+

म्यान्चेस्टर सिटीका सीईओको दाबी : मुद्दा अझै लामो समय चल्नेछ

२०८३ असोज  १३ गते १३:०५ २०८३ असोज १३ गते १३:०५

१३ असोज, काठमाडौं । प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा दोषी ठहरिएको रिपोर्ट सार्वजनिक भएपछि म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबले आरोपविरुद्धको कानुनी लडाइँ जारी राख्ने बताएका छन् ।

युरोपियन फुटबल क्लब्सको बोर्ड बैठकमा बोल्दै सोरियानोले उक्त प्रक्रिया अझै लामो समय चल्ने बताएका हुन् । बीबीसी स्पोर्ट्सका अनुसार उनले अन्य क्लबका कार्यकारीहरूसमक्ष सिटीले आरोपविरुद्ध लड्ने र कानुनी प्रक्रिया अझै धेरै बाँकी रहेको बताएका थिए ।

प्रेस एसोसिएसनका अनुसार सोरियानोले सन् २०१८ मा प्रिमियर लिगको अनुसन्धान सुरु भएको सन्दर्भमा भनेका थिए, ‘यहाँसम्म आइपुग्न आठ वर्ष लाग्यो र अझै धेरै समय लाग्नेछ ।’ बैठकपछि सोरियानो सञ्चारकर्मीका प्रश्नको जवाफ नदिई बाहिरिएका थिए ।

म्यान्चेस्टर सिटीमाथि प्रिमियर लिगका वित्तीय नियम उल्लंघनसम्बन्धी ११५ आरोप लगाइएको थियो । तीमध्ये अधिकांश आरोप प्रमाणित भएको रिपोर्ट शुक्रबार सार्वजनिक भएको थियो ।

क्लबमाथि सम्बन्धित कम्पनीबाट प्राप्त प्रायोजन आम्दानी बढाएर देखाएको तथा वित्तीय नियम छल्न अन्य भुक्तानी लुकाएको आरोप लगाइएको थियो ।

सिटीले उक्त निर्णयविरुद्ध अपिल गर्ने तयारी गरिरहेको बीबीसीले जनाएको छ । यता, केही प्रिमियर लिग क्लबहरूले यी आरोपसँग सम्बन्धित सम्भावित क्षतिपूर्तिका विषयमा कानुनी सल्लाह लिन थालेका छन् ।

क्लबमाथि हुने कारबाही भने अहिलेसम्म घोषणा भएको छैन । सम्भावित कारबाहीमा अंक कटौती, ठूलो जरिवाना वा प्रिमियर लिगबाट निष्कासनसम्मका विकल्प हुन सक्ने बताइएको छ ।

प्रिमियर लिगले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । सिटीले भने कानुनी प्रक्रिया अझै जारी रहेको र त्यसका महत्वपूर्ण पक्षहरू पूरा हुन बाँकी रहेको बताउँदै प्रक्रिया गोपनीय रहेको जनाएको छ ।

सिटीका अध्यक्ष खाल्दुन अल मुबारकले शनिबार समर्थकलाई पत्र लेख्दै क्लबले आफ्नो निर्दोषता प्रमाणित गर्ने विश्वास व्यक्त गरेका थिए । उनले कानुनी प्रक्रियाका कारण आफूहरूले आफ्नो पक्षमा रहेका सबै कुरा सार्वजनिक गर्न नसकिएको बताएका थिए ।

‘प्रिमियर लिगको प्रक्रिया अझै लामो छ र क्लबको निर्दोषता प्रमाणित गर्ने हाम्रो आत्मविश्वास र दृढता सुरुदेखि जस्तै बलियो छ’ अल मुबारकले भनेका थिए ।

-बीबीसीबाट

म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय