१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत काभ्रे–२ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरूले निर्वाचन प्रक्रियामार्फत प्रतिनिधिहरू चयन गर्नुपर्ने माग गरेका छन् ।
निर्वाचन समितिले उम्मेदवारहरू मनोनयन भइसक्दा पनि सहमतिका नाममा अन्तिम नामावली प्रकाशित नगरेको भन्दै झण्डै एक दर्जन आकांक्षीहरूले निर्वाचन प्रक्रिया अघि बढाइदिन केन्द्रीय निर्वाचन समितिसँग माग गरेका हुन् ।
काभ्रे–२ का २३ जना महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै बुधबार केन्द्रीय निर्वाचन समितिसमक्ष निवेदन दिएका छन् । उनीहरूको निवेदनलाई समितिले ३७९ नम्बरमा दर्ता गरेको छ ।
निवेदन दर्ता प्रक्रियामा संलग्न खुला तर्फका महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रकाश थापाले केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाललाई निवेदन दिएको जानकारी दिएका छन् ।
निर्वाचन समितिले उम्मेदवारहरूसँग सम्पर्क नगरी निर्वाचन प्रक्रिया सम्पन्न भएको भ्रामक सूचना जारी गरेकाले आफूहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन दिएको उनले बताए ।
काभ्रे–२ मा देखिएको विवादबारे अनलाइनखबरको जिज्ञासामा निर्वाचन समिति संयोजक संयोजक पुरूषोत्तम तिमल्सिनाले पितृकार्यमा व्यस्त भएकोभन्दै प्रतिक्रिया दिन मानेनन् । काभ्रे–२ मा क्षेत्रीय कार्यसमिति भने सर्वसम्मत चयन भइसकेको छ ।

प्रतिक्रिया 4