुम्बुलगायतका भूभाग) मा पनि यस्तै गुणहरू पाइन्छन्। यस्ता स्थानहरूमा रातको आकाशको प्राकृतिक अन्धकार जोगाउनु भनेको ताराहरू हेर्न पाउने अवसर सुरक्षित गर्नु मात्र होइन; भविष्यमा वैज्ञानिक अनुसन्धान, शैक्षिक विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाहरू जोगाउनु पनि हो।
नेपालमा रहेका खगोलीय अवलोकनका यी सम्भावित महत्त्वपूर्ण स्थानहरूको अझैसम्म पनि पर्याप्त अध्ययन वा संरक्षण हुन सकेका छैनन्। पोखरा, बेनी र जोमसोमजस्ता सहरहरूको विस्तारसँगै नदी उपत्यकाहरूबाट उच्च हिमाली भेगतिर कृत्रिम प्रकाश क्रमशः फैलिँदै गइरहेको छ।
टाढाका बत्तीहरूलाई अहिले सामान्य विषय मानिए पनि यदि यही क्रम जारी रहेमा हालसम्म अक्षुण्ण रहेको प्राकृतिक अँध्यारो आकाश भविष्यमा प्रकाश प्रदूषणको चपेटामा पर्न सक्छ। एकपटक गुमेपछि प्राकृतिक अँध्यारोपन सजिलै पुनः प्राप्त गर्न सकिँदैन; यसलाई पुनर्स्थापित गर्न पूर्वाधार र प्रकाश व्यवस्थापन प्रणालीमा आमूल परिवर्तनको आवश्यकता पर्नेछ।
हामीमध्ये धेरैजसो अझै पनि ‘बढी उज्यालो हुनु भनेको बढी सुरक्षित हुनु हो’ भन्ने ठान्छौं। तर वास्तविकता सधैं त्यस्तो हुँदैन। अत्यधिक वा गलत ठाउँमा राखिएका बत्तीहरूले आँखा तिरमिराउने गरी चम्किलो प्रकाश पैदा गर्छन् र सडकमा गाढा छाया पार्छन्। यसले पैदलयात्री, साइकलयात्री र सवारी चालक सबैका लागि जोखिम बढाउन सक्छ। प्रभावकारी प्रकाश व्यवस्थापन भनेको जताततै उज्यालोको बाढी ल्याउनु होइन; बरु सही ठाउँ र सही समयमा उपयुक्त मात्रामा प्रकाश उपलब्ध गराउनु हो।
हिमालले पनि महसुस गरिरहेको उज्यालो
नेपालका हिमाली क्षेत्रहरू संसारकै सबैभन्दा संवेदनशील प्राकृतिक प्रणालीमध्ये पर्छन्। हामी प्रायः हिमाललाई मानव गतिविधिबाट टाढाको शान्त क्षेत्रका रूपमा कल्पना गर्छौं। तर रातको कृत्रिम उज्यालो बिस्तारै नदी उपत्यका हुँदै पहाड र हिमाली बस्तीहरूतर्फ पुगिरहेको छ। केही दशकअघिसम्म जहाँ रात परेपछि केवल ताराको प्रकाश देखिन्थ्यो, त्यहाँ आज होटल, रिसोर्ट, सडकबत्ती र विभिन्न संरचनाहरूको उज्यालो फैलिन थालेको छ।
यसले उक्त क्षेत्रमा बसोबास गर्ने वन्यजन्तुहरूलाई पनि असर गर्न थालेको छ। जस्तै: हिउँ चितुवा, रातको समयमा सक्रिय हुने विभिन्न स्तनधारी जीव, चमेरो र सयौं प्रजातिका चराचुरुङ्गीहरूले आफ्नो जीवनचक्रलाई उज्यालो र अँध्यारोको प्राकृतिक क्रमअनुसार सञ्चालन गर्छन्।
त्यसैगरी हिमालय क्षेत्र भएर आवतजावत गर्ने हजारौं प्रवासी चराहरूले बाटो पत्ता लगाउन चन्द्रमा, तारा र पृथ्वीका प्राकृतिक सङ्केतहरूमा भर पर्छन्; तर अत्यधिक कृत्रिम प्रकाशले उनीहरूलाई अलमलमा पार्न सक्छ। विश्वका विभिन्न भागहरूमा उज्यालो भएका भवन र टावरहरूसँग ठोक्किएर चराहरू मर्ने घटनाहरू पनि देखिएका छन्। नेपालमा यस विषयमा विस्तृत अध्ययनहरू कमै भए तापनि यहाँ पनि यो समस्या बढ्न सक्ने सङ्केतहरू देखिएका छन्।
हिमाली क्षेत्रका स्थानीय बासिन्दाहरूले विगतको तुलनामा किरा–फट्याङ्ग्रा र चराचुरुङ्गीको रात्रिकालीन व्यवहारमा परिवर्तन देखिएको बताएका छन्। यस्ता परिवर्तनहरू सामान्यजस्तो देखिए पनि तिनले प्राकृतिक सन्तुलनमा गम्भीर असर पार्न सक्छन्। कुनै क्षेत्रमा किरा–फट्याङ्ग्राको सङ्ख्या घट्दा तिनमा निर्भर रहने चराचुरुङ्गीहरू प्रभावित हुन्छन् र यसको असर खाद्यशृङ्खलाको माथिल्लो तहसम्मै पुग्न सक्छ।
नेपालको जैविक विविधता वातावरणीय सम्पदा मात्र होइन, पर्यटनको आधार पनि हो। विश्वभरका पर्यटकहरू हिमाल, वन्यजन्तु र प्राकृतिक सौन्दर्य हेर्न नेपाल आउँछन्। यदि हामीले प्राकृतिक रातको वातावरण जोगाउन सकेनौं भने यसको असर वातावरणसँगै पर्यटन क्षेत्रमा पनि पर्न सक्छ।
प्रकाश प्रदूषणले मानव स्वास्थ्यमा पनि असर पार्छ। नेपालका प्रमुख सहरका बासिन्दाहरू पहिले नै वायु प्रदूषणका कारण उत्पन्न विभिन्न स्वास्थ्य समस्याहरूसँग जुधिरहेका छन्। यसमा थप समस्याको रूपमा राति झ्यालबाट भित्र आउने तीव्र प्रकाश (चाहे त्यो सडक बत्तीको होस् वा चम्किला होर्डिङ बोर्डहरूको) ले निद्रामा बाधा पुर्याउन सक्छ।
धेरैले यसलाई सामान्य समस्या ठाने पनि वैज्ञानिक अनुसन्धानले स्वास्थ्यका लागि गुणस्तरीय निद्राको अत्यन्त महत्त्व रहेको पुष्टि गरेको छ। हाम्रो शरीरको जैविक घडी दिन र रातको प्राकृतिक चक्रसँग तालमेल मिलाएर चलेको हुन्छ; जब रात पनि दिनजस्तै उज्यालो हुन्छ, तब यो चक्र बिथोलिन सक्छ।
हिमालहरू केवल टाढाबाट हेरेर संरक्षण हुने होइनन्। यी वन्यजन्तु र मानव स्वास्थ्य सबै एउटै वातावरणीय प्रणालीका हिस्सा पनि हुन्। यदि हामीले रातको प्राकृतिक अन्धकार जोगाउन सकेनौं भने यसको मूल्य हराएका ताराहरूले मात्र होइन, हाम्रो प्रकृति र स्वास्थ्यले पनि चुकाउनुपर्ने हुन्छ।
आर्थिक अवसर र पर्यटनको नयाँ सम्भावना
प्रकाश प्रदूषणको चर्चा गर्दा हामी प्रायः वातावरण, स्वास्थ्य वा खगोलशास्त्रको कुरा गर्छौं। तर यसको एउटा आर्थिक पक्ष पनि छ; जसलाई नेपालले बेवास्ता गर्न मिल्दैन।
नेपालले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा आयातित इन्धन र अन्य स्रोतहरूबाट पूरा गर्छ। यस्तो अवस्थामा आवश्यक नभएको ठाउँमा र आवश्यकभन्दा बढी प्रयोग हुने प्रत्येक बत्तीले पैसा मात्र होइन, ऊर्जा पनि खेर फालिरहेको हुन्छ। दरबारमार्गमा रातभर बलिरहने विज्ञापन बोर्ड, खाली सडकमा अनावश्यक रूपमा झलमल्ल गरिरहेका बत्तीहरू वा आकाशतर्फ प्रकाश फाल्ने सडकबत्तीहरूबाट निस्कने उज्यालो वास्तवमा कुनै उपयोगी काममा लागिरहेको हुँदैन। त्यो उज्यालो सीधै आकाशमा पुगेर हराउँछ, तर त्यसका लागि खर्च भएको विद्युत् र पैसा भने फर्केर आउँदैन।
लोडसेडिङको अँध्यारो युग हाम्रा लागि अझै पनि धेरै पुरानो भइसकेको छैन; अझ त्यसमा पनि ऊर्जा सुरक्षा हाम्रो उच्च प्राथमिकताको विषय हो। आवश्यक मात्र बत्ती बाल्नु वातावरणीय दृष्टिकोणले जिम्मेवार कार्य हुनुका साथै आर्थिक रूपमा पनि बुद्धिमानी निर्णय हो। प्रभावकारी र आवश्यकतामा आधारित प्रकाश व्यवस्थापनका उपायहरू अपनाउनाले विद्युत् बचत गर्न तथा राष्ट्रिय ऊर्जा प्रणालीमा पर्ने भार कम गर्न मद्दत पुर्याउँछ।
तर प्रकाश प्रदूषण कम गर्नु भनेको केवल खर्च बचाउनु मात्र होइन, नयाँ आर्थिक अवसर सिर्जना गर्नु पनि हो। नेपालसँग विश्वका धेरै देशहरूसँग नभएको एउटा विशेष सम्पत्ति छ- अँध्यारो र स्वच्छ रातको आकाश।
मुस्ताङ, माथिल्लो डोल्पो, मनाङ, खुम्बु क्षेत्र र एभरेस्ट आधारशिविर आसपासका क्षेत्रहरूमा आज पनि एसियाकै उत्कृष्ट रातको आकाश अनुभव गर्न सकिन्छ। त्यहाँ आकाशगङ्गा यति स्पष्ट देखिन्छ कि चन्द्रमा नभएको रातमा पनि ताराहरूको घनत्वले आकाशको भव्यता अनुभूत गराउँछ।
एस्ट्रोटुरिजम अर्थात् ताराहरूले भरिएको रातको आकाश हेर्नकै लागि गरिने यात्रा विश्वभर तीव्र गतिमा लोकप्रिय हुँदै गइरहेको छ। पर्यटकहरू हिमाल, ताल वा जङ्गल हेर्न मात्र नभई सहरी क्षेत्रबाट प्रायः लोप भइसकेको ताराले भरिएको आकाशको अनुभव गर्न हजारौं किलोमिटरको यात्रा गरिरहेका छन्।
अमेरिकादेखि न्युजिल्यान्डसम्मका देशहरूले डार्क स्काई पार्क (अँध्यारो आकाश भएका पार्क) र डार्क स्काई रिजर्भ (अँध्यारो आकाश भएका संरक्षित क्षेत्र) स्थापना गरेर हजारौं पर्यटकलाई आकर्षित गरिरहेका छन्।
उदाहरणका लागि- अमेरिकाका डेथ भ्याली नेसनल पार्क र बिग बेन्ड नेसनल पार्क, न्युजिल्यान्डको आओराकी म्याकेन्जी इन्टरनेसनल डार्क स्काई रिजर्भ र पोर्चुगलको डार्क स्काई अल्केभा जस्ता क्षेत्रहरूले अन्तर्राष्ट्रिय डार्क स्काई मान्यता प्राप्त गरेपछि त्यहाँ आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। विभिन्न अध्ययनहरूले देखाएका छन् कि- यस्ता मान्यता प्राप्त क्षेत्रहरूमा आउने पर्यटकको सङ्ख्या औसतमा २० देखि ४० प्रतिशतले बढेको छ र बसाइको अवधि पनि १.५ देखि २ रातसम्म थपिएको छ। यसबाट स्थानीय होटेल, होमस्टे, रेस्टुरेन्ट, गाइड सेवा र यातायात क्षेत्रले पर्याप्त आर्थिक लाभ प्राप्त गरिरहेका छन्।
यो नेपालका लागि एक असाधारण अवसर बन्न सक्छ। दिउँसो हिमालका मनमोहक दृश्यहरू र रातको समयमा ताराहरू (मिल्की–वे सहित) हेर्ने अनुभवको संयोजन भएको एक विशिष्ट पर्यटकीय गतिविधिलाई प्रवर्द्धन गर्न सक्छौं। स्थानीय संस्कृति र हिमाली भूदृश्यलाई खगोलीय फोटोग्राफी तथा तारा अवलोकनसँग जोडेर पर्यटनको एउटा नयाँ स्वरूप विकास गर्न सकिन्छ। हाम्रा उच्च हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरका डार्क स्काई पार्क वा डार्क स्काई रिजर्भ स्थापना गर्नाले नेपाललाई विश्वव्यापी खगोलीय पर्यटनको नक्सामा बलियोसँग स्थापित गर्न सकिन्छ।
यस्तो पर्यटनले प्राकृतिक वातावरणको संरक्षणमा सघाउ पुर्याउँछ; किनभने यसका मुख्य आकर्षणहरू सफा आकाश र प्राकृतिक अँध्यारो हुन्। यस अर्थमा, अँध्यारो आकाशको संरक्षण वातावरणीय वा वैज्ञानिक विषय मात्र होइन; यो ग्रामीण आर्थिक विकास र दिगो पर्यटन प्रवर्द्धनको अवसर पनि हो।
हामी सामान्यतया हिमालयलाई नेपालको मुख्य पर्यटकीय आकर्षणका रूपमा लिन्छौं। तथापि हिमालमाथि देखिने ताराहरूले भरिएको मनमोहक रात्रिकालीन आकाश पनि हाम्रो सामूहिक प्राकृतिक सम्पदाका उत्तिकै महत्त्वपूर्ण हिस्सा हो।
यदि हामीले प्रकाश प्रदूषणको समस्यालाई समयमै सम्बोधन गरेनौं भने यी महत्त्वपूर्ण वातावरणीय सम्पत्तिलगायत हाम्रो आर्थिक वृद्धि, वैज्ञानिक अनुसन्धान र पर्यटनका सम्भावित अवसरहरू समेत जोखिममा पर्नेछन्। तसर्थ, यस अद्भुत सम्पदाका दुवै पक्षको संरक्षण गर्न रात्रिकालीन आकाशको रक्षा गर्नु अपरिहार्य छ।
अँध्यारो आकाश : मापन, संरक्षण र अवसर
तर कुनै पनि प्राकृतिक सम्पत्तिको संरक्षणको पहिलो सर्त भनेको त्यसको अवस्था मापन गर्नु हो। दुर्भाग्यवश, नेपालका विभिन्न क्षेत्रको रातको आकाश कति अँध्यारो छ ? वा प्रकाश प्रदूषण कति तीव्र गतिमा बढिरहेको छ ? भन्नेबारे व्यवस्थित राष्ट्रिय तथ्याङ्क उपलब्ध छैन। यदि हामीले रातको आकाशलाई विज्ञान, पर्यटन र सांस्कृतिक सम्पदाको रूपमा जोगाउन चाहन्छौं भने यसको नियमित अनुगमन आवश्यक छ।
यो कार्य त्यति जटिल पनि छैन। यदि ती महत्त्वपूर्ण स्थानहरूमा स्काई क्वालिटी मिटर जस्ता साना उपकरणहरूको सञ्जाल स्थापना गर्न सकियो भने नेपालले पहिलोपटक आफ्नो रातको आकाशका लागि राष्ट्रिय आधार रेखा तयार गर्न सक्नेछ। यसले परिवर्तनहरू मापन गर्न, प्रमाणमा आधारित नीतिहरू तर्जुमा गर्न र अन्तर्राष्ट्रिय सहकार्यलाई आकर्षित गर्न मद्दत पुर्याउनेछ। विद्यालय, विश्वविद्यालय, स्थानीय समुदाय तथा खगोल विज्ञानका उत्साहीहरूले पनि नागरिक विज्ञान कार्यक्रमहरूमार्फत यस पहलमा योगदान पुर्याउन सक्छन्।
विश्वका केही मुलुकहरूले आफ्ना अँध्यारा आकाशहरूलाई आर्थिक अवसरमा परिणत गरिसकेका छन्। उदाहरणका लागि- चिलीले आफ्नो प्राकृतिक अँध्यारोपनलाई जोगाउँदै विश्वस्तरीय वेधशाला, अनुसन्धान र खगोल–पर्यटन उद्योगहरूको विकास गरेको छ। नेपालका हिमाली क्षेत्रहरूमा पनि यस्तै सम्भावना विद्यमान छ; तर यसलाई साकार पार्न आजैदेखि संरक्षणका योजनाहरू आवश्यकता पर्दछन्।
सौभाग्यवश प्रकाश प्रदूषणको समाधान अपेक्षाकृत सरल छ। प्रकाशलाई आवश्यक स्थानमा मात्र केन्द्रित गर्ने बत्ती, न्यानो रङका एलईडी, गति सेन्सरयुक्त प्रकाश प्रणाली तथा राति अबेरसम्म अनावश्यक रूपमा बलिरहने विज्ञापन बोर्ड र सजावटी बत्तीहरूमा समयसीमा लागू गर्ने जस्ता उपायले ठूलो प्रभाव पार्न सक्छन्। यस्ता सुधारहरूले आकाशलाई मात्र होइन; विद्युत् खपत, सार्वजनिक खर्च र सडक सुरक्षालाई समेत फाइदा पुर्याउँछन्।
अन्ततः रातको आकाश केवल खगोलशास्त्रीहरूको चासोको विषय होइन। यो हाम्रो प्राकृतिक र सांस्कृतिक सम्पदाको अभिन्न हिस्सा हो। हिमालको काखबाट देखिने ताराले भरिएको आकाश, आकाशगङ्गाको उज्यालो र रातको प्राकृतिक शान्ति नेपालका पहिचानसँग गाँसिएका विशेषताहरू हुन्। संसारभरका मानिसहरू हिमाल हेर्न नेपाल आउँछन्; तर उनीहरूलाई आकर्षित गर्ने अर्को महत्त्वपूर्ण सम्पत्ति यही स्वच्छ र अँध्यारो आकाश पनि हो।
(लेखक नेपाल एस्ट्रोनोमिकल सोसाइटीका वैज्ञानिक सल्लाहकार समिति सदस्य एवम् दक्षिण कोरियास्थित योन्सेई विश्वविद्यालयका प्राध्यापक हुन्।)
प्रतिक्रिया 4