१४ असोज, काठमाडौं । अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थापनलाई थप कडा बनाउँदै अस्थायी भिसासम्बन्धी नयाँ नियमहरू घोषणा गरेको छ। सरकारले चालु आर्थिक वर्षमा नेट ओभरसिज माइग्रेसन (एनओएम) लाई २ लाख ४५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ।
नयाँ व्यवस्थाअनुसार, अस्ट्रेलियामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीले अर्को विद्यार्थी भिसाका लागि आवेदन दिँदा आफ्नो हालको अध्ययनभन्दा तल्लो तहको कोर्स (पाठ्यक्रम) मा परिवर्तन गर्न थप प्रतिबन्धको सामना गर्नुपर्नेछ।
विद्यार्थी भिसालाई अस्ट्रेलियामा लामो समय बस्नका लागि मात्र कोर्स परिवर्तन गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था ल्याइएको सरकारले जनाएको छ।
यस्तै, वर्किङ होलिडे भिसा कार्यक्रमअन्तर्गत दोस्रो र तेस्रो वर्षको भिसाका लागि नयाँ चिठ्ठा प्रणाली (ब्यालोट) लागू गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार दोस्रो वर्षको वर्किङ होलिडे भिसाका लागि वार्षिक ४५ हजार र तेस्रो वर्षका लागि ५ हजार कोटा छुट्याइनेछ। योग्य आवेदकहरूमध्येबाट ब्यालोटमार्फत छनोट गरिने व्यवस्था हुनेछ।
यसका लागि आवेदकले हालको नियमअनुसार तोकिएको क्षेत्रमा आवश्यक अवधि काम गरेको हुनुपर्नेछ। दोस्रो वर्षको भिसाका लागि सामान्यतया ८८ दिनको निर्दिष्ट काम पूरा गर्नुपर्ने व्यवस्था भने कायम नै रहनेछ।
सरकारले भिजिटर भिसा प्रयोग गरेर अस्ट्रेलिया आएपछि अर्को प्रकारको भिसामा जाने प्रक्रियालाई पनि नियन्त्रण गर्ने जनाएको छ। यसका लागि केही भिजिटर भिसामा थप बसाइ लम्ब्याउन नपाइने सर्त लागू गरिनेछ।
सरकारका अनुसार यी परिवर्तनहरूको मुख्य उद्देश्य अस्थायी भिसा प्रणालीलाई व्यवस्थित गर्नु, भिसा दुरुपयोग घटाउनु र अस्ट्रेलियाको आप्रवासन स्तरलाई निर्धारित लक्ष्यअनुसार व्यवस्थापन गर्नु रहेको अस्ट्रेलिया सरकारले स्पष्ट पारेको छ।
यी नियमहरू सबै भिसावाहकमा एकैपटक लागू हुने छैनन्। कुन भिसा, राष्ट्रियता र परिस्थितिमा नयाँ व्यवस्था लागू हुन्छ भन्ने कुरा सम्बन्धित सरकारी नियमअनुसार फरक पर्ने बताइएको छ ।
प्रतिक्रिया 4