+
+
Shares

इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे दुई घण्टा छलफल

छलफलमा १७ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकोले नबोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १४:४८

१४ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूसँग दुई घण्टा छलफल गरेका छन् ।

बुधबार दिउँसो उनीहरूसँग प्रधानमन्त्री शाहले संसद्‌मा उठेका विषय र त्यसको समीक्षासमेत गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा १७ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए ।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकोले नबोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा सुरुमा सांसदहरूले बाढी पहिरोपछिको बस्तुस्थितिबारे कुरा राखे ।

त्यसपछि प्रधानमन्त्री शाहले सम्बोधन गरे ।

त्यसक्रममा कस्तो सांसदले कस्तो विषय उठाउँछन् भनेर पनि प्रधानमन्त्ती शाहले व्याख्या गरे ।

प्रधानमन्त्री शाहले अभिव्यक्तिका दृष्टिमा सांसदहरूलाई तीन स्वरुपमा वर्गीकरण गरे ।

पहिलो : एभरेज

दोस्रो : एभरेज भन्दा तल

तेस्रो : एक्स्ट्रा  अर्डिनरी

इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहले एक्स्ट्रा अर्डिनरी सांसदको रुपमा प्रस्तुत गरे ।

‘इन्जिरिनयर भनेको एक्स्ट्रा अर्डिएनरी हो । एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन् । त्यो भन्दा तलकोले मलाई यो गर त्यो गर भन्छन् । एक्स्ट्रा अर्डिनरी भएकोले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । यो गरे देश बन्छ । तपाईंहरुको आइडियाले देश बन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले अनलाइनखबरसँग भने ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले ‘औधोगिकीकरणमा के गर्ने भनेर आइडियाहरू दिन’ इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई भनेका छन् ।

उनले संसद्‌मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री र प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयसमेतले सुनिरहेको बताए।

साथै, उनले कुनै आइडिया हुँदा सीधै प्रधानमन्त्री कार्यालयसँग समेत सम्पर्क गर्न सकिने र आइडिया लिएर आउनेसँग सहजै भेट हुने आश्वासन पनि सांसदहरूलाई दिएका छन् ।

प्रधानमन्त्री शाहले विधेयकहरू आउँदै गरेको पनि स्मरण गराए ।

प्रधानमन्त्री शाहले भनेका छन्, ‘अब सांसदहरूको नै विधेयकमा इनपुट रहन्छ । देखेको र भोगेको आधारमा कानुन लिएर आउँछौं । यसमा तपाईंहरुको साथ र सहयोग चाहिन्छ ।’

रास्वपाका सांसद डा. राम लामाले प्रधानमन्त्रीसँग भेट भएको पुष्टि गरे ।

उनले इन्जिनियिरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री शाहले छलफल गरेको र अनुभवका साथै आइडियाहरू लिएको बताए ।

‘देश विकास हुनको लागि नेपालको विद्यमान कानुनमा सुधार आवश्यक छ’ प्रधानमन्त्री शाहसमक्ष राखेको आफ्नो अभिव्यक्ति सुनाउँदै डा.लामाले भने, ‘वनसँग सम्बसन्धित ऐन छ । ठूला विकास आयोजनाको काम गर्नका लागि पनि कानुन सहयोगी हुनुपर्छ । विद्युत खपत हुने गरी योजना र कार्यक्रम ल्याउनुपर्छ ।’

जवाफमा प्रधानमन्त्री शाहले यसमा सरकार सचेत रहेको र यसअनुसार नै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले दिएको जवाफ सुनाउँदै डा. लामाले भने, ‘विद्युत बेच्ने कुरा त छँदैछ । बेच्नेभन्दा विद्युत खपत बढाउनेमा सरकारको ध्यान छ । यसअनुसार नीति बनेका छन्, बन्दैछन् ।’

साथै, प्रधानमन्त्री शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा समेत सरकार अगाडि बढिरहेको जानकारी सांसदहरूलाई दिएका छन् ।

‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रपोजल (प्रस्ताव) आह्वान गर्नेछ’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सांसद लामाले भने, ‘रासायनिक मल काराखाना खोल्ने लगायत विद्युत खपत बढाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?