१३ असोज, बुटवल । सम्बन्धित सरकारी नियामक निकायविनै उपभोक्ता हित संरक्षण मञ्चका एक पदाधिकारीले बुटवलमा मसला उद्योगको अनुगमन गर्न पाउनुपर्ने भन्दै विवाद गरेकोप्रति रुपन्देही उद्योग संघले आपत्ति जनाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष समुन्द्र जिसी मंगलबार बुटवल–११ ओलीपथस्थित बुटवल रारा मसला उद्योगमा अनधिकृत रूपमा प्रवेश गरी सञ्चारकर्मी बोलाएर एकपक्षीय समाचार सम्प्रेषण गराएको भन्दै उद्योग संघले आपत्ति जनाएको हो ।
संघका अध्यक्ष कृष्ण पराजुली र महासचिव सुमन बस्यालले विज्ञप्ति जारी गर्दै उद्योगको विषयमा लामो समयदेखि विवाद चलिरहेको र उक्त विषय स्थानीय तह, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय हुँदै अदालतसम्म पुगेको तथा हाल विचाराधीन अवस्थामा रहेको अवस्थामा नियामक निकायको स्वीकृतिविनै अनधिकृत अनुगमन गर्न खोजिएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरेको छ ।
जिसी सोमबार स्थानीयले आयोजना गरेको पत्रकार सम्मेलनमा गएर उद्योगीले अदालतमा दिएको मुद्दा फिर्ता लिनुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त उद्योगबाट स्थानीयवासीलाई प्रदूषण भएको विषयमा सुधारका लागि उद्योगलाई निर्देशन दिइएको संघको भनाइ छ ।
सोही विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले पत्रकारहरूको टोलीसहित उद्योगमा प्रवेश गरी अभिव्यक्ति दिएको विषयलाई उद्योग संघले गम्भीर रूपमा लिएको जनाएको छ ।
संघले विज्ञप्तिमार्फत कुनै पनि उद्योगले कानुन र विधि विपरीत काम गर्न नपाउने स्पष्ट गर्दै स्थानीयको अधिकारसमेत बेवास्ता नगर्ने जनाएको छ ।
तर, नियामक निकायले दिएको निर्देशन पालना गरिरहेका उद्योगलाई टोल समिति वा अन्य समूहको दबाबमा हतोत्साहित बनाउने र बन्द गराउने गतिविधि स्वीकार्य नहुने संघको भनाइ छ ।
संघले बुटवल रारा मसला उद्योग तीन दशकअघि स्थापना भएर सञ्चालनमा आएको उद्योग भएको उल्लेख गर्दै उद्योग स्थापना हुँदा आसपासमा घरहरू नरहेको र उद्योग सञ्चालनमा आएको लामो समयपछि मात्र त्यस क्षेत्रमा बस्ती विस्तार भएको तथ्यसमेत स्मरण गराएको छ ।
‘करोडौं रुपैयाँ लगानी गरेर सञ्चालनमा आएको स्वदेशी उद्योगलाई एकाएक विस्थापित वा बन्द गराउँदा त्यसबाट कसैलाई फाइदा नहुने’ तर्फ ध्यानाकर्षण गराउँदै संघले विवाद समाधानका लागि संवाद र नियामक निकायको निर्देशनअनुसार अघि बढ्न आग्रह गरेको छ ।
संघले अदालतमा विचाराधीन विषयमा असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न उपभोक्ता हितको नाममा तथा टोलवासीलाई समेत आग्रह गरेको छ। अदालतको प्रक्रियालाई प्रभावित पार्ने किसिमका गतिविधि नगर्न र विवादलाई कानुनी प्रक्रियाबाटै समाधान गर्न संघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
उद्योगमाथि कुनै गुनासो वा समस्या भए सम्बन्धित नियामक निकायमा उजुरी गर्ने, अनुगमन गराउने र कानुनी प्रक्रियाबाट समाधान खोज्ने बाटो खुला रहेको संघको भनाइ छ ।
करोडौं लगानी भएको उद्योगलाई तत्काल बन्द गराउने दबाब सिर्जना गर्दा त्यसले रोजगारी, लगानी र उद्योग सञ्चालनमा प्रतिकूल असर पार्न सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका पूर्व अध्यक्ष जिसीले उपभोक्ता हित संरक्षण मञ्चका नाममा यसअघि गरेका अनधिकृत गतिविधिको पनि चर्को आलोचना हुने गरेको थियो । उनी सम्बन्धित सरकारी निकायका अधिकारीलाई पछि पार्दै उद्योग वा होटेलका वस्तुहरुको गुणस्तरको बारे मिडियासंग आफूखुशी व्याख्या गरेर विवादमा तानिंदै आएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले उपभोक्ता हित संरक्षण मञ्च वा अरु कुनै गैरसरकारी संस्था सम्बन्धित नियामक सरकारी निकायको उपस्थिति विना अनुगमनमा जान र अनुगमन गर्न नपाइने बताए । कुनै वस्तु वा सेवाबारे प्रमाण सहितको गल्ती त्रुटि भेटिएको भए सरकारी निकायलाई जानकारी गराउन मात्र मिल्ने प्रमुख जिल्ला अधिकारी अर्यालले स्पष्ट पारे ।
उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय उपाध्यक्ष तेज कुमार पाठकले उद्योगमा अनुगमनका नाममा जबरजस्ती प्रवेश गर्न खोज्नु गलत भएको बताए ।
‘यो काम उपभोक्ता हित संरक्षण मन्चको अधिकार क्षेत्र भित्र पर्दैन हामी स्थानीय अनुगमन समितीको सदस्यको रुपमा बोलाउँदा अनुगमनमा जाने हो तर त्यहाँ अनुगमन गर्न आफूखुसी गएको देखिन्छ अनुगमनको सरकारी संयन्त्र छ त्यो बाहेक हामीलाई उद्योगमा पस्ने अधिकार होइन’, उनले भने ।
प्रतिक्रिया 4