१३ असोज, काठमाडौं । रुपन्देहीस्थित साई कृपा चिया उद्योग प्रालिले उत्पादन गरेको ‘साई कृपा गोल्ड चिया’ मा कृत्रिम रङ (रसायन) भेटिएपछि सरकारले उद्योगका अन्य उत्पादन बिक्री वितरणमा समेत रोक लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन क्रममा साई कृपाको चियामा अखाद्य कृत्रिम रङ मिसावट भएको प्रमाणित भएपछि उद्योगमाथि थप अनुसन्धान अघि बढाउँदै सबै उत्पादन रोक्का राखेको हो ।
विभागले ८ असोजमा साई कृपा गोल्ड चिया (१ हजार ग्राम) को ब्याच नम्बर ‘८३ डी ०५’ को नमुना प्रयोगशालामा परीक्षण गरेको थियो ।
परीक्षण क्रममा चियामा कृत्रिम वाह्य रङ मिसाएर दूषित बनाएको पाइएपछि विभागले उक्त चिया बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको थियो ।
सोही घटनालाई लिएर विभागले फेरि सूचना जारी गर्दै यस विषयमा थप कडा कदम चालिएको बताएको छ ।
‘कृत्रिम वाह्य रङ मिसावट गरेको पाइएकाले उक्त उद्योगको अन्य उत्पादन पनि रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको छ,’ सूचनामा उल्लेख छ ।
यसै घटनालाई आधार मान्दै सरकारले देशभरिका सम्पूर्ण चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री वितरकलाई चियामा यस्ता खालका कृत्रिम वाह्य रङ तथा अन्य कुनै पनि मिसावट नगर्न/नगराउन सचेत गराएको छ ।
आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने यस्ता अखाद्य वस्तु मिसावट गरेको पाइए ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ को व्यवस्था बमोजिम हदैसम्मको कडा कारबाही हुने चेतावनी विभागले दिएको छ ।


प्रतिक्रिया 4