+
+
Shares

कर्णालीमा साउनयता १७५ विपद्‍का घटना, १० जनाको मृत्यु

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १३ गते ८:५०

१३ असोज, सुर्खेत । कर्णाली प्रदेशमा प्राकृतिक विपद्का घटनाले जनधनमा क्षति पुगेको छ । प्रदेशका १० जिल्लामा साउनयता मात्रै १७५ वटा विपद्का घटना भएका छन्। ती घटनामा १० जनाको मृत्यु, ३१ जना घाइते र दुई जना बेपत्ता भएका छन्।

विपद्का कारण १५२ घरधुरी विस्थापित भएका छन् भने २१ वटा उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ।

प्रदेश प्रहरीको तथ्यांकअनुसार साउनयता पहिरोका घटना सबैभन्दा धेरै भएका छन्। यस अवधिमा ११८ वटा पहिरोका घटना भएका छन्। यस्तै बाढीका ४२, आगलागीका १७, अविरल वर्षाका ५४ तथा चट्याङ र हावाहुरीका सात–सात वटा घटना भएका छन्।

वर्षायाममा लगातार पानी पर्दा पहाडी जिल्लाका सडक तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढेको प्रहरीले जनाएको छ। बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै कतिपय बस्तीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुने गरेको छ।

साउनयता भएका विपद्का घटनामा जाजरकोटमा सबैभन्दा बढी मानवीय क्षति भएको छ। जाजरकोटमा चार जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ। कालीकोट र मुगुमा दुई–दुई तथा सल्यान र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको छ।

विपद्का घटनामा ३१ जना घाइते भएका छन्। दुई जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। घरमा क्षति पुगेपछि वा जोखिमका कारण बस्न नसक्ने अवस्था आएपछि १५२ घरधुरी विस्थापित भएका छन्।

उद्योगसमेत प्रभावित

प्राकृतिक विपद्को प्रभाव घर तथा बस्तीमा मात्र सीमित छैन। साउनयता भएका विभिन्न विपद्का घटनाबाट २१ वटा उद्योगमा समेत क्षति पुगेको छ। उद्योग तथा व्यवसायमा क्षति हुँदा स्थानीय उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत असर पर्ने गरेको छ।

कर्णालीका अधिकांश ग्रामीण बस्ती भौगोलिक रूपमा विकट क्षेत्रमा छन्। बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउनसमेत कठिनाइ हुने गरेको छ। यसले विपद्बाट प्रभावित परिवारलाई थप समस्या हुने गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा कर्णालीमा विपद्का कारण २२ जनाको मृत्यु भएको थियो। सो अवधिमा ७३ जना घाइते भएका थिए भने ७८ घरधुरी विस्थापित भएका थिए। यस्तै ३४ घर स्थानान्तरण गरिएको प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठोरले बताए।

गत आर्थिक वर्ष विभिन्न शीर्षकमा गरी एक हजार १५२ वटा क्षति भएको प्रहरीको तथ्यांक छ। कर्णालीमा बाढी, पहिरो, आगलागी, अविरल वर्षा, चट्याङ र हावाहुरीलगायतका कारण वर्षेनी जनधनको क्षति हुँदै आएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ मा कर्णालीका १० जिल्लामा हालसम्म २५२ वटा विपद्का घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। तीमध्ये साउनयता १७५ घटना भएका हुन्। वर्षायाममा बाढी, पहिरो र अविरल वर्षाका घटना बढेकाले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

प्रदेश प्रहरीका अनुसार जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणालीको विस्तार, उद्धार सामग्रीको पर्याप्त व्यवस्था तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक छ। विपद् भएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनुभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीमा जोड दिनुपर्ने अवस्था देखिएको छ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?