+
+
Shares

थुनिएको मर्स्याङ्दी ब्लास्ट गरेर खोल्न समस्या, दुई उपकरण मार्फत नदी खोतलिँदै

सहायक सिडिओ पौडेलले भने, ‘प्राविधिक टोली हिजै चामे आइपुगेको हो । ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या भएको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ९:०४

१३ असोज, काठमाडौं । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ्न सकेको छैन ।

पौडेलले अनलाइनखबरसँग भने, ‘प्राविधिक टोली हिजै चामे आइपुगेको हो । ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या भएको हो ।’

उनले अगाडि भने, ‘ब्लास्ट गर्न ठूलो चट्टान आवश्यक पर्ने रहेछ । तर नदी थुनिएको आसपासमा चट्टान फेला पर्न सकेन । गिट्टी, बालुवा, रुख, माटो लगायत लेदोले नदी थुनिएको छ । जसका कारण ब्लास्ट गर्ने उपयुक्त ठाउँ फेला परेन ।’

ब्लास्ट गरेर थुनिएको नदी खोल्ने तयारी गरिए पनि त्यो तत्कालका लागि सम्भव नभएपछि दुई वटा उपकरण प्रयोग गरी अहिले नदी खोतल्ने काम भइरहेको उनले बताए ।

अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर चामे क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएको हो ।

नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको छ । पौडेलका अनुसार अझै पनि ४ सय मिटर लम्बाइ र ८० मिटर चौडाइसम्म पानीको ताल बनेको छ । नदी थुनिएर बनेको ताल करिब २० फिट गहिरोसम्म हुन सक्ने उनले बताए ।

चार दिनको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?